काठमाडौं । भक्तपुरको मध्यभागमा रहेको सात रोपनी जमिनमा कृषि कर्म गरी आफ्नो समुदायलाई नै समुन्नत पार्ने सपनालाई साकार पार्न लागिपरेकी एक दृढ युवा महिला हुन चन्द्रलक्ष्मी देशेमरु । उमेरले ३८ बर्षकी देशेमरुले जय चङ्गु मसरुम फार्मको नाममा सञ्चालनमा ल्याएको च्याउ खेती महिला उद्यमशीलताको प्रेरणादायी कथा हो ।
विगत सात वर्षदेखि कृषि व्यवसाय गर्दै आएकी उनले विश्वब्यापी रुपमा फैलिएको कोरोना महामारीको चपेटा परेर ठूलो नोक्सानी व्यहोर्नुपर्यो । माहामारीमा करिब २० लाख रुपियाँ बरावरको नोक्सान भएपछि देशेमरुलाई ठूलै धक्का लाग्यो । व्यवसायको बिग्रदो गतिले एकपटक त उनलाई आफ्ना सबै सपनाहरू त्यागी विदेश पलायन पो हुने कि ? भन्ने सोच पनि आयो ।
विदेश जाने सोच बनाएर बसेकी चन्द्रलक्ष्मीलाई कसैले सुनाइदियो– बैंकले सहुलियत ब्याजदरमा कर्जा दिन्छ । यो थाहा पाएर फेरि एक पटक च्याउ खेती नै गर्नुपर्छ भनेर देशेमरुले आफ्नो पलायन हुने सोच परिवर्तन गरिन् । बैकबाट कर्जा लिने र पुनः एकपटक च्याउ खेतीमा होमिने निर्णयमा उनी पुगिन ।
देशेमरुले विभिन्न बैकमा कर्जाबारे बुझ्दै गईन । अन्ततः लक्ष्मी सन्राइज बैकबाट व्यवसायिक कृषि तथा पशुपंक्षी कर्जाअन्तर्गत केही दिनमा नै उनले ४० लाख रुपियाँ कर्जा लिएर पूरानो व्यवसायलाई अगाडि बढाइन् ।
समयसँगै देशेमरुको मेहेनत र लगनशीलताले उनको व्यवसायमा सकारात्मक परिवर्तन देखिँदै आयो । देशेमरुको सफलता उनका लागि मात्र नभई भक्तपुरको कृषि कर्ममा लागेका अन्य महिलाहरूको लागि समेत प्रेरणा बन्दै गयो । फलतः लक्ष्मी सनराइज बैंकले प्रवाह गरेको कृषि तथा पशुपंक्षी कर्जाबाट अघि बढेको च्याउ खेतीले उनको जीवनमा सकारात्मक परिवर्तन आउन थालेको छ ।
देशेमरुले आफ्नो लगनशीलता मात्रै नभएर परिवारको सहयोगका कारण पनि अहिले व्यवसाय राम्रो हुँदै गएको बताउँछिन् । उनी भन्छिन्, ‘व्यवसाय राम्रै चलिरहेको छ । बैंकको सहयोगले नै आज यो स्थानमा छौँ । व्यवसायको आम्दानीबाट बैंकलाई तिर्नुपर्ने सावाँ ब्याज समयमा तिर्दै आईरहेकाछौ ।’
विदेश गएर पनि अर्काको देशमा दुःख नै गर्नुपर्ने हो भन्दै देशेमरुले स्वदेशमै आफूले पहिलेदेखि जानेको काम गर्न सहज हुने बताउँछिन् । बैंकले सहजै कर्जा उपलब्ध गराइदिएकाले पनि आफूले विदेश जाने योजना रद्द गरेर च्याउ खेती पुनः सुचारु गरेको देशेमरुको भनाई छ ।
‘अहिले आएर हेर्दा त्यसबेलाको निर्णय ठिकै रहेछ जस्तो लाग्छ’ उत्साहित हुँदै उनी भन्छिन्, ‘व्यवसायमा कहिले नाफा कहिले घाटा त भई नै हाल्छ । कोरोना महामारीले गर्दा जे जे भए पनि पछि बैंकले सहजै कर्जा पनि दियो । स्थित पनि सहज भयो । अहिले राम्रै भइरहेको छ ।’
पछिल्लो समय देशेमरु जस्ता धेरै युवाहरु आफ्नो देशमा अवसर नदेखेर विदेश पलायन हुने क्रम तीब्र भईरहेको छ । विदेश पलायन हुन खोज्ने युवा जनशक्तिलाई स्वदेशमा नै अवसर जुटाउन सरकार निजी क्षेत्र, घरपरिवार र समाजको पनि दायित्व हो । यस्तै, कृषि कर्ममा लाग्न चाहनेहरुका लागि कर्जामा प्राथमिकता तथा ब्याजदरमा सहुलियतको प्रावधानले आंशिकरुपमा भए पनि युवाहरुलाई आकर्षित गर्न थालेको देखिन्छ । त्यसको प्रतिनिधि उदाहरण बनेकी छन् देशेमरु ।
सुरुमा ६ आना जग्गा धितो राखी कर्जा लिएर व्यवसाय सञ्चालन गरेकी उने पछि पुनः १५ लाख रुपियाँ थप कर्जा लिई व्यवसाय विस्तार गरिन् । देशेमरुको पहिले र अहिलेको गरी करिब सात रोपनी जग्गामा च्याउ फार्म सञ्चालनमा रहेको छ । अहिले उनी र उनका श्रीमान्सहित फार्ममा आठ जनाले प्रत्यक्ष रोजगारी पाइराखेका छन् ।
