सरकारले काठबाट उत्पादन गर्न स्वीकृति नदिएपछि पहिलो पटक कागजबाट ‘पेन्सिल’ उत्पादन

Advertisement

कठमाडौं । बिगत १३ बर्षदेखि निरज पौडेल र उमा अचार्य दम्पत्ति ‘सिद्धि साईबाबा पेन्सिल उद्योग’ सञ्चालन गर्दै आएका छन् । उनीहरुले नेपालमा पहिलो पटक कागजबाट सिसाकलम (पेन्सिल) उत्पादन गर्दै आएका छन् । 

काठबाट पेन्सिल उत्पादन गर्न सरकारले अनुमति नदिएपछि निरज र उमाको जोडीले कागजलाई बिकल्पको रुपमा प्रयोग गरेको हो । यस्तो उद्योग खोल्ने सोच पहिला निरज पौडेलले बनाएका थिए । श्रीमानको सपना र सुरुवातलाई सफल बनाउन उमाले महत्वपूर्ण देन छ । 

Advertisement

आफ्नै पेन्सिल उद्योग खोल्नुभन्दा केही बर्षअघि निरज विदेशी पेन्सिल उद्योग ‘नटराइज’मा बजारीकरणको काम गर्थे । सोही अनुभव र ज्ञानलाई प्रयोग गर्दै उनले आफ्नै उद्योग सुरुवात गरेका हुन् । 

काठबाट पेन्सिल उत्पादन गर्न अनुमति माग्दा सरकारले नदिएको अनुभव सुनाउँदै उमाले उद्योग सञ्चालनमा ल्याएको दुई वर्षसम्म राम्रो उत्पादन नहुँदा धेरै पेन्सिल फाल्नुपरेको सुनाइन् । उनी भन्छिन्, ‘सुरु सुरुमा बजारमा पेन्सिल बिक्री गर्दा निकै गुनासो पनि सुन्नुपर्यो ।’ 

पेन्सिल उद्योग सञ्चालन गर्न १३ बर्षअघि भारतबाट मेशिन खरीद गरेर ल्याएका उनीहरुले मेशिन खरीद गर्दा बिचौलियालाई १८ लाख रुपियाँ तिर्न बाध्य भएको बताए । मेशिन खरीद गरेर ल्याउँदा आफूहरुले पाएको सास्ती र खर्च अरु पेन्सिल उद्योगले भोग्नु नपरोस भनेर आफूहरुले मेशिन पनि तयार गरेर बिक्री गर्न थालेको बताए । 

निरजले पेन्सिल मेशिन निर्माण गरेर छ लाख रुपियाँमा बिक्री गर्दै आएको बताए । उनीहरुको मेशिन दमौली, पोखरा, मुलपानी, ललितपुरस्थित डाइमण्ड ह्याण्डीक्राफ्टलगायतलाई बिक्री गरेको छन् । निरज र उमाले १० जनालाई रोजगारी पनि दिएका छन् । 

एक चरणमा पेन्सिल तयार गर्न तीन दिन समय लाग्ने बताउँदै उमाले आफूहरुले सहुलियत मूल्यमा पेन्सिलहरु उत्पादन गरेर बिक्री गर्दै आएको बताइन् । उनले देशैभर आफ्ना उत्पादनहरु पुर्याउने योजना पनि सुनाइन् । कसैले अवसर दिए आफूहरु दुर्गम क्षेत्रमा निःशुल्क पेन्सिल वितरण गर्न तयार रहेको पनि उमाले बताइन् । 

सरकारले सहयोग नगर्दा साना स्वदेशीहरुको उत्थान र विकास हुन नसकेको उनको भनाई छ । उमा भन्छिन्, ‘हामी जस्ता साना उद्योगीलाई सरकारको पटक्कै सहयोग र साथ छैन् । मेशिन किन्दा त्यस्तै सास्ती छ । आफूले उत्पादन गरेका सामानको बजारीकरण गर्न त्यस्तै समस्या छ । प्रोत्साहन छैन् । संरक्षण छैन् । सबै उद्यमीले आफ्नै जोखिम र संघर्षमा गर्नुपर्ने अवस्था छ । नेपाली सामान बजारमा कम देखिनुको कारण पनि त्यही हो ।’

उनले थपिन, ‘सीप त सिकाएन सिकाएन सरकारले, स्वदेशी उद्योगलाई अघि बढ्न त सहजीकरण गर्दिन सक्थ्यो नि । त्यो पटक्कै छैन् । कस्तोसम्म छ भने नेपाललाई पेन्सिलमा आत्मनिर्भर बनाउन मेशिनहरु देशैभर पुर्याउनुपर्छ भनेर सरोकारवालासमक्ष हामी जाँदा हाम्रो क्षमताभन्दा बढी रकम बुझाउनुपर्ने कुरा आयो । अहिले हामी घरबाटै पेन्सिल बिक्री गर्न बाध्य भएका छौं ।’

Advertisement