पर्यटनमन्त्रीलाई एनआरएनहरुको गुनासो– हामीलाई विदेशीसरह बढी हवाई भाडा लिइयो

Advertisement

काठमाडौं । विदेशबाट आउने नेपालीलाई नेपालभित्र हवाई यात्रा गर्दा नेपाली नागरिक सरहको भाडा कायम गर्न गैरआवासीय नेपाली संघले आग्रह गरेको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीसँगको भेटमा शुक्रबार संघको प्रतिनिधिमण्डलले विदेशबाट आउने नेपालीलाई नेपालभित्र हवाई यात्राका क्रममा विदेशीसरह हवाई भाडा लागू गरिएको भन्दै दुखेसो पोखेको थियो । उनीहरुले तत्काल सो व्यवस्था खारेज गर्न सरकारसँग माग गरेको हो । 

Advertisement

प्रतिनिधिमण्डलले मन्त्री किराँतीलाई ज्ञापनपत्र पनि बुझायो । उनीहरुले नेपालको पर्यटन प्रवर्द्धन क्षेत्रमा गैरआवासीय नेपालीहरुको सहभागिता बढाउन आवश्यक नीति बनाई सहजीकरण गरिदिन पनि आग्रह गर्यो । विश्वका विभिन्न देशमा नेपाली कला, संस्कृतिलाई प्रवर्द्धन गर्ने किसिमका कार्यक्रम आयोजना गर्दै आएको जानकारी गराउँदै प्रतिनिधिमण्डलले आगामी दिनमा सरकारसँगको साझेदारीमा थप कार्यक्रम गर्न संघ इच्छुक रहेको बताए । 

त्रिभुवन विमानस्थलमा सञ्चालन गरिएको एनआरएन हेल्प डेस्क हाल बन्द प्रायः अवस्थामा रहेकोले त्यसलाई चुस्त दुरुस्त बनाई नियमित सञ्चालनमा ल्याउन आग्रह गर्दै उनीहरुले मध्यपूर्वका पर्यटकलाई आकर्षित गर्न सरकारले हालसम्म कुनै ठोस योजना नबनाएको गुनासो गरे । 

मन्त्री किराँतीले हवाई यात्रामा भइरहेको विभेद हटाउने, विमानस्थलका विकृति अन्त्य गर्ने र सहजरुपमा नेपालमा आउने र घुम्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाएको संघको विज्ञप्तिमा उल्लेख छ । उनले नेपाल आउँदा गैरआवासीय नेपालीले भोग्नुपरेको समस्या छिट्टै समाधान हुने बताएका थिए ।

Advertisement

Advertisement