आर्थिक वृद्धिदर ३.२ प्रतिशत हुने प्रक्षेपण गरिए पनि अहिले माइनस १.४ प्रतिशत छः डा. अधिकारी

Advertisement

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभाग प्रमुख प्राडा.शिव अधिकारीले सरकारले मुलुकको वर्तमान आर्थिक अवस्थाको गहन विश्षलेण नगरी बजेटको सिद्धान्त र प्राथमिकता ल्याएको बताएका छन् । 

आइतबार संसदको अर्थ समितिमा उनले अर्थतन्त्र र निजी क्षेत्रको मनोबल कमजोर रहेको भन्दै त्यो विषयलाई सरकारले प्राथमिकतामा नराखेको बताए । अधिकारीले अर्थतन्त्रमा सरकारले मुलुकमा लगानीको प्रतिकुल वातावरण, प्रक्रियागत सरलीकरण, निजी क्षेत्रसँग निरन्तर संवाद, पुँजीगत खर्च बढाउन निरन्तर पहल भइरहेको छ भन्ने हिसावमा सरकार जान नहुने बताए । 

Advertisement

अर्थतन्त्रका वर्तमान समस्यालाई सरकारले राम्रोसँग अध्ययन र विश्लेषण गर्न सके मात्रै पनि अर्थतन्त्र सुधार गर्न सकिने उनले बताए । अधिकारीले विनिमय सञ्चितिको कारण सरकारको मनोबल बढे पनि वास्तविक अर्थतन्त्रमा सुधार नभएको बताए । 

डा. अधिकारीले आर्थिक वर्षको पहिलो त्रैमासिकको आर्थिक अवस्थाको हिसावले आर्थिक वृद्धिदर ३.२ प्रतिशत हुने प्रक्षेपण गरिएको बताए । उनले पछिल्ला समय मौसम अनुसारका प्रभावलाई समावेश गर्दा आर्थिक वृद्धिदर माइनस १.४ प्रतिशत रहेको बताए । अधिकारीले समग्रमा आर्थिक गतिविधिका हिसाव अर्थतन्त्र करिव ३७ प्रतिशत नकारात्मक रहेको बताए । 

उनले उत्पादन, खानी, विद्युत, ग्यास, निर्माण र होलसेल बिक्री समेत नकारात्मक रहेको उल्लेख गर्दै धेरै क्षेत्र नकारात्मक रहेको बताए । यसलाई लयमा फर्काउन समय लाग्ने अवस्था देखिएको अधिकारीको भनाई छ । उनले अर्थतन्त्रको संरचना र प्रविधिमा आएको परिवर्तनको कारण राजश्व संकलनमा चुनौती थपिएको सरकारको विश्लेषणमा पनि प्रश्न उठाए । 

डा. अधिकारीले अर्थतन्त्रको संरचना र प्रविधिमा आएको परिवर्तनको कारण नभएर अर्थतन्त्रमा आएको शिथिलताकै कारण राजश्व संकलन घटेको भन्दै र राजश्व संकलन चुनौती रहेको बताए । उनले भने, ‘सरकारले मुलुकमा लगानीको प्रतिकुल वातावरण भइरहेको छ । प्रक्रियागत सरलीकरण भएको छ । निजी क्षेत्रसँग निरन्तर संवाद भइरहेको छ । पुँजीगत खर्च बढाउन निरन्तर पहल भइरहेको छ भन्ने हिसाबमा सरकार गइरहेको छ । त्यसले खासै परिवर्तन ल्याएको छैन ।’ 

उनले थपे, ‘अर्थतन्त्रका वर्तमान समस्या राम्रोसँग केलाउन पाइयो भने अर्थतन्त्र सुधार गर्न सकिन्छ । सरकारले त्यस्ता आधारहरु सिर्जना गरेको पाइँदैन । विनिमय सञ्चितिको कारण सरकारको मनोबल बढेको छ । तर अर्थतन्त्र र निजी क्षेत्रको मनोबल बढेको छैन । त्यो विषयमा पनि सरकारको प्राथमिकता राखेको भए हुने थियो ।’ 
 

Advertisement

Advertisement