आयकरको स्ल्याब बढाउँदा सरकारलाई १३ अर्बको ‘सर्टफल’

आर्थिक मन्दीको असरः पब्लिक र सरकारी कम्पनीले नाफा बढाउँदा प्रालीको घट्यो

Advertisement

काठमाडौं । पब्लिक र सरकारी कम्पनीले नाफा बढाउँदा प्राइभेट लिमिटेड (प्राली)को भने घटेको छ । आर्थिक वर्षको सुरुवातदेखि नै मागमा आएको कमिले प्रालीको कारोबार घटेको हो ।

अर्थ मन्त्रालयको तथ्यांक अनुसार प्रालीको व्यवसाय गतवर्षको तुलनामा १५.५२ प्रतिशतले घटेको छ । चालु वर्षको पहिलो छ महिनामा प्रालीमा दर्ता रहेका कम्पनीहरुले नाफाको १८ अर्ब ८२ करोड नाफाकर तिरेका छन् । यस्ता कम्पनीहरुले नाफाको २५ देखि ३० प्रतिशतसम्म आयकर तिर्ने गरेका छन्, जसमा पहिलो किस्तावापत पुस महिनामा ४०, चैत महिनामा ३० र असार महिनामा ३० प्रतिशत बुझाउनुपर्ने कानुनी व्यवस्था छ।

Advertisement

यो वर्ष प्रालीहरुले गतवर्ष भन्दा कम नाफा भएको ब्यालेन्सिट (वासलात) कर कार्यालयहरुमा पेश गरेका छन् । गतवर्ष प्रालीहरुले पहिलो ६ महिनामा २२ अर्ब २७ करोड कर दाखिला गरेका थिए । चालु वर्ष बजारमा आएको मागको कमिको कारण उनीहरुको कारोबार घटेको हो ।

सरकारले गरेको आयात प्रतिबन्ध र बजारमा तरलता अभावले गर्दा आर्थिक चक्रमै असर गरेको छ । ​प्रालीहरुको नाफा घट्दा पब्लिक कम्पनीहरुको नाफा भने बढेको छ । गतवर्षको तुलनामा पब्लिक कम्पनीहरुले ११.६९ प्रतिशत बढि कर दाखिला गरेका छन्, जसअन्तर्गत बैंक तथा वित्तिय संस्थाहरु पर्दछन् ।

​यी संस्थाहरमा सर्वसाधरणको समेत लगानी रहेको हुन्छ । यो अवधिमा पब्लिक कम्पनीहरुले २४ अर्ब ७२ करोड नाफाकर बुझाएका छन् । पोहोर यो अवधिमा उनीहरुले २२ अर्ब १३ करोड बुझाएका थिए ।

यो वर्ष सबैभन्दा धेरै नाफा सरकारी कम्पनीहरुले देखाएका छन् । सरकारी कम्पनीले पोहोरभन्दा ५६ प्रतिशत बढि नाफाकर बुझाएका हुन्, जसमा सरकारका लगानी रहेका बैंक तथा वित्तिय संस्था, उद्योग लगायत पर्छन् । सरकारी कम्पनीले पुस महिनासम्म तीन अर्ब ८८ करोड आयकर बुझाएका छन् भने पोहोर यो अवधिमा दुई अर्ब ४८ करोड मात्रै बुझाएका थिए । सरकारी कम्पनीमध्ये नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले धेरै कर दाखिला गर्दै आएको छ ।

यस्तै अन्य कम्पनीको पनि नाफा बढेको छ । अन्य कम्पनीहरुले गतवर्षको तुलनामा ५३.९५ प्रतिशत बढी नाफाकर बुझाएका छन् । चालु वर्ष यी कम्पनीहरुले छ अर्ब ७० करोड नाफाकर बुझाउँदा पोहोर चार अर्ब ३५ करोड नाफाकर दाखिला गरेको थियो।   

स्ल्याब बढाउँदा व्यक्तिगत आयकरमा पहिरो
पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत व्यक्तिगत आयकरको सिमा बढाएका थिए । व्यक्तिगत आयकरको सिमा वृद्धि गर्दा सरकारलाई पहिलो छ महिनामै पोहोरभन्दा १३ अर्बले कम राजस्व प्राप्ति भएको छ । बजेट वक्तव्यमार्फत शर्माले एकल व्यक्तिको चार लाखलाई बढाएर उनले पाँच लाख पुर्याएका थिए भने दम्पत्तिको हकमा साढे चार लाखबाट छ लाख पुर्याएका छ । 

यस्तै एकल व्यक्तितर्फ पाँच देखि सात लाखसम्मको आयमा २० प्रतिशलाई घटाएर १० प्रतिशतमा झारिएको छ । यस्तै दम्पत्तिको हकमा पनि छ लाखदेखि आठ लाखसम्म २० प्रतिशतबाट घटाएर १० कायम गरिएको छ ।

चालु वर्षको पहिलो छ महिनामा व्यक्तिगत आयकर शीर्षकमा सरकारलई ३९ अर्ब ८२ करोड प्राप्ति भएको छ, जबकी गत वर्ष नै सरकारले यो शीर्षकमा ५२ अर्ब ५४ करोड राजस्व संकलन गरिसकेको थियो ।

व्यक्तिगत आयकरलाई सरकारले चार भागमा विभाजन गरेको छ, जसमा प्रोप्राइटरसिप, पारिश्रमिक, सामाजिक सुरक्षा र पुँजिगत लाभकरमा वर्गीकरण गरेको छ । यसमध्ये व्यक्तिगत आयकरको सिमा बढाउँदा सबैभन्दा धेरै पुँजिगत लाभकरमा असर गरेको छ । यो शीर्षकमा पोहोरभन्दा ६६.८४ प्रतिशत कम राजस्व उठेको छ । यस्तै प्रोप्राइटरसिपमा ४.५२ प्रतिशतले कमी आउँदा पारिश्रमिक र सामाजिक सुरक्षा करमा भने सामान्य वृद्धि देखिएको छ ।

Advertisement