विषम परिस्थितिमा अर्थव्यवस्था जोगाउन रेमिट्यान्स पठाउने राष्ट्रप्रेमी नेपालीलाई नमनः गभर्नर

Advertisement

काठमाडौं । एकै महिनामा एक खर्ब चार अर्ब रुपियाँ रेमिट्यान्स् भित्रिएपछि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी खुशी भएका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै उनले यो समयमा उल्लेख्य रुपमा रेमिट्यान्स भित्रिनु ठूलो सफलता भएको बताए । 

चालु वर्षको पहिलो आठ महिनासम्म औषतमा ९९ अर्बको दरले रेमिट्यान्स भित्रिएको छ भन्दै अधिकारीले भने ‘रोजगारीका लागि विदेश गएका राष्ट्रप्रेमी नेपालीप्रति मेरो नमन छ । धन्यवाद छ । देशको अर्थ व्यवस्था जोगाउन तपाईंहरुको योगदान ठूलो छ ।’

Advertisement

गतवर्ष २०७८–७९ मा वैदेशिक मुद्राको संचिति घटेर निकै कठिन अवस्था सिर्जना भएको गभर्नर अधिकारीको भनाई छ। अहिलेको वैदेशिक मुद्राको सञ्चितिबाट ९ महिनाको आयात धान्न पुग्ने राष्ट्र बैंकको अनुमान छ । बैंकले चालु वर्षको मौद्रिक नीतिमा ७ महिनाको आयात धान्न पुग्ने विदेशी मुद्रा संचिति राख्ने लक्ष्य लिएको छ। अहिले लक्ष्यभन्दा २.४ महिना बढिको आयात धान्न पुग्ने विदेशी मुद्राको मौज्दात छ ।

गभर्नर अधिकारीले थपे ‘श्रीलंकाको अवस्था कस्तो भयो ? पाकिस्तानको कस्तो छ ? हामीले देखेकै छौं । तर हामीले अहिले औषधि किन्न पाएकै छौं । निर्माण सामग्री किन्न पाएकै छौं । इन्धन सजिलै पाइएकै छ।’

यसमा विदेशमा रहेका नेपालीको