भन्सारबाट सामान छुटाउन डराउन थाले व्यापारी

राजस्व थोरै उठेको झोंकमा कार्यालय प्रमुखहरुमाथि खनिन थाले डीजीहरु

Advertisement

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख अरुण पोखरेलको मोबाइलमा घण्टी बज्यो । आफूभन्दा माथिल्लो तहको फोन आएपछि उनले फोन उठाए । फोन उठाउने बित्तिकै पोखरेललाई भनियो, ‘तपाईंले भर्खरै जाँचपास गरेको समान भन्सार यार्डबाट भित्र लैजाने प्रयास नगर्नु होला । तपाईंलाई समेत अप्ठ्यारो पर्ला।’ 

फोन आएको केही समयमै डीएसपीको नेतृत्वमा सशस्त्र प्रहरीको टोलीसहित केही कर्मचारी विमानस्थल भन्सार कार्यालय पुग्यो । टोलीले आठ वटा गाडीलाई नियन्त्रण लियो । गाडीहरुमा मोबाइल पार्टस् र गार्मेन्ट थियो । 

Advertisement

यी सामानहरुमा भन्सार महसुल चुहावट हुन सक्ने भन्दै अहिले राजस्व अनुसन्धान विभागले अध्ययन गरिरहेको छ । पछिल्लो समय मोबाइलका पार्टपुर्जामा भन्सार छली भएको घटनाहरु धेरै आउने गरेको छन् ।

विभाग स्रोतका अनुसार अबको केही दिनमै अनुसन्धान प्रतिवेदन तयार हुनेछ । यसपछि कैफियत भेटिए कारबाही प्रक्रिया अघि बढ्नेछ ।

अहिले दैनिकजसो कर कार्यालय तथा भन्सार कार्यालयका प्रमुखलाई फोन गरी कडाईका साथ राजस्व असुली गर्न राजस्व अड्डाका हाकिमहरुले ताकेता गरिरहेका छन् । चालू आर्थिक वर्षको राजस्व संकलन ५० वर्ष यताकै खराब स्थितिमा छ । 

अर्थ मन्त्रालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०२४–२५ पछि पहिलो पटक राजस्व संकलन अघिल्लो वर्षको तुलनामा कम उठेको हो । राजस्व कम उठेपछि अहिले अर्थ मन्त्रालय उच्च दबाबमा छ । 

सरकारको खाता एक खर्ब ३९ अर्बले ऋणात्मक छ । आम्दानी कम र खर्च बढी हुँदा सरकारलाई खर्च धान्न समेत कठिन भइरहेको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार सरकारले चालु वर्षको सात महिना सात दिनमा पाँच खर्ब २३ अर्ब राजस्व संकलन गरेको छ। यो कुल लक्ष्यको ३७.३३ प्रतिशत मात्रै हो । चालु वर्ष सरकारले १४ खर्ब तीन अर्ब राजस्व उठाउने लक्ष्य लिएको छ ।  

राजस्व संकलनको हिसाबले कठिन समयमा राजस्व अड्डाका हाकिम बन्न पुगेका महानिर्देशकहरुले कार्यालय प्रमुखलाई दबाब दिन थालेका हुन् । अहिले आन्तरिक राजस्व विभागमा दीर्घराज मैनाली महानिर्देशक छन् । भन्सार विभागमा चक्रबहादुर बुढा र राजस्व अनुसन्धान विभागमा नारायणप्रसाद सापकोटा महानिर्देशकका रुपमा कार्यरत छन् । 

सापकोटा भर्खरै मात्रै अनुसन्धान विभागको महानिर्देशक बन्न गएका हुन् । मैनाली केही महिना अघि महानिर्देशक बनेका हुन् । यस्तै भन्सार विभाग महानिर्देशकमा बुढालाई पूर्वअर्थमन्त्री जनार्दन शर्माले आफू मन्त्रीबाट निस्कनुभन्दा अघि जिम्मेवारी दिएका थिए । 

चालु आर्थिक वर्षको ७ महिना सकिँदा राजस्व संकलन गर्ने मुख्य निकाय भन्सार विभाग र राजस्व विभाग लक्ष्यभन्दा निकै पछि रहेको छ ।  यस्तै गतवर्ष भन्दा कम मात्रामा राजस्व उठ्न थालेपछि थप दबाब बढेको छ। 

