लोपोन्मुख बाजाहरु बनाएर नेपाली कला संस्कृति जोगाउँदै विश्वकर्मा, विदेशसमेत निर्यात

Advertisement

काठमाडौं । बाध्यबाधनका सामग्री निर्माण गर्दै आएका बागलुङका नाराणयराज विश्वकर्मा विगत छ वर्षदेखि यो पेशामा छन् । आफ्नो पुर्ख्यौली पेशा संकटमा पर्न लागेको बेला उनले आफ्नो पेशालाई निरन्तरता दिएका हुन् । 

नेपाली संस्कृति एंव मैलिकपन झल्काउने बाजाहरु निर्माण तथा बिक्री गर्दै आएका विश्वकर्मा बाध्यबाधनका सामग्री बनाउन आफ्ना दाईबाट सीप सिकेका थिए । 

Advertisement

यस्ता सामग्री निर्माणमा उनीसहित सात जना सक्रिया रहने गरेका छन् । नेपाली कला संस्कृति संकटमा परेको बेला त्यसलाई जोगाउन विश्वकर्माले भूमिका निर्वाह गर्दै आए पनि सरकार र सामाजिक संगठनहरुले उनको योगदानको कदर गर्न सकेको छैन् । 

विश्वकर्मा भन्छन्, ‘योगदानको कदर गरे पनि नगरे पनि मैले आफ्नो ठाउँमा रहेर राज्यलाई गर्नुसक्ने काम गर्दैआएको छु । यस व्यवसायबाट राम्रो आम्दानी अहिलेसम्म भएको छ ।’ नेपाली बाजाका सामग्री बिक्रीबाट उनले मासिक करिव दुई लाख रुपियाँ आम्दानी गर्ने गरेका छन् । 

विश्वकर्माले निर्माण गरेका सामग्री नेपालमा मात्रै नभएर विदेशमा समेत बिक्री गर्दै आएका छन् । नेपालमा मनाइने विभिन्न पर्व र परम्पराहरुमा नेपाली नेपाली बाजाहरू अधिक खपत हुने गरेको उनले सुनाए । विश्वकर्माले मादल, पञ्चेबाजा, खैंजडी, मजुरा, सारङ्गी, मुर्चुङ्गालगायतका लोप हुँदै गएका नेपाली लोक बाजाको निर्माण गर्ने गरेको बताए । 

उनले साउदी, मलेसिया, दुवई, कतार, अमेरिका अष्ट्रेलिया, जापान जस्ता देशमा पञ्चेबाजा सेट सारङ्गी, मादल धेरै मात्रामा जाने गरेको बताउँदै उनले पछिल्लो समयमा सारङ्गीको माग बढेको बताए । सारङ्गीका लागि जगंली सिसौको प्रयोग हुन्छ । एउटा सारङ्गी १५ हजार रुपियाँदेखि एक लाख रुपियाँसम्ममा बिक्री हुने गरेको छ । 

त्यस्तै, मादल तयार गर्न उत्तिसको काठ र बाख्राका छालाको छेउमा रहेको सानो ढोरीको लोता, गोरुको छालाको प्रयोग हुने गर्छ । साइजअनुसार मादलको एक हजार आठसय रुपियाँदेखि २५ हजार रुपियाँसम्ममा बिक्री हुने गरेको छ । 

सरकारले गोरुको छालाको आयात र बिक्रीलाई मान्यता नदिँदा मादल बनाउन कठिनाई हुने गरेको विश्वकर्माले बताए । उनले पञ्चेबाजा सेट तयार पार्न तामा, पित्तल, चाँदीको प्रयोग हुने बताउँदै उनले यस्तो सेटको एक लाख रुपियाँदेखि एक लाख ५० हजार रुपियाँसम्ममा बिक्री हुने गरेको बताए । 

देशका विभिन्न ठाउँमा रहेका संगीत सिक्ने सिकाउने संस्थाहरुले पनि आफ्नो कारखानाबाट लैजाने गरेको बताउँदै विश्वकर्माले दोहोरी साँझ रेष्टुरेन्टहरुले पनि बाजाका सामग्रीहरु किन्ने गरेको बताए । 

Advertisement

Advertisement