वार्षिक करिब एक करोडसम्मको च्याउ बिक्री गर्ने गरेको उक्त फार्ममा आफ्ना श्रीमानको ठूलो मेहनत र सहयोग रहेको चन्द्रलक्ष्मी देशेमरुले सुनाइन् । कुराकानीकै दौरानमा उनले च्याउ खेतीको बारेमा पनि सामान्य जानकारी दिँदै भनिन, ‘च्याउ उमार्नका लागि सुरुमा पराल उसिनेर पकाउनु पर्दछ । त्यसपछि च्याउको बीउ छर्दै छ वटा लेयर बनाई पोका बनाउनु पर्दछ ।’
उनको जग्गामा हाल करिब सात हजार वटा च्याउको पोका बनाइएको छ । एक पोकामा २ देखि ३ केजीसम्म च्याउ उत्पादन हुने देशेमरुले बताइन् । उनले भनिन्, ‘एक केजी च्याउ उमार्नको लागि ७५ देखि १०० रुपियाँसम्म लागत लाग्ने गर्दछ । सुरुमा पोका बनाउँदा अरुलाई ठेक्का दिने गरेका छौँ । एक पटक च्याउ उत्पादन भई बजारसम्म लगी बिक्री गर्न तीन महिना जति समय लाग्छ । बिक्रीको समयमा दुई महिना जति राति राति २–३ घण्टाको दरले खट्नुपर्ने हुन्छ ।’
उनका अनुसार एक केजी च्याउको बजार मूल्य दुई सय रुपियाँसम्म पर्छ । किसानको हातमा १६० रुपियाँसम्म बस्छ । सामान्यतया एउटा लटको उत्पादन करिब दुई महिनाभित्र बिक्री गरिसक्नुपर्ने हुन्छ । एकपटकको चक्र समाप्त भएपछि कम्तीमा एक महिना जति फार्म खाली छोड्नुपर्ने र जति धेरै समय खाली छोड्यो, त्यति राम्रो हुने देशेमरुले बताइन् ।
उनले थपिन्, ‘बजारमा च्याउको माग अत्यधिक छ तर किसानले अपेक्षा गरे जति बजारभाउ पाउन सक्ने अवस्था छैन, व्यवसायीहरुले जतिमा बेच्छन् त्यही अनुपातमा मूल्य लिने गरेका छौँ । जस्तो, आज हामीले व्यवसायीलाई जोखेर च्याउ छोडेर आउँछौँ, भोलिपल्ट व्यवसायीले जतिमा बेच्यो त्यसको निश्चित प्रतिशत कटाएर हामीले पैसा पाउने गरेका छौँ । अहिले व्यवसायीहरुले प्रति केजी रु. ४० मार्जिन लिने गरेका छन्, चाहे च्याउको बजार मूल्य १०० होस् या २०० नै किन नहोस् ।’
चन्द्रलक्ष्मी देशेमरुका अनुसार च्याउ खेतीमा बेलाबखत विषादीहरु छर्नुपर्ने हुन्छ । पछि बिक्री गर्ने समयमा पखालेर बजारमा लैजानुपर्ने हुन्छ । उनले भनिन्, ‘च्याउ बेच्नुपर्ने समयमा बिहान १ बजेदेखि नै सबै कामदार मिलेर च्याउको प्याकेजिङ गरेर कालीमाटी तरकारी बजारसम्म पु¥याउनुपर्ने हुन्छ । मिहिनेत त लागिहाल्छ नि । मेहनेत नगरी, पसिना नबगाई कसरी पैसा कमाउन सकिन्छ र ? आखिर विदेश जानेहरुको काम पनि त कहाँ सजिलो हुन्छ हैन ।’
उनले पहिले ४० लाख र पछि १५ लाख गरी कुल ५५ लाख कर्जा लिएकी छन् । अझै व्यवसाय बढाउने योजना बनाइरहेकी देशेमरुले त्यसका लागि सहुलियत ब्याजदरमा बैंकले थप कर्जा उपलब्ध गराइदिए र बेलाबेला ब्याजदर नबढिदिए हुन्थ्यो भन्छिन् । उनले वार्षिक खर्च कटाएर करिब १८ लाख आम्दानी हुने गरेको सुनाइन् ।
देशेमरु भन्छिन्, ‘अझै जग्गा भाडामा लिएर व्यवसाय विस्तार गर्ने योजनामा छौँ । च्याउखेतीको लागि जति ओसिलो ठाउँ भयो त्यति राम्रो हुन्छ । धेरै उत्पादनको सम्भावना रहन्छ ।’ च्याउको बिउबिजन उपलब्ध गराउने कम्पनीहरुले बेलाबखत तालिमको व्यवस्था गरेका हुन्छन् । भक्तपुरमा मात्रै करिब करिब ४०–५० वटा च्याउ फार्म रहेकाछन । सहज रुपमा जो कोही उद्यम गर्न चाहनेले च्याउ खेती गर्न सक्ने उनको अनुभव छ । देशेमरुका १० जना साथीहरुले पनि यस्तै व्यवसाय गरिराखेका छन् ।
यता देशेमरुको सफलताको कुराले लक्ष्मी सनराइज बैंक पनि खुशी देखिन्छ । बैंकका एक अधिकृतले यस्तो कर्जाको सफलताका कथा आफूहरुकोमा धेरै रहेको बताए । उनले भने, ‘ देशेमरुको कथाले एक समुदायलाई मात्र होइन, अरुलाई पनि उत्प्रेरित गर्दछ । हामीले यस्तो उत्पादनमूलक र सहुलियत कर्जा प्रवाहलाई नै जोड दिएका छौं ।’