जनकपुरमा विशेष सुविधासहितको रेष्टुरेन्ट सञ्चालन गर्दै मास्टर सेफ सन्तोष शाह

Advertisement

काठमाडौं । मास्टर सेफ सन्तोष शाहले जनकपुरमा आफ्नै रेस्टुरेन्ट खोल्ने भएका छन् । बेलायतको रियालिटी कुकरी टिभी शृंखलाका विजेता शाहले जनकपुरको रामानान चोकमा ‘मिथिला थाली बाइ सेफ सन्तोष शाह’ नामक रेष्टुरेन्ट खोल्न लागेका हुन् । 

रेष्टुरेन्टमा सात वटा रुम, लाइभ काउन्टर रहने बताउँदै उनले आफ्नै लगानीमा यसको निर्माण कार्य भइरहेको बताए । रेष्टुरेन्ट आउँदो बैशाख १ गतेबाट औपचारिक सञ्चालनमा आउने छ । 

Advertisement

शाहले भने, ‘जनकपुरमा धेरैजसोको एउटा गुनासो थियो, खाने ठाउँ राम्रो छैन् । बस्ने ठाउँ छैन् । मेरो लागि पनि पनि त्यही थियो । जनकपुर गएको बेला पर्यटकहरुले मिठो खाना खाउन । मेरो घर जस्तो मिठो खाना खाउन भन्ने मनसायले यो रेस्टुरेन्ट संचालनमा ल्याउन लागेको हुँ ।’ 

दुई सय ५० ​ रुपियाँमा १८ वटा मिथिला खाना पाइने बताउँदै शाहले थपे, ‘थाली बेचेबापत एक रुपियाँदेखि तीन रुपियाँ स्थानीय एक अनाथालयलाई दिनेछौं । रेष्टुरेन्टका खानेकुरामा जति पनि मरमसला प्रयोग हुन्छ, त्यो हाम्रै दिदी, बहिनी, आमाले घरमा खानामा जे कुराहरु प्रयोग गर्नुहुन्छ, त्यही नै प्रयोग गर्ने हो ।’

यस्तो रेस्टुरेन्ट नेपालका विभिन्न ठाउँमा सञ्चालन गर्ने योजना रहेको उनले सुनाए । एउटा कोठा भने ‘सेफ सन्तोष शाह’ भनेर छुट्टै रहने बताए । त्यो कोठामा उनीसँग सम्वन्धित कुराहरु हुनेछ । उक्त कोठामा पर्यटकहरु बस्न सक्ने र रमाइलो गर्नसक्नेछन् । 

रेष्टुरेन्ट सञ्चालनका लागि उनले दुई वटा भवन निर्माण गरिरहेका छन् । एउटा भवनमा रेस्टुरेन्ट र ब्याङ्क्वेट हल तथा अर्कोमा कोठाहरु हुनेछ । रेस्टुरेन्टमा मिथिला आर्टहरु राखिने छ । मिथिला थालीमा १८० जना अटाउने क्षमता छ । 

त्यस्तै, झण्डै चार कट्ठा जग्गामा बन्दै गरेको रेष्टुरेन्टभित्रको ब्याङ्क्वेट हल (भोज हल)मा ३५० जना अटाउने क्षमता रहेको छ । शाहले भने, ‘यो हाम्रो परिवारिक व्यवसाय हो । यसमा म लगायत मेरो दुई जना दाई र मेरो एक जना साथी मिलेर सञ्चालन गर्नेछौं ।’

Advertisement

Advertisement