‘संसदीय व्यवस्था र संघीयताको औचित्य छैन्, नेता कार्यकर्ता व्यवस्थापन गर्न संघीयता ल्याइयो’

Advertisement

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले अहिलेको संसदीय व्यवस्था संकटग्रस्त र असफल साबित भइसकेको दाबी गरेका छन् । 

कपिलवस्तुमा शुक्रबार आयोजित कार्यक्रममा उनले संघीयताको औचित्य नरहेको पनि बताए । संसदीय व्यवस्था आधारभूत रुपले जनताको निम्ति हितकर नभएको बताउँदै विप्लवले भने, ‘देशलाई वास्तविक रुपान्तरणतिर लैजानुपर्ने बेला भएको छ । यो संसदीय व्यवस्था आधारभूत रुपले जनताको निम्ति हितकर छैन । संकटग्रस्त र असफल साबित भयो ।’ 

Advertisement

संसदीय व्यवस्थाको विकल्पमा जनताले चाहेको परिवर्तनको पक्षमा नयाँ बहस गर्नुपर्ने बेला आएको बताउँदै उनले यही गत मंसिर ४ गतेको निर्वाचनले पनि त्यसको संकेत गरेको बताए । 

विप्लवले नेपालका संसदवादी दलहरु जनचाहनाअनुरुप काम गर्ने चाहना नराखिरहेको स्पष्ट भएको पनि बताए । उनले थपे, ‘यो निर्वाचनले के प्रमाणित गरेको छ भने नेपाली जनतामा ठूलो उकुसमुकुस उथलपुथल छ । जनताले एउटा रुपान्तरण, परिवर्तन, स्वाधिनता, शान्ति, समृद्धि चाहेका छन् । तर नेपालका संसदवादी दलहरु त्यसको नेतृत्व गर्न सक्षम देखिँदैनन् भन्ने सन्देश जनताले दिएका छन् ।’

साथै, उनले संघीयता जनताका लागि नभई नेता व्यवस्थापनको मात्र भएकाले मुलुकमा संघीयताको औचित्य नभएको बताए । प्रदेश र संघको निर्वाचनमा आएको मतपरिणामले दलहरुको औचित्य नभएको प्रस्ट पारेको बताउँदै विप्लवले राज्य आर्थिक संकटको भुमरीमा फसेकोले विशेष आर्थिक नीति नल्याए नेपाल श्रीलंकाभन्दा थप संकटमा पर्ने उल्लेख गरे ।  

आफूहरूले थालेको क्रान्ती मान्छे मार्ने नभई वैज्ञानिक समाजवाद ल्याएर आर्थिक क्रान्ती गर्ने भएको बताए । 

Advertisement

Advertisement