मुस्लिम आयोगलाई सरकारले बजेटले दिएन, जनशक्ति पनि दिएनः अन्सारी

Advertisement

काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले क्षणिक फाइदाका लागि मुस्लिम समुदायलाई विचलित पार्ने काम भइरहेको गुनासो गरेका छन् । शुक्रबार मुस्लिम समुदायबाट नयाँ सांसदहरुलाई बधाई तथा शुभकामना दिने क्रममा उनले तराई, पहाड र हिमालका मुस्लिमलाई विभाजित गर्ने प्रयास भइरहेको बताए । 

अन्सारीले मुस्लिम आयोगसँग काम गर्नका लागि आवश्यक जनशक्ति र बजेट नभएको गुनासो पनि गरे । आयोगमा काम गर्ने कर्मचारी एकजना पनि मुस्लिम नहुनु दुःखद् रहेको उनको गुनासो छ । अन्सारीले मुस्लिम आयोगलाई बजेट र भत्ता सिध्याउने आयोगमा रुपमा आरोप लगाइरहेको भन्दै आयोगको उद्देश्य नीति नियम लागू गर्ने रहेको बताए । 

Advertisement

उनले भने, ‘जुन तत्वले हामी एक अर्कालाई टुक्रा पारेर, विभाजित बनाउने प्रयास गरेर हामीलाई किन चाहियो मुस्लिम क्लस्टर, हामी मधेसमा बस्नेलाई मधेसी नै ठिक छ भन्ने किसिमको आवाजहरु गाइँगुइँ सुन्छु । यो घातक कुरा हो । क्षणिक फाइदा हेरेर, क्षणिक लोभमा परेको खण्डमा पाएको उपलब्धिहरु सबै गुम्नसक्छ । यसमा सावधान हुनुपर्छ ।’ 

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आसिफ साहले आफू खान नपुगेर र नाम कमाउनका लागि राजनीतिमा नआएको बताए । उनले संसदमा आफू उपस्थित हुँदा आफ्नो समयको अवमूल्यन भएको बताए । साहले प्रतिनिधि सभाको बैठकमा नीति नियमको बारेमा छलफल हुनुपर्ने ठाउँमा एकले अर्कालाई घोचपेच गर्ने काम मात्रै भइरहेको बताए । 

उनले पार्टी सभापतिलाई आफूले १ वर्ष भित्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले पनि जनमुखी काम गर्न नसके सांसद पद छोड्ने भनिसकेको बताए । साहले भने ‘यो पार्टीले पनि एक वर्ष भित्रमा राम्रोसँग जनताका गुनासाहरु सम्बोधन गर्न सकेन भने सांसदको उपमा तपाईंको टेबलमा राखेर हिँड्छु भनेको छु । मबाट इमान्दारिताको कुरामा ढुक्क हुनुहोस् । सुशासनको कुरामा हामी लागिरहेका छौँ ।’ 

Advertisement

Advertisement