यो वर्ष साढे चार प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण, प्रतिव्यक्ति आय १४४३ डलर पुग्ने

Advertisement

काठमाडौं । चालु आर्थिक वर्षमा साढे चार प्रतिशतको आर्थिक वृद्धि हुने राष्ट्रिय स्रोत अनुमान समितिले बताएको छ । बढ्दो आर्थिक मन्दीका बिच गत वर्ष भन्दा कम आर्थिक वृद्धि हुने समितिले अनुमान गरेको हो ।

यस वर्ष बजेटमा आठ प्रतिशतको महत्वकांक्षी आर्थिक वृद्धिको लक्ष्य राखिएको छ । अर्थ मन्त्रालयले चालु वर्षको अर्धवार्षिक समीक्षामा आर्थिक वृद्धिदरको अनुमान पेश गर्न सकेको थिएन । यद्यपी अर्थमन्त्री बिष्णु पौडेलले संसदमा भने बजेटमा राखिएको आठ प्रतिशतको लक्ष्य पूरा नहुने स्वीकार गरिसकेका छन् । 

Advertisement

समग्र बजारको माग चक्र बिग्रदा चालु वर्ष आर्थिक वृद्धि खुम्चिने देखिएको हो । गत आर्थिक वर्ष २०७८–७९ मा आर्थिक वृद्धि पाँच दशमलव आठ प्रतिशत भएको थियो । स्रोत समितिले आगामी तीन वर्षको आर्थिक वृद्धिको अनुमान पेश गरेको छ । जसअनुसार आगामी आर्थिक वर्ष २०८०–८१ मा छ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेको छ भने २०८१–८२ मा सात दशमलव चार प्रतिशत र २०८२–८३ मा आठ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान छ ।

चालु वर्ष कृषि तथा मत्स्य पालन दुई दशमलव दुई प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । गैरकृषि क्षेत्र साढे चार प्रतिशतले वृद्धि हुने अनुमान छ । गतवर्ष यो शीर्षकमा छ दशमलव एक प्रतिशतको वृद्धि थियो । उद्योग क्षेत्र १० दशमलव तीन प्रतिशतले वृद्धि हुदाँ सेवा क्षेत्र पाँच दशमलव नौ प्रतिशतले वृद्धि हुने अनुमान छ ।

उपभोक्ता मुद्रास्फीति यो बर्ष साढे सात प्रतिशत कायम हुने समितिको अनुमान छ । ब्याजदरको आधार दर १०. दशमलव तीन प्रतिशत कायम रहने अनुमान छ । गतवर्ष ३० दशमलव पाँच प्रतिशतले वृद्धि भएको राजस्व चालु वर्ष दुई दशमलव पाँच प्रतिशतले ऋणात्मक देखिएको छ । आन्तरिक ऋण कुल गार्हस्थ उत्पादनको अनुपातमा चार दशमलव चार प्रतिशतले वृद्धि भएको छ । यस्तै आर्थिक जोखिमको सुचकांक २४ दशमलव सात प्रतिशतले बढ्दा मानव सम्पति सुचकांक ७४ दशमलव नौ अंक कायम रहेने छ ।

प्रतिव्यक्ति आय ५३ डलरले बढ्ने
चालु वर्ष गतवर्ष भन्दा ५३ अमेरिकी डलरले प्रतिव्यक्ति आम्दानी बढ्ने अनुमान समितिले गरेको छ । गतवर्ष एक हजार ३८१ डलर रहेको प्रतिव्यक्ति आय यो वर्ष एक हजार ४३४ पुग्ने अनुमान छ । आगामी आर्थिक वर्ष २०८०–८१ मा १८० डलरले बढ्दै एक हजार ५७२ पुग्ने, २०८१–८२ मा १६८ डलर बढेर एक हजार ७४० पुग्दा २०८२–८३ पुग्दामा १९५ डलर बढेर एक हजार ९३५ पुग्ने प्रक्षेपण गरिएको छ । 

आगामी तीन वर्षका लागि प्रक्षेपित आर्थिक वृद्धिदरको लक्ष्य र विषय क्षेत्रबाट अपेक्षित उपलब्धि हासिल गर्न आवश्यक पर्ने खर्च र सोका लागि उपलब्ध हुन सक्ने स्रोतको प्रारम्भिक अनुमान तयार गरिएको राष्ट्रिय योजना आयोगले जनाएको छ । अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल राष्ट्र बैंकबाट प्राप्त विवरण समेत विश्लेषण गरी अनुमान पेश गरेको समितिको भनाई छ । 

अनुमानमा खर्च सीमा तथा स्रोत निर्धारणमा प्रक्षेपित आर्थिक वृद्धिदर, मुद्रास्फीति, ब्याजदर, विनिमयदर, राजस्व तथा वैदेशिक सहायता र आन्तरिक ऋण परिचालनलाई आधार लिइएको छ ।

Advertisement

Advertisement