निकै कठिन र जोखिमपूर्ण मनास्लु हिउँदामा आरोहण गर्न सफल छ जना शेर्पा भाई के भन्छन् ?

Advertisement

काठमाडौं । निकै जटिल र जोखिमपूर्ण मानिने विश्वको आठौं अग्लो हिमाल मनास्लु (८,१६३ मिटर) विन्टर एक्सपडिशन् (हिउँद मौसमको आरोहण) एक विदेशी र छ जना शेर्पा आरोहीहरुले सफलतापूर्वक आरोहण गरे । 

आरोहण टोलीमा प्रख्यात स्पेनिस पर्वतारोही एलेक्स टक्सिकोन थिए भने नेपालका छेपाल शेर्पा, तेन्जेन शेर्पा (लामा), पासाङ नुर्बु शेर्पा, मिङ्तेम्बा शेर्पा, पेम्बा टासी शेर्पा र ग्यालु शेर्पा थिए । उनीहरुले यही गएको पुस २२ गते (जनवरी ६ तारिख)का दिन बिहान मनास्लुको चुचुरोमा पुग्न सफल भएका थिए । 

Advertisement

तेस्रो विन्टर एक्सपडिशनको उनीहरुको प्रयास सफल भएको हो । ओखलढुंगाको मोलुङ– ७ तालकोटका माउन्टेन गाइड छेपाल शेर्पाले आफ्नो विन्टर एक्सपडिशनको अनुभव सुनाउँदै भने, ‘यो सिजनमा समेत पहिलो रियल समिट गर्न सफल हुनु ऐतिहासिक हो । हामीहरुले १० दिनको कठिन प्रयासपछि मनास्लुको चुचुरोमा पुग्न सफल भयौं ।’ 

विगत १३ बषैदेखि हिमाल आरोहण क्षेत्रमा लागेका छेपाल शेर्पाले आठ हजार मिटरभन्दा अग्ला सात वटा हिमाल आरोहण गरिसकेका छन् । उनले सन् २०१६ देखि एलेक्ससँग आफूले विन्टर एक्स्पेडिशन् गर्दै आएको सुनाउँदै थपे, ‘हामीसँग असफल प्रयासका धेरै अनुभव थियो । यस पटक भने मनास्लुमा सफल भयौं ।’ छेपाल शेर्पाले विन्टर सिजनमा केटु हिमाल एक पटक, सगरमाथा दुई पटक र मनास्लु दुई पटक आरोहणको प्रयास गरेको उनले बताए । 

तेस्रो पटकको प्रयासमा मनास्लु चढ्न सफल भएकोमा खुशी व्यक्त गर्दै छेपाल शेर्पाले अमा दब्लम हिमाल भने विन्टर सिर्जनमा आरोहण गरिसकेको बताए । ‘३९ वर्षपछि हाम्रो टिम नै पहिलो पटक रियल समिटमा पुग्न सफल भयो । त्यो पनि विन्टर सिर्जनमा । निकै खुसी र गर्व महशुस भइरहेको छ’, उनले भने । 

मनास्लु आरोहणको प्रयासमा लागेको टिमका दुई जनालाई फ्रस्टबाइट भएको र एक जना डेथ जोन् (मृत्युको मुखबाट) फर्किएर आएको आएको छेपाल शेर्पाले जानकारी दिए । एक जना साथी माथिबाट चिप्लिएर किलिपासमा पुगेर करिब १० मिनेटपछि आफै उठेर आएपछि आफूहरुलाई धेरै खुशी लागेको सुनाउँदै उनले धेरै चुनौति र जोखिमका बीच पनि आफूहरु यस पटक मनास्लु चढेर फर्किन सफल भएको बताए । छेपाल शेर्पाले मनास्लु आरोहणमा आफ्नो पाँचौं प्रयास सफल भएको बताए । 

त्यस्तै, ३२ वर्षीय माउन्टेन गाइड तेन्जेन शेर्पा (लामा)ले मनास्लुको यस विन्टर एक्सपेडिशनमा निकै जाडो अनुभव गरेको बताए । उनले शरद ऋतुमा जस्तो हिउँदमा हिमाल आरोहण त्यसै पनि बढी कठिन र जोखिमपूर्ण हुने भए पनि आफूहरुको तेस्रो प्रयास सफल भएको बताउँदै आरोहणका क्रममा भएको कठिनाई व्यक्त गर्न नसक्ने बताए । 

मकालु गाउँपालिकाका वासिन्दा तेन्जेन शेर्पा विगत छ वर्षदेखि हिमाल आरोहणमा संलग्न छन् । उनले धौलागिरी हिमालबाट आफ्नो हिमाल आरोहण सुरु गरेका थिए । अहिलेसम्म तेन्जेन शेर्पाले सगरमाथा चार पटक, ल्होत्से चार पटक, धौलागिरी तीन पटक, मकालु दुई पटक, नङ्गा पर्वत एक पटक, मनास्लु दुई पटक आरोहण गरिसकेका छन् । 

त्यस्तै, सा–साना पिकहरु आइलेड, लोबुचे, मेरा लगायतका पिकहरु उनले चढिसकेका छन् । तेन्जेनले भने, ‘हामीले १० दिनमा मनास्लुको सफल आरोहण गर्यौं, त्यो पनि रियल समिट । तेस्रो पटकको प्रयासमा आरोहण सफल भयो । क्याम्प–१ देखि क्याम्प–३ सम्म अलि अफ्ठ्यारो नै भएको थियो ।’

