राजधानी काठमाडौंमा ड्रागन फ्रुष्ट्सको सफल व्यवसाय, स्थानीय बजारमा सबै बिक्री

Advertisement

काठमाडौं । रामेश्वर धितालले ३५ लाख रुपियाँ लगानीमा सिउँडी प्रजातिको ‘ड्रागन फ्रुट्स’को खेती गर्दै आएका छन् । तारकेश्वरको धितालचोकमा विगत तीन वर्षदेखि उनले ‘बिन्दबासिनी कृषि फार्म’बाट ड्रागन फल उत्पादन गर्दै आएका हुन् । 

धितालको ड्रागन फलको खेती छ रोपनी क्षेत्रफलमा फैलिएको छ । ड्रागन खेती गरेको खाली स्थानमा रोजमेरी (मसला), कुरिलो, सयपत्री जस्ता फूलको खेती भइरहेको छ । 
 
राजधानी्भित्र ड्रागन खेती गर्ने धिताल संभवतः पहिलो र एक मात्रै व्यवसायी हुन् । ड्रागन खेती गरेपछि फल लिन तीन बर्ष कुर्नुपर्ने हुन्छ । यति लामो समय धैर्य गर्ने कमै कृषक हुन्छन् । तर धितालले राजधानीभित्रै यस्तो व्यवसाय गरेर उदाहरण प्रस्तुत गर्ने जर्मको गरेका छन् । 

Advertisement

नेपालमा अहिले तीन खाले सरकार छन् । तर कुनैबाट पनि साथ र सहयोग नपाएको व्यवसायी धितालले गुनासो गरे । केन्द्रको ध्यान सानातिना व्यवसायीसम्म पुग्न सक्दैन् । प्रदेशहरु नेता कार्यकर्ता पाल्ने थलोबाहेक केही बन्न सकेका छैनन् । स्थानीय तह पनि आफै अलमलमा हुँदा कृषि व्यवसायको विकासतर्फ ध्यान पुग्न सकेको छैन् । 

धिताल ड्रागन खेती गर्नुअघि ट्राभल एजेन्सीमा काम गर्थे । कृषिमा लाग्नुपर्छ भन्ने सोचका साथ संभावना भएको क्षेत्र खोज्दै जाँदा ड्रागनको व्यवसायिक खेती सुरु गरेको उनले सुनाए । 
 
धितालको कृषि फर्ममा ३५० बोट ड्रागन छन् । ती बोटमा एक हजार फूल फुलिसकेको उनले बताए । यस वर्षको सिजनमा सातदेखि १० लाख रुपियाँको ड्रागन फल बिक्री हुने धितालको अनुमान छ ।    

ड्रागनको बिरुवा रोपेको १३ देखि १८ महिनाभित्र फूल फूल्न थाल्छ । फूल फुल्न सुरु गरेको ३५ दिनमा फल दिन सुरु हुन्छ । नयाँ बोटबाट एक पटकमा पाँच किलोसम्म फल उत्पादन हुन्छ भने दोस्रो वर्ष त्यसको दोब्बर उत्पादन हुन्छ । 

ड्रागन फ्रुटको सिजन जेठदेखि असोजसम्म हो बाली विज्ञहरुका अनुसार एक पटक ड्रागन फ्रुटको खेती गरेपछि २५ वर्षसम्म फल दिन्छ । सुकेको बोटबाट पनि फल उत्पादन हुने ड्रागनको विशेषता हो ।

धितालको फर्मबाट रातो गुलाबी र सेतो दुवै प्रकारका फल उत्पादन हुँदै आएको छ । दुईमध्ये रातो गुलाबी बढी स्वादिलो र महंगो पनि हुन्छ । गुलाबी ड्रागनप्रति किलो सात सय रुपियाँमा बिक्री गर्ने गरेको उनले बताए । रातोभन्दा सेता ५० रुपियाँले सस्तो छ । 

व्यवसायी धितालले आफूले उत्पादन गरेको ड्रागन फल आफैले सिधै स्थानीयलाई बिक्री गर्ने गरेका छन् । उनी भन्छन्, ‘उत्पादन भएको फल बजारसम्म पुर्याउने गरेको छैन् । बजारमा पुर्यायो भने बीचका व्यापारीहरुले मात्रै फाइदा लिन्छन् । उधारो राख्छन् । पैसा उठाउन त्यस्तै समस्या हुन्छ ।’
 
रातो ड्रागनबाट वाइन, आइसक्रिम, जुस पनि उत्पादन गर्न सकिन्छ । क्यान्सर तथा कोलस्ट्रोलका बिरामीहरुका लागि बढी उपयोगी मानिने यो फलले एक सय ग्राम बराबर एक किलो स्याउको तागत दिने धितालको दावी छ । 

उनले आफ्नो फर्मबाट रातो ड्रागनको हाँगाको छ सय रुपियाँ र सेतो पाँच सय रुपियाँमा बिक्री गरेर थप आम्दानी पनि गर्दै आएका छन् । धितालले आफ्नो उत्पादनमा कुनै रासायनिक मल र विषादी प्रयोग नहुने र गाईवस्तुको अर्गानिक मल मात्रै प्रयोग हुने बताए । 

Advertisement

Advertisement