अर्थसचिवको अप्रिय र ‘बोल्ड’ निर्णयः स्थानीय तह र प्रदेशलाई जाने रु. दुई खर्ब ४० अर्ब रोक्का

Advertisement

काठमाडौं। अर्थसचिव तोयम रायले अर्को साहसिक निर्णय गरेका छन् । उनीले प्रदेश र स्थानीय तहमा जाने ठूलो रकम कटौती गर्ने अप्रिय निर्णय गरेका हुन् ।

सचिव रायले अर्थमन्त्री प्रकाशशरण नियुक्ति भएर आउनुअघि नै चैत १२ गते प्रदेश र स्थानीय तहमा जाने सशर्त अनुदानको दुई खर्ब ४० अर्ब ८९ करोड रुपियाँ रोक्का गर्ने निर्णय गरेका हुन् । अब दुबै तहले कार्यप्रगतिको आधारमा मात्रै अनुदान प्राप्त गर्नेछन्। महालेखा नियन्त्रकको कार्यालयले शुक्रबार सबै कोष तथा नियन्त्रक कार्यालय (कोलोनिका)लाई पत्राचार गरिसकेको छ।

Advertisement

विनियोजन ऐन २०७९ को दफा ४ बमोजिम प्रदेश लाई सशर्त अनुदान वापत ५७ अर्ब १७ करोड र स्थानीय तहलाई एक खर्ब ८३ अर्ब ७२ करोड रुपियाँ विनियोजन गरिएको थियो । यस्तो रकमलाई अर्थ मन्त्रालयले चार किस्तामा विभाजन गरी खातामा राखिदिने गरेको छ।

सशर्त अनुदानको मात्रै यो बर्ष अर्थ मन्त्रालयले एक किस्तामा ६० अर्ब प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्नुपथ्र्यो । ऐन अनुसार अर्थले भदौ २ कार्तिक २ माघ २ र बैशाख २ मा हस्तान्तरण गर्नुपर्ने हुन्छ । यसरी हस्तान्तरण भएको रकम खर्च विवरण कार्तिक १ गते माघ १ गते बैशाख १ गते र साउन मसान्तभित्र केन्द्रबाट हस्तान्तरण भएको सबै रकमको विवरण बुझाउनु पर्नेछ।

विनियोजन ऐनको उपदफा ४ मा विपद वा कुनै असामान्य परिस्थिति उत्पन्न भई लक्ष्यअनुरुप राजस्व संकलन हुन नसकेमा पहिलो किस्ता बाहेकको अन्य किस्ता संकलित राजस्वको अनुपातमा पुनः निर्धारण गर्नसक्ने व्यवस्था गरेको छ ।

यसै उपदफालाई टेकेर सचिव रायले ठूलो निर्णय लिएका हुन् । चालु वर्ष राजस्व संकलनमा सरकारलाई ठूलो धक्का लागेको छ । राजस्व संकलन ५० वर्ष यताकै खराब लयमा छ । यसैले अर्थ मन्त्रालयले खर्च कटौतीको विविध उपाय निकालिरहेको छ।

ऐनअनुसार सरकारले बैशाख २ गते ६० अर्ब भन्दा बढी वित्तीय हस्तान्तरण गर्नुपर्नेछ। सो रकम अपुग भएपछि अर्थले खर्च कटौतीको निर्णय गरेको हो । खर्च कटौतीको पछिल्लो निर्णय अनुसार अब प्रदेश र स्थानीय तहले आफ्नो खर्च क्षमता या खर्च विवरणको बलियो विवरण पेश गरेर मात्रै रकम प्राप्त गर्नेछ ।

कार्यालयको तथ्यांकअनुसार शनिवारसम्म आठ खर्ब ३६ अर्ब खर्च भएको छ। यस्तै सबै शीर्षकमा छ खर्ब ५५ अर्ब प्राप्ती गरेको छ। यसरी सरकारले आम्दानीको तुलनामा एक खर्ब ८१ अर्ब रुपियाँ धेरै खर्च भइसकेको छ। अहिले खर्च धान्नका लागि सरकारले आन्तरिक ऋणको साहारा लिइरहेको छ ।

मन्त्रालयले केही दिनअघि प्रदेश सरकारको निशर्त अनुदानको करिब ११ अर्ब रुपियाँ रोक्का गर्ने निर्णय गरेको थियो। यस्तै केन्द्र सरकारको मन्त्रालयको चालु खर्च समेत कटौतीको निर्णय गरेको थियो । सचिव रायले अब कठोर निर्णय नगरे स्थिति भयवह हुने बताइसकका छन् । 

उनले सचिव भएयता थुप्रै खर्च कटौतीको अप्रिय निर्णय गरिसकेका छन्।  

Advertisement

Advertisement