अहिले मनास्लु आरोहण गर्ने अर्का माउन्टेन गाइड मिङ्तेम्बा शेर्पा संखुवासभा मकालु गाउँपालिका कै हुन् । उनले सन् २०१५ देखि हिमाल आरोहण सुरु गरेका हुन् । मिङ्तेम्बाले सगरमाथा पाँच पटक, अन्नपूर्ण एक पटक, कञ्चनजंगा एक पटक, मनास्लु पाँच पटक, केटु दुई पटक, ब्रड् पिक एक पटक आरोहण गरिसकेका छन् । उनले गएको शरद ऋतुमा पनि मनास्लु आरोहण गरेका थिए । 

उनले शरद ऋतु र हिउँदमा हिमाल आरोहण गर्नु धेरै फरक रहेको बताँदै भने, ‘शरद ऋतुमा आरोहण गर्दा तापक्रम माइनस थिएन् । त्यति चिसो थिएन् । तर अहिले आरोहण गर्दा माइनस ३५–४० डिग्रीको हाराहारीमा चिसो थियो । मनास्लु चढ्ने क्रममा हामीलाई ‘फ्रस्टबाइट’ हुन्छ होला भनेर धेरै डर थियो । सबैलाई त्यस्तो भएन् ।’ 

मिङ्तेम्बाले आफूलाई पहिला मनास्लु आरोहण सफल हुन्छ होला भन्ने नलागे पनि सफल भएको बताउँदै भने, ‘हिमपात होला भन्ने लागेको थियो । त्यस्तो भएन् । सफल भयौं । खुसी लागेको छ ।’ उनले पहिलो पटक हिउँदमा मनास्लु चढ्नसक्नु ठूलो सफलता भएको बताए । 

मकालु गाउँपालिका पेम्बा टासी शेर्पाले सन् २०१९ देखि हिमाल आरोहण सुरु गरेका हुन् । पहिलो पटक, त्यो पनि हिउँद ऋतुमा मनास्लु चढ्न सफल भएका उनी २३ वर्षका मात्रै भए । सन् २०२१ मा सगरमाथा आरोहण गरेका पेम्बाले अहिलेकै टिमसँग गत बर्ष पनि हिउँदमा मनास्लु चढ्ने प्रयास गर्दा सफल नभएको सुनाए । 

उनले भने, ‘गत बर्ष सफल नभए पनि यस पटक भने सफल हुन्छ कि ? भन्ने लागेको थियो । सफल भयो । आरोहण गर्न जाँदा बाटोमा हिउँले हातखुट्टा खाने हो कि ? बीचबाट फर्किनुपर्ने हो कि ? भन्ने चिन्ता मनमा लागिरहेको थियो । त्यस्तो खासै केही भएन् । 

पातले– ६ तालकोटका माउन्टेन गाइड ग्यालु शेर्पाले सन् २०१९ देखि हिमाल आरोहण सुरु गरेका हुन् । अहिलेसम्म उनले आठ हजार मिटर अग्ला तीन वटा हिमालको सफल आरोहण गरिसकेका छन् । ग्यालुले गएको शरद ऋतुमा मनास्लु दुई पटक आरोहण गरिसकेका छन् । 

उनले भने, ‘विन्टर सिर्जनमा मनास्लुको सफल आरोहण हुन्छ जस्तो लागेको थिएन् । हावा धेरै चलिरहेको थियो । सन् २०२१ को विन्टर सिजनमा आरोहणको प्रयास गर्दा भारी हिउँ परेर सफल हुन् सकेन् । सन् २०२२ मा पनि असफल भयो । यस पटक भने सफल भयौं ।’

यस पटक हिउँ धेरै नभएकोले आरोहण सफल भएको ग्लालुको भनाई छ । तर दुःख भने निकै भएको उनले बताए । ग्यालुले भने, ‘करिब छ हजार सात सय मिटरबाट एक जना शेर्पा गाइडको अक्सिजन रेगुलेटरमा समस्या आएपछि उसको अक्सिजन भएन् । मेरो अक्सिजन हामी दुई जनाले पालो पालो प्रयोग गर्यौं ।’ अहिलेको सफल आरोहणले मौसमले साथ दियो भने हिउँदमा पनि मनास्लु चढ्न सकिन्छ भन्ने महशुस भएको उनले बताए ।  

मकालु गाउँपालिका पासाङ नुर्बु शेर्पाले सन् २०१४ देखि हिमाल आरोहण सुरु गरेका हुन् । उनले पहिलो पटक मनास्लुबाट आफ्नो हिमाल आरोहणको प्रयास सुरु गरेका हुन् । सगरमाथ चार पटक, मनास्लु आठ पटक, ल्होत्चे एक पटक मकालु तीन पटक, अन्नपूर्ण एक पटक, धौलागिरी एक पटक, चो ओयु एक पटक, गाशरब्रम–२ एक पटक, ब्रोड् पिक एक पटक सफल आरोहण गरिसकेका पासाङले हिउँदमा नै अमा दब्लम हिमालको सफल आरोहण गरेका थिए । 

टिम मिलेकाले र मौसमले पनि साथ दिएकाले यस पटकको मनास्लु आरोहणको प्रयास सफल भएको उनले बताए । यसअघि १९८४ जनवरी १२ मा मार्सिएज बेर्बेका र राइजर्ड गजेव्स्कीले पहिलो पटक मनास्लु आरोहण गरेका थिए । 


 

Advertisement

Advertisement