सुनिल दाहालको राजघाट मौरी पालन उद्योगले यसै बर्षदेखि निर्यात सुरु गर्ने

Advertisement

काठमाडौं । पछिल्लो समय नेपालमा मौरीपालन व्यवसाय फस्टाउँदै गएको छ । मह बिक्री गरेर व्यवसायीहरुले वार्षिक लाखौं आम्दानी गरिरहेका छन् । मौरीपालन व्यवसायमा एक सफल उदाहरण हुन मोरङका सुनिल दाहाल । 

उनले १५ वर्षदेखि ‘राजघाट मौरी पालन उद्योग’ सञ्चालन गर्दै आएका छन् । मेलिफेरा र सेराना जातका मौरी पालनबाट राम्रो उत्पादन लिँदै आएका दाहालले ‘फूलबारी बि प्रोडक्ट’ नामक ब्राण्डबाट बिक्री बितरण गर्दै आएका छन् । 

Advertisement

मौरीपालनबाट वार्षिक २० लाख रुपियाँ जति आम्दानी हुने गरेको उनले सुनाए । राजघाट मौरी पालन उद्योगमा १३० वटा मौरी घार छन् । तोरीको सिजनमा १५ देखि २० दिनमा मह उत्पादन हुन्छ भने वसन्त ऋतुका समयमा जंगली फूलबाट मौरीले २५ देखि ३० दिनमा मह उत्पादन गर्ने गर्छ । 

उद्योगबाट बर्षमा तीन हजार पाँच सयदेखि चार हजार किलोसम्म मह उत्पादन हुने गरेको दाहालले बताए । मह काड्ने सिजन सात महिनासम्म हुने र सो समयमा १० जनासम्मले रोजगारी पाउने, अरु समयमा भने दुई जनाले रोजगारी पाउने उनले बताए । 

उद्योगबाट महबाहेक बि पोलेन, मैन उत्पादन पनि हुने दाहालले बताए । तोरीको फूलको मह प्रतिकिलो आठ सय रुपियाँमा बिक्री हुन्छ भने जङ्गली फूलको मह प्रतिकिलो एक हजार रुपियाँमा बिक्री हुन्छ । एक किलो बि पोलेनको मूल्य दुई हजार पाँच सयदेखि तीन हजार रुपियाँमा बिक्री हुने गर्छ । यस्तै मैन प्रतिकिलो एक हजार रुपियाँमा बिक्री हुने उनले बताए । 

दाहालको उद्योगको मह सप्त्तरी, धनुषा, सिन्धुली ओखलढुङ्गा, काठमाडौंलगायतमा पनि बिक्री हुन्छ । यस आर्थिक वर्षदेखि निर्यात गर्ने तयारी समेत भइरहेको उनले बताए । दाहालले भने, ‘हालसम्म नेपालभित्रै बिक्री गर्दै आएका थियौं । यस बर्ष देश बाहिर निर्यातका लागि तयारी भइरहेको छ ।’ 

दुई वटा घारबाट व्यवसाय सुरु गरेका उनले ती दुवै घारको मौरी मास्सिएको सुनाए । पछि दाहालले ललितपुरको गोदावरीमा मैरी विकास तालिम केन्द्रबाट तालिम लिएर मैरीपालन व्यवसाय सुचारु गरे । तालिमपछि एक लाख रुपियाँ लगानीमा १२ वटा घारबाट आधुनिक ढंगले मौरीपालन गरे । 

मौरी चराउनका लागि दाहाल विभिन्न स्थान जाने गरेका छन् ।  मोरङका फाँट, बेलबारी, इलाम, पाँचथर, तेह्रथुमसम्म पुग्ने गरेका मौरी चराउन जानु एक दिन अघि साँझमा मौरीको घारको दुलो टालिन्छ र गाडीमा लोड गरिन्छ ।

व्यवसायिकरुपमा तरकारी र फूलको खेती गर्ने किसानहरुले पनि मौरी चराउनका लागि बोलाउने गरेको दाहालले बताए । त्यस्तो ठाउँमा कति समयसम्म मौरीलाई चर्न पुग्छ ? पहिला नै जानकारी  लिएर मात्रै चराउन जाने गरेको उनले बताए । दश घार मौरीका लागि चर्न एक बिघा खेती भएको ठाउँ चाहिने दाहालले बताए ।

Advertisement

Advertisement