राजस्व विभागका महानिर्देशक मैनालीले कार्यालय प्रमुखहरुलाई कडाईका साथ राजस्व असुलीमा ध्यान दिन भनिरहेका छन् । यदि कुनै गल्ती गरेको भेटिए प्रणालीबाहेक आफूले कसैलाई नचिन्ने बताएका छन् । 

विभाग स्रोतले भन्यो, ‘राजस्व गत वर्षभन्दा कम उठ्न थालेपछि कार्यालय प्रमुख र कर परीक्षणलाई कडाईका साथ निगरानी बढाउनु भएको छ । कुनै गल्ती कमजोरी भेटिए क्षम्य नहुने बताउनु भएको छ ।’ 

यद्यपी यो वर्ष विभागले बजार अनुगमनको वर्ष मनाउने भनेता पनि विभागले आक्रामकरुपमा बजार अनुगमनमा जान सकेको छैन् । 

सापकोटासँग डराउन थाले व्यापारी 
राजस्व अनुसन्धान विभाग महानिर्देशकमा  सापकोटा आएसँगै भन्सारमा कडाई सुरु गरिएको छ । सापकोटाले भन्सार प्रमुखहरुलाई फोन गरी महशुल संकलनमा कुनै पनि गल्ती नगर्न भनेका छन् । 

राजस्व संकलनमा उल्लेख्य सुधार ल्याइदिने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वास दिलाएर महानिर्देशक बनेका सापकोटा भन्सारको मुलमै आफूले सुधार गर्ने दाबी गर्दै आएका छन् । उनले अन्य क्षेत्रमा भन्दा भन्सार सुधारबाट छिटो नतिजा देखिने भन्दै पूर्वमहानिर्देशक मदन दाहालकै शैली रोजेका हुन् । पूर्वमहानिर्देशक दाहालले पनि साढे तीन महिना कार्यभार सम्हाल्दा भन्सार महसुल छलीलाई नै प्राथमिकता दिएका थिए । यद्यपी राजनीतिक समर्थन नपाउँदा उनको छोटो अवधिमै सरुवा भएको थियो । 

हालका महानिर्देशक सापकोटा त्रिभुवन विमानस्थल भन्सार कार्यालय बस्दा चार अर्ब रुपियाँ भन्दा बढि राजस्व आफूले कडाई गरेका कारणले उठाएको दाबी गर्दै आएका छन् । उनले भन्सारमा हुने राजस्व छलीको राम्रो ज्ञान रहेको भन्दै कार्यालय प्रमुखलाई पनि कडा बन्न सचेत गराइरहेका छन् । भन्सार कार्यालयहरुले भन्सार जाँचपास पूरानै प्रणालीबाट गर्दै आएका छन्। हाल कुनै पनि भन्सार कार्यालयमा स्क्यानरको प्रयोग गरिएको छैन् । 

यदि कुनै गाडीमा शंका लागेमा भन्सार अधिकृतले सबै गाडी अनलोड गरेर चेकजाँच गर्नुपर्ने हुन्छ । सापकोटाले भन्सार प्रमुखहरुलाई दबाब दिएसँगै सामान छुटाउने भन्सार ऐजेन्टदेखि व्यापारीहरुसमेत हच्किएका छन् । स्रोतका अनुसार रसुवा भन्सार कार्यालय, विरानगर भन्सार कार्यालयबाट सामान छुटाउन र सो नाका हुँदै सामान ल्याउन व्यापारी हच्किएका छन् ।  

सापकोटाले अनुसन्धान विभागका कर्मचारीहरुलाई आठ भन्दा धेरै प्रकारले भन्सार छली हुने भन्दै पहिलो मिसन भन्सार छलीलाई निरुत्साहित गर्ने नै भएको बताएका छन् । उनले भन्सारमा महसुल छलीमा व्यापारीले प्रयोग गर्ने लुपहोलको विषयमा आफ्ना कर्मचारीहरु समेतलाई ब्रिफिङ गरिसकेका छन् । 

यस्तै सापकोटाले सोही अनुसार तयार रहन कर्मचारीलाई निर्देशन समेत दिएका छन् । स्रोतका अनुसार सापकोटाले राजस्व चुहावट नियन्त्रण गरेर मात्रै ५० अर्ब भन्दा बढी राजस्व बढाउने लक्ष्य लिएका छन् । 
 

Advertisement