नेपालमा पनि लुगाको अन्तर्राष्ट्रिय ब्राण्ड स्थापित गर्न दुई उद्यमीले सुरु गरे ‘एभेरष्ट आउटफिट’

Advertisement

काठमाडौं । द नर्थ फेस, ब्ल्याक डायमण्ड, माउन्टेड हार्डवयर जस्ता ब्राण्डहरु विश्वकै महंगो पहिरनको रुपमा परिचित छन् । हिमाल आरोहण गर्दा, लामो यात्रामा जाँदा मात्रै नभएर धनीहरुले लगाउने प्रयोग गर्ने पहिरनको रुपमा यी ब्राण्ड परिचित छन् । 

यस्तै लोकप्रिय ब्राण्ड नेपालमा पनि उत्पादन गर्न दुई उद्यमीले पहल सुरु गरेका छन् । उनीहरुले  ‘एभेरष्ट आउटफिट’ ब्राण्डका ज्याकेटहरु उत्पादन गर्दै आएका छन् । विशेषगरी हिमाल आरोहणका क्रममा लगाइने एभरेष्ट आउटफिटका ‘माउन्टेन गियर’देखि ‘माउन्टिनियरिङ डाउन सुट’ विश्वस्तरका रहेको उनीहरुको भनाई छ । 

Advertisement

नेपालमा ‘एभेरष्ट आउटफिट’ ब्राण्डका पहिरनको उत्पादन सुरु गर्ने व्यवसायी हुन् माउन्टेन गाइड (हिमाली पथप्रदर्शक) पासाङ ग्याजेन शेर्पा र तेन्जिङ शेर्पा । अहिले यो ब्राण्ड नेपालमा मात्रै नभएर विश्वका धेरै मुलुकमा परिचित भई निर्यात समेत हुन थालेको छ । 

कसरी भयो ‘एभरेष्ट आउटफिट’को सुरुवात ? 
सन् २०१७ मा बनेको शेर्पाद्धयको यो अवधारणा कोभिड महामारी सुरु भएपछि उत्पादन सुरु भएको हो । विशेषगरी हिमाल आरोहण गर्न जाँदा र पदयात्रामा जाँदा स्वदेशी विदेशी पर्यटकले बाध्य भएर महंगो विदेशी ब्राण्डका ‘माउन्टेन गियर’ र ‘माउन्टिनियरिङ डाउन सुट’ किन्न बाध्य भएको देखेपछि नेपालमै त्योभन्दा गुणस्तरीय ब्राण्ड स्थापित गराउन पासाङ ग्याजेन शेर्पा र तेन्जिङ शेर्पा अग्रसर भएका थिए ।  
  
मण्डिखाटारमा सानो उद्योग खोलेर क्याप र टिसर्टबाट उनीहरुले सुरु गरेको ‘एभेरष्ट आउटफिट’ अहिले चर्चित विदेशी आरोहीहरुले समेत विश्वास गरेर लगाउने ब्राण्ड बनिसकेको छ । पासाङले भने, ‘सुरुमा हामीले स्टोर पनि नखोली प्रमोशन (प्रवर्द्धन) होस भनेर सस्तोमै क्याप र टिसर्टहरु बजारमा बिक्री गर्यौं । अहिले सशक्त ब्राण्डको रुपमा ‘एभेरष्ट आउटफिट’ आएको छ । हामी विदेशी ब्राण्डको एकाधिकार तोड्न र विदेशमा पनि नेपाली ब्राण्ड पुर्याउन सक्छौं भन्ने विश्वास मा पुगेका छौं ।’

उनले थपे, ‘पर्यटन क्षेत्रमा पनि कोभिडको निकै असर परेकाले त्यो बेला सबै समय, उर्जा क्लोथिङ (पोषक) ब्राण्डमा लगाएर सन् २०२० मा एभरेष्ट आउटफिट लन्च गर्न सफल भयौं । सन् २०१९ मा नै कम्पनी दर्ता गरिसकेका थियौं ।’

