पूर्व–पश्चिम राजमार्गको काकडभिट्टा–लौकही सडक विस्तारका लागि एडीबीले ३९ अर्ब ऋण दिने

Advertisement

काठमाडौं। पूर्व–पश्चिम (महेन्द्र)राजमार्गअन्तर्गत काकडभिट्टा–लौकही सडक खण्ड विस्तारका लागि एशियाली विकास बैंक (एडीबी)ले ऋण सहयोग गर्ने भएको छ । एडीबीले उक्त सडक खण्ड विस्तार तथा स्तरोन्नति लागि ३९ अर्ब ऋण दिन सहमत भएको हो । 

सहुलियतपूर्ण ऋण सम्झौताका लागि अर्थ मन्त्रालयले बैंकसँग वार्ता सुरु गरेको थियो । पूर्व–पश्चिम राजमार्ग स्तरोन्नतिअन्तर्गत यो सडक खण्डका लागि बैंकले ३० करोड अमेरिकी डलर दिने सहमति भएको अर्थ मन्त्रालयले जनाएको छ । 

Advertisement

बैंकसँग ऋण लिनका लागि छलफल भइरहेको मन्त्रालयका उपसचिव सूर्यप्रसाद पोखरेलले बताए ।उनले भने, ‘बैंकसँग ऋण लिनका लागि प्रयास भइरहेको छ । चालु वर्षको अन्त्यतिर सम्झौता हुनेगरी वार्ता भइरहेको छ । उनीहरुले रकम दिनलाई सहमति पनि जनाइसकेको छ ।’ 

पोखरेलले ऋणको किस्ता र ब्याजदरलगायतका विषयमा टुङगो लागेपछि मात्रै सम्झौता पत्रमा हस्ताक्षर हुने बताए । चालु वर्षमै स्रोत सुनिश्चित गर्ने सहमति लिएर आगामी आर्थिक वर्षको बजेटमा यसलाई समावेश गर्ने तयारी मन्त्रालयले गरेको छ । यो आयोजना शोधभर्नामा आधारित रहेको छ ।

एडीबीले एकै भौतिक पूर्वाधार आयोजनामा यति ठूलो ऋण लगानी गर्न लागेको संभवतः यो पहिलो हो । नेपालमा यसअघि एउटै पूर्वाधार आयोजना पृथ्वी राजमार्गको स्तरोन्नति गर्न विश्व बैंकले ५५ अर्ब लगानी गरेको छ ।

२४–५० मिटरको यस्तो हुनेछ सडक
चालिस वर्षभन्दा पूरानो यो पूर्व–पश्चिम राजमार्गको यो सडक खण्ड मर्मतको कमीले बिग्रिँदै गएको छ । यो सडकमा सवारीको चाप बढ्दै गएपछि सरकारले चार लेनमा विस्तार गर्ने योजना बनाएको हो । हाल यो सडक दुई लेनको रहेको छ ।

काकडभित्ता–लोकही खडक खण्ड १२० किलोमिटर लामो छ । यस आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन समेत भइसकेको जनाइएको छ । आयोजनाको विस्तृत योजना प्रतिवेदन अनुसार सडकको चौडाई २४ मिटरदेखि ५० मिटरसम्मको हुनेछ ।

यो सडक खण्ड मेची नगरपालपिकाको काकडभित्तादेखि कोशी गाँउपालिकाको लौकहीसम्म फैलिएको छ । यसको अधिकार क्षेत्र ५० मिटरको केन्द्रदेखि दाँया–बायाँ २५–२५ मिटर कायम गरिएको छ । सडक विभागका अनुसार यो क्षेत्रभित्रमा पर्ने जग्गामा अनधिकृतरुपमा बनाइएका संरचनाको कुनै पनि क्षतिपूर्ति पाइने छैन् । यस आयोजना सडक विभाग, आयोजना निर्देशनालय (एडीबी) अन्तर्गत सञ्चालित हो ।

यस आयोजनाबाट विशेगगरी तीन जिल्ला झापा, मोरङ र सुनसरी प्रभावित रहने छन् । झापाको मेचीनगर, अर्जुनधारा, बिर्तामोड, कन्काई शिवसताक्षी, दमक नगरपालिका र कमल गाउँपालिकामा सडक फैलिएको छ । यस्तै मोरङको उर्लाबारी, पथरी शनिश्चरे, बेलबारी, सुन्दरहरैचासहित चार नगरपालिकालाई छुनेछ । यसैगरी, सुनसरीको इटहरी उपमहानगरपालिका, रामधुनी, इनरुवा नगरपालिका, भोकाहा र कोशी गाउँपालिका प्रभावित हुनेछन्।

यो सडकको परामर्शदाताको रुपमा सुसुङ इन्जिनियरिङ एण्ड कन्सल्टिङ कोरिया इन एसोसियसन टेक अफ इन्जिनियरिङ एण्ड इन्भाएरोमेन्ट एण्ड रिसोर्स मेनेजमेन्ट कन्सल्ट्यान्ट प्राली रहेका छन् ।  

Advertisement

Advertisement