पुर्ख्यौली पेशा बचाउन काष्ठकलामा लाग्दै आएका भक्तपुरका गणेशमान राचलको कथा

Advertisement

काठमाडौं । पुख्यौली पेशालाई अंगाल्दै आएका भक्तपुरका गणेशमान राचलले ‘भक्तपुर उड क्राफ्ट’मार्फत काठका नयाँ तथा पूराना एक हजार भन्दा बढी सामग्री निर्माण तथा बिक्री  गर्दै आएका छन् ।  

सोह्र बर्षको उमेरदेखि काठका कलाहरु कोर्दै आएका उनले बाबुले गर्दै आएको पेशालाई निरन्तरता दिन काष्ठकलामा लागेको बताए । राचलले यस व्यवसायबाट मासिक करिव पाँच लाख रुपियाँ आम्दानी गर्दै आएका छन् । 

Advertisement

बाबुले आफूलाई काठका सामग्रीहरु निर्माण गर्ने सीप सिकाउँदै आएको बताउँदै उनले दुई पुस्ताले सञ्चालन गर्दै आएको व्यवसायलाई अब छिटै तीन पुस्तासम्म पुर्याउने राचलले बताए । उनको पारिवारिक आम्दानीको स्रोत भनेकै काष्ठकला हो । 

राचल परिवारले निर्माण गरेका काठका सामग्रीको मूल्य तीन सयदेखि एक लाख १० हजार रुपियाँसम्म पर्नेछ । उनले भने, ‘एउटा काठको मुढाबाट चार महिनाको समय लगायर गणेशको मूर्ति निर्माण गरेको छु । यो मूर्ति एक लाख १० हजार रुपियाँमा बिक्री गर्नेछु । काठको मूल्य होइन, कला र सीपको मूल्य लिने गरेको छु ।’

राचलले घरका झ्याल ढोकाको पनि बुट्टा भर्छन् । उनले एउटा बुट्टा भरिएको झयालको चार लाख रुपियाँसम्म मूल्य पर्ने उनले बताए  । कदम, सिसौ, सल्ला, सालको काठबाट कलात्मक सामग्री निर्माण गर्दै आएका राचलले काठ तराईबाट ल्याउने गरेका छन् ।
 
फ्रान्स, चीन, मलेसिया, सिङ्गापुर, भारत लगायत देशमा आफ्ना काष्ठकलाका सामग्री प्रर्दशनी गर्दै आएको राचलले अब डेनमार्क जाने तयारी गरिरहेको बताए । विभिन्न  जिल्लामा हुने मेलामा पनि आफू सहभागी हुने गरेको उनले बताए । 

नेपाल हस्तकला महासंघका केन्द्रीय सदस्यसमेत रहेका राचल भत्तmपुर साना उद्योग संघको कार्यसमिति सदस्य,नेपाल काष्ठकला संघको साधारण सदस्य छन् । नेपालमा रहेका पूराना मठमन्दीरमा रहेका झ्याल ढोकामा कुँदिएका कला र नेपाली संस्कृति हेर्न विदेशी पर्यटकहरु नेपाल आउने गरेको उनले बताए । 

राचलले भने, ‘नेपाल कला संस्कृतिमा धनी छ । विदेशी पर्यटकहरु नेपाल आउनुको एउटा उद्देश्य यही कला संस्कृति हेर्न पनि हो ।  विदेशी आउँदा देशको आय बढ्छ । तर काष्ठकलाको संरक्षण गर्न सरकारले नै चासो दिएको छैन् । काष्ठकलाका सामग्रीको बिक्री वितरणबाट नेपालको आय स्रोत बढ्नसक्छ । तर यो क्षेत्रको विकास लागि बजेट छुट्टाएको छैन् । राज्यले बेवास्ता गर्दा सीप नै मर्ने हो कि ? भन्ने डर लाग्न थालिसक्यो ।’ उनले नेपाली मौलिक कलाहरुलाई बचाउन युवाहरुलाई सरकारले तालिम नै दिनुपर्ने बताए । 

Advertisement