हिमाली पथप्रदर्शकको रुपमा डेढ दशक सँगसँगै काम गरेका पासाङ ग्याजेन शेर्पा र तेन्जिङ शेर्पा कोभिड महामारीले आफूहरुको सोच साकार बनाउन सहयोग गरेको बताउँछन् । दुवै जना ३६ बर्षका भए । सँगसँगै सगरमाथालगायतका हिमाल आरोहण गरेका शेर्पाद्धयको यो कम्पनीले हिमाल आरोहणमा जानेहरुको आवश्यकता र चाहनाअनुसारको ‘माउन्टेन गियर’ र ‘माउन्टिनियरिङ डाउन सुट’ डिजाइन गरी उत्पादन गरिदिन्छन् । 

अहिले अन्नपूर्ण–१ लगायतका हिमाल आरोहण गर्न नेपाली आएकी कतारी राजकुमारी शेखा आस्मा अल थानीलाई पनि एभरेष्ट आउटफिटकै ‘माउन्टेन गियर’ र ‘माउन्टिनियरिङ डाउन सुट’ तयार गरिएको पासाङले जानकारी दिए । उनले भने, ‘राजकुरमारीको सुट हामीले नै तेस्रो पटक तयार पारेका हौं । डिजाइन चाहिं राजकुमारीको डिजाइनरले नै गरेका हुन् । अरु बेलामा हामी दुई जना आफैले पनि डिजाइन गर्छौं ।’ 

एभरेष्ट आटफिट कम्पनीले तयार गरेका ‘माउन्टेन गियर’ र ‘माउन्टिनियरिङ डाउन सुट’ सजिलो, आरामदायी भएकोले राजकुरमारी थानीले रुचाइको पासाङको भनाई छ । उनीहरुले एभरेष्ट आउटफिटको ब्राण्ड एम्बेसडरमा विश्व कीर्तिमानी पर्वतारोही कामी रिता शेर्पा र गायक राजु लामालाई चयन गरेका छन् । 

‘एभरेष्ट आउटफिट’ नाम किन ?
नेपालमा रहेको सर्वोच्च शिखर सगरमाथा माउन्ट एभरेष्टको नामबाट विश्वभर परिचित छ । एभरेष्ट नामसँग जोडेर उत्पादनको नाम राख्दा विश्वमा चिनाउन सहज हुने शेर्पाद्धयको विश्वास रह्यो । पासाङले भने, ‘नेपालमा १९५० बाट हिमाल चढ्न सुरु भएको हो । सगरमाथाले नेपालको नामलाई मात्रै चिनाएको छैन्, हाम्रो शेर्पा समुदायको जीवनयापनमा पनि धेरै सहयोग मिलेको छ । हामी दुवै जना सगरमाथा क्षेत्रको हो । सगरमाथाप्रतिको मायाल
पनि प्रोडक्टको नाममा ‘एभरेष्ट’ जोडेको हो ।’ 

आफूहरुले बनाउने माउन्टेन गियर हिमाल चढ्दा राम्रो, सहज र गुणस्तरीय हुनुपर्छ भनेर विशेष ध्यान दिएको उनले बताए । पासाङले एभरेष्ट आउटफिटको स्टोर (पसल)मा हिमाल आरोहणमा लगाउने पोषक मात्रै नभएर समुद्र सतहसम्म लगाउन सकिने पोषकहरु पनि रहेको बताउँदै मानिसहरुले सामान्य जीवनमा लगाउने ‘लाइफ स्टाइल’का लुगाहरु पनि उत्पादन गर्न डिजाइन गर्न लागिएको जानकारी दिए । अहिले भने हिमालमा लगाउने कपडा बढी रहेको पासाङले बताए । 

