त्रिभुवन विमानस्थलमा एक महिनामा नौ हजार ३४२ ग्रामभन्दा बढी अवैध सुन बरामद

Advertisement

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले एक महिनामा एक नेपाली र तीन विदेशीबाट नौ हजार ३४२ दशमलव ९ ग्राम सुन जफत गरेको छ ।

पुस १७ देखि माघ १९ सम्म सुन तस्करीको आरोपमा पक्राउ पर्ने विदेशीहरु एक भारतीय, एक अमेरिकी र एक क्यानेडिशन रहेको अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रवक्ता यम पाण्डेले बताए । पक्राउ परेका नेपालीको बयान लिने काम भइरहेको बताए । 

Advertisement

अमेरिकन र भारतीय धरौटीमा रिहा भइसकेका छन् भने बुधबार मात्रै पक्राउ गरेका क्यानेडिशनमाथि छानविन भइरहेको जनाइएको छ । त्रिभुवन विमानस्थलबाट क्यानेडिशन मोहम्मद कमल माहगोब नौ किलो १३५ ग्राम सुनसहित पक्राउ परेका थिए । 

युनाइटेड अरब इमिरेटस् (यूएई)को दुबईबाट सुन लिएर नेपाल आएका ३५ वर्षीय माहगोब फ्लाई दुबईमार्फत काठमाडौं आउने क्रममा राति पक्राउ गरिएको हो । उनले कम्मरको पेटिमा फल्स बटन बनाइ आठ वटा बिस्कुट आकारको खैरो कलरको तथा एउटा निलो रंगको गोलो आकारमा सुन बोकेर आएका थिए । 

जफत गरेको सुन आफूले तौलिएपछि नेपाल राष्ट्र बैंकमा पठाउने र आरोपीलाई जरिवाना लिने तथा थुनामा पठाउने काम हुने बताउँदै पाण्डेले बाँकी कुरा प्रहरीले कानुनी प्रक्रियाअनुसार कारवाही अघि बढाउने बताए । 

कार्यालयका सूचना अधिकारी दिपेन्द्र चौरसियाले सुन तस्करीमा संलग्न नेपाली र विदेशी दुवैलाई एउटै कानुन लाग्ने बताउँदै जुनसुकै यात्रुले ५० ग्रामभन्दा बढी सुन ल्याए भन्सार छुट पाउने र ५१ ग्रामदेखि २५० ग्रामसम्म गहना निश्चित मापदण्डअनुसार भन्सार तिरेर ल्याउन सकिने बताउँदै त्यो भन्दा बढी ल्याउनेलाई पक्राउ गरी कारवाही हुने बताए । 

चौरसियाले थपे, ‘यात्रुले जति सुन ल्याएको हुन्छ, त्यसको मूल्यांकन गरेर सोबमोजिमको कारवाही हुन्छ ।’ यसरी अनधिकृतरुपमा ल्याइएको सुन जफत हुने र ल्याएको परिणामका आधारमा विगो जरिवाना र कैद सजाय हुने कानुनी व्यवस्था रहेको उनले बताए । 

त्रिभुवन विमानस्थलकाट दैनिक लाखौंदेखि करोडौंको सुन तस्करी हुने बताइने गरे पनि सेटिङ नमिलेका केही अवैध सुन मात्रै पक्राउ पर्ने गरेको देखिन्छ । विशेषगरी दुवईबाट नेपालमा अवैध सुन भित्रिने गर्दछ । यस्तो सुन तस्करीमा निकै ठूलो गिरोह सक्रिय रहेको र त्यसलाई राजनीतिक र प्रहरी प्रशासनको समेत संरक्षण हुने गरेको आरोप लाग्ने गरेको छ । 

कस्तो छ नियम ? 
१. पहिलो पचास ग्रामसम्म प्रति दश ग्राम नौ हजार पाँच सय रुपियाँ,
२. पचास ग्रामभन्दा बढी थप पचास ग्रामसम्म प्रति दश ग्राम दश हजार पाँच सय रुपैयाँ ।
भन्सार विभागको कानून...
विदेशबाट फर्केका यात्रुले आफ्नो साथमा ल्याएको सुनको गहनाको हकमा पचास ग्रामभन्दा बढी थप सय ग्रामसम्म ल्याउनमा त्यस्तो गहनामा प्रति दश ग्राम दश हजार पाँच सय रुपियाँका दरले भन्सार महसुल लिई जाँचपास गर्न सकिन्छ । सोभन्दा बढी परिमाणमा सुनका गहना ल्याएमा बढी ल्याएको परिमाण जफत गरिनेछ । कुनै विदेशी यात्रुले उपदफा (१) को खण्ड (झ)मा तोकिएको परिमाणभन्दा बढी सुन तथा चाँदीका गहनाहरु ल्याई भन्सार कार्यालयमा ट्रान्जिटमा डिपोजिट राख्न घोषणा गरेमा भन्सार कार्यालयले त्यस्ता गहना सुरक्षित साथ राखी सोको निस्सा सम्बन्धित यात्रुलाई दिनु पर्नेछ । त्यस्तो यात्रु नेपालबाट फिर्ता जाँदा निजले डिपोजिट राखेको गहना भन्सार कार्यालयले फिर्ता दिनु पर्नेछ । 
कुनै विदेशी यात्रुले उपदफा (१) को खण्ड (झ) तोकिएको परिमाणभन्दा बढी निजी प्रयोगका सुन तथा गहनाहरु पछि फिर्ता लैजाने गरी भन्सार बिन्दुमा घोषणा गरेमा त्यस्तो गहना परीक्षण गरी त्यस्ता गहनाको मूल्यको बीस प्रतिशत रकम धरौटी राखी ल्याउन दिइनेछ । यसरी ल्याएको गहनाा भन्सार बिन्दुमा परीक्षण गरी फिर्ता दिइने छ । त्यसरी परीक्षण गर्दा घोषणा गरे भन्दा फरक गुणस्तर तथा परिमाण भएको प्रमाणित भएमा भन्सार ऐन, २०६४ को दफा ५७ को उपदफा (१) बमोजिम कसूर गरेको मानी सजाय हुनेछ ।

Advertisement

Advertisement