मूल्य आकासिंदै गर्दा बजारमा सुनको चरम अभाव, के भन्छन् व्यवसायी ?

Advertisement

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढेसँगै मूल्य पनि आकासिएको बेला नेपालमा पनि यसको प्रभाव देखिएको छ । नेपाली बजारमा सुनको आयात रोक्किएकाले पनि अभाव सिर्जना भएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष मणिरत्न शाक्यले विश्वव्यापीरुपमा सुनको अर्थतन्त्रमा परेको असर नेपालमा पनि परेको बताए । सोमबार सुनको बजार भाउ प्रतितोला एक लाख छ हजार तीन सय रहेको छ । यो भाउ बढ्दै गएर छ महिनाभित्र प्रतितोला एक लाख २५ हजार नाघ्नसक्ने उनको अनुमान छ । 

Advertisement

शाक्यले युरो र पाउण्डभन्दा डलर कमी भएको कारणले गर्दा विश्वका धेरै देशहरुले डलरलाई भन्दा सुनलाई प्राथमिकता धेरै दिएको र सोही कारण सुनको मूल्य आकाशिएको बताए । रुस–युक्रेन युद्धको समाप्ती नभएसम्म बजारमा सुनको मूल्य निरन्तर वृद्धि भइरहने उनको भनाई छ । 

ठूला अर्थतन्त्र भएका मुलुकका केन्द्रीय बैंकहरुले पनि सुनको संचिति बढाउँदै लगेको र व्यापारमा पनि पैसाभन्दा सुनबाट कारोबार गर्ने प्रवृत्ति बढेको हुँदा सुनको मूल्य अझै केही समय बढ्ने देखिएको बताउँदै शाक्यले भूकम्प र नाकाबन्दीको समयमा दैनिक ५५–६० किलोसम्म आयात हुने गरेको सुन अहिले घटेर दैनिक १० किलोमा सीमित भएकाले बजारमा सुनको ठूलो अभाव सिर्जना भएको बताए । 

बजारमा सुनको कोटा बढाउन नसकिए संकट सिर्जना हुने उनको तर्क छ । शाक्य भन्छन्, ‘हालको अवस्थामा ग्राहकको माग अनुसार गहना बनाउने सुन बजारमा छैन् । बैंकले गएको पुसदेखि सुनको कोटा रोक्दिएको छ । गएको पुसमा चाहिं हामीलाई सुनको स्टक छ भनेर भनियो । अहिले सिजन आउँदा स्टक सिद्धियो भनेर बैंकहरुले गैरजिम्मेवार जवाफ दिएका छन् । यसले गर्दा बजारमा सुनको अभाव बढेको हो । पछिल्लो समय बजारमा सुन किन्नेभन्दा बेच्नेको संख्या बढी भएका कारण गहना प्रशोधन गरेर बजारमा बिक्री गरिरहेका छौं ।’ 

सिजनअनुसार सुन आयात गर्नुपर्ने नेपाल राष्ट्र बैंकको कार्यविधिमा रहे पनि बैंकहरुले एकले अर्कोलाई देखाएर सुन आयात नगरी बजारमा अभाव सिर्जना गर्ने काम गरेको उनको भनाई छ । शाक्यले थपे, ‘सुन झिकाउन बैंकहरुलाई नेपाल  सुनचाँदी व्यवसायी महासंघ, सुनचाँदी रत्न तथा आभुषण महासंघले मिलेर पटक पटक ज्ञापनपत्र बुझाइसक्कियो । तर राष्ट्र बैंकले यस कुरामा ध्यान नदिँदा बजार अस्तव्यस्त भएको छ । सुन नपाएर गएको मंसिरमा तोलामा पाँच हजार रुपियाँ छुटै पैसा तिरेर व्यवसायले काम लचाउनुपरेको अवस्था थियो । सुनको मनोमानी बिक्री बितरण गर्न नपाइने, यता बिलबाट कारोबार नहुने कुराले हिसाब गडबढी हुने समस्या पनि आएको छ । सम्बन्धित् निकाय र महासंघहरुले कालो बजारीको सुनको धन्दा नियन्त्रण नगरे बजारमा अझ बिकृति बढ्ने अवस्था छ ।’

Advertisement

Advertisement