एभरेष्ट आउटफिट ब्राण्को पहिलो आउटलेट काठमाडौंमा र दोस्रो लुक्लामा रहेको छ । तेस्रो नाम्चेमा खोल्ने योजना बनाइएको छ । यस्ता आउटलेट अन्तर्राष्ट्रियस्तरमा पनि खोल्ने योजना रहेको सुनाउँदै पासाङले विदेशबाट पनि माग बढ्न थालेकाले बाहिर पनि आउटलेट खोल्नुपर्छ भन्ने आफूहरुले सोच बनाएको बताए । 

गुणस्तरमा ‘नो’ सम्झौता 
एभेरष्ट आउटफिटका अर्का सञ्चालक तेन्जिङ शेर्पाले आफूहरुले पैसा कमाउने उद्देश्यले भन्दा पनि नेपाली ब्राण्ड विश्वस्तरमा स्थापित गर्ने उद्देश्यले ‘एभरेष्ट आउटफिट’को उत्पादन सुरु गरेको बताए । उनले भने, ‘पैसा धेरै कमाएर धनी बन्ने सोचले यो सुरु गरेको होइन् । नेपालमा पनि विश्वभरको ब्राण्ड बन्छ भनेर देखाउन खाजेको हो । सबैले किन्नसक्ने र राम्रो गुणस्तरको, सुरक्षाको हिसाबले पनि राम्रो ‘माउन्टेन गियर’देखि अरु प्रोडक्टहरु सुरु गरेका छौं ।’

आफूहरु माउन्टेन गाइड र माउन्टेनर इन्स्ट्रक्टर भएर काम गर्दा कमाएको पैसा आधै विदेशी ब्राण्डका महंगा सामान किन्दा सक्किने गरेकोले यस्ता सामान नेपालमै किन उत्पादन नगर्ने ? भन्ने सोच पलाएको शेर्पाले बताए । उनले भने, ‘हिमालमा लगाउने लुगा सस्तो किनेर भएन् । अन्तर्राष्ट्रिय ब्राण्डको किनुपर्यो । लुगाले राम्रो काम गर्नुपर्यो, सुरक्षाको हिसाबले । बाहिरको किन्यो, साह्रै महंगो । गाइड गरेर कमाएको आधा पैसा यस्तो कपडा किन्दैमा सकिन्ने । त्यो भएकाले नेपालमै त्यही क्वालिटिको सामान बनाउँ भन्ने सोच आयो हाम्लाई ।’

शेर्पाले कोरोना महामारी रोकथाम गर्न लकडाउन गर्ने क्रममा धेरै मान्छेहरु हाइकिङ, ट्रेकिङ जस्ता ‘आउटडोर एडभेन्चर’ (साहसिक यात्रा) जान रुची देखिन थालेको सन्दर्भमा उनीहरु हिमाली क्षेत्रको पदयात्रा र आरोहणमा पनि जान प्रोत्साहन मिलोस, जाने हुँदा लगाउने कपडाको मूल्य सुनेर तर्सिने अवस्था नआओस् भनेर एभरेष्ट आउटफिट सुरु गरेको बताए । 

उनले भने, ‘विदेशी ब्राण्डहरुले जुन प्रविधिको प्रयोग गरेको छ, जुन विशेषताको छ, हामीले बनाएको उत्पादन पनि त्यही हो । तर त्योभन्दा सस्तो मूल्य, औसत मूल्यमा निकाल्ने हाम्रो प्रयास रहेका छौं । यसले अन्तर्राष्ट्रिय ब्राण्डको जस्तै काम गर्छ ।’ 

मान्छेहरुले ब्राण्डमा विश्वास गर्ने भएमाले आफूहरुले पनि गुणस्तरीय ब्राण्ड स्थापित गर्न खाजेको हो भन्दै उनले फयाब्रिक ८० प्रतिशत चीनबाट र २० प्रतिशत ताइवानबाट तथा कपास भारतबाट ल्याएर सामान उत्पादन गर्ने गरेको बताए । नियमहरु परिवर्तन भइरहने र काम गराउन पनि गाह्रो हुने भएकाले नेपालमा व्यवसाय गर्न निकै कठिन रहेको अनुभव सुनाए । 

Advertisement

Advertisement