अरबी स्वाद र शैलीको ‘हबिबी चाये’ नेपालमा, जुन भित्राउने जोडी हुन दिपेश र नितिन

Advertisement

काठमाडौं । चिया र कफीप्रेमीहरुको लागि नयाँ स्वादका साथ बजारमा आएको छ ‘हबिबी चाये ।’ करिब १५ वर्ष विदेशमा काम गरी फर्किएका दुई साथी मिलेर  ‘हबिबी चाये’ सञ्चालनमा ल्याएको हुन् । 

लामो समय दुबईमा बसेका दिपेश निरौला र नितिन कोइरालाले नेपालमै केही गर्ने सोचका नयाँ व्यवसाय थालेका हुन् । निरौला कोरोना महामारीका क्रममा नेपाल आएका हुन् भने कोइराला त्योभन्दा अघि नै । उनीहरुबीच दुवईमा नै भेटघाट र मित्रता भएको हो । 

Advertisement

निरौला र कोइरालाले ‘हबिबी चाये’ सुरु गरेको करिव १० महिना भयो । राजाधनीका विभिन्न ठाउँमा चिया पसल सञ्चालन गर्दै आएका दुई युवा उद्यमीले अरबी शैलीको चिया पसल सुरु गरेका हुन् । 

दुईमध्येका एक निरौलाले भने, ‘हामीले १५ वर्ष दुवईमा काम गर्यों । नितिन दुवईको एउटा फाइन डाइनिङ रेस्टुरेन्टमा म्यानेजर हुनुहुन्थ्यो । म बास्किन रबिन्स कम्पनीमा एरिया म्यानेजरको रुपमा काम गर्थें । त्यही सिलसिलमा इजिप्ट जाँदा ‘हबिबी चाये’ देखियो । विदेशमा यो नयाँ अवधारण होइन अरबी थिममा । उत्पत्ति चाहिं इजिप्ट नै हो । इजिप्ट र अरबी देशहरुमा बालुवामा तताएर चिया, कफी बनाउने चलन छ । बजारतिर खासै देखिन्न । विशेषगरी मरुभूमिमा क्याम्प जाँदा बालुवामा तताएर बनाउने । यसमा चिया, कफी लगायत अरु कुराहरु पनि बनाउन मिल्छ ।’ 

‘हबिबी चाये’ बनाएको देखेर आफूहरु पनि प्रेरित भएको उनले बताए । यो शैली नेपालमा पनि सफल हुन्छ कि भनेर आफूहरु दुवईमा हुँदा नै सोच बनाएको बताउँदै निरौलाले थपे, ‘नेपाल आएर केही नयाँ काम सुरु क्रममा बाहिरकै शैलीमा इभेन्ट बेस स्टल’हरु लगाएर नेपालमा पनि अरबी शैली र स्वादको चिया र टर्किस कफी चखाउन हामीले प्रयास गरेका हौं ।’ 

‘हबिबी चाये’को पहिलो चिया पसल पुल्चोकको लबिम मलबाट सुरु गरिएको हो । उक्त चिया पसल ग्राहकले निकै मन पराएपछि काठमाडौंका अन्य स्थानमा अस्थायी पसलहरु राखेर व्यवसाय गर्दै आएको निरौलाले बताए । छायाँ सेन्टर, ठमेलस्थित अरबी रेस्टुरेन्ट, वसन्तपुर, टौदहको पार्क, बौद्धमा पनि ‘हबिबी चाये’को पसल राखिएको छ । 

उद्यमीद्धयले दिनमा चारदेखि पाँच वटा पसल सञ्चालन गर्दै आएका छन् । लबिम मल, छायाँ सेन्टर, बौद्ध, टौदह आदि ठाउँमा नियमित स्टल राख्ने गरिए पनि अन्य ठाउँमा भने अस्थायी ढंगले (इभेन्ट बेस) स्टलहरु राख्ने गरिएको सुनाउँदै निरौलाले विवाह, ब्रतवन्ध, विद्यालय र कलेजहरुले गर्ने कार्यक्रम आदिमा पनि ‘हबिबी चाये’ राख्ने गरिएको बताए । 

उनले आफूहरुले भनेजस्तो ठाउँ अझै नपाएको गुनासो गर्दै दुईदेखि तीन वटासम्म स्टोरहरु खोल्ने योजना आफूहरुको रहेको बताए । निरौलाको जोडीले ‘हबिबी चाये’ सञ्चालन गर्न १५ कर्मचारी राखेका छन् । ‘हबिबी चाये’ अन्तर्गत चार प्रकारका चिया कफी छन् । अरबी स्यान्ड टि, टर्किस कफी, गर्मी मौसमको लागि आइस टि र आइस कफि ।

Advertisement

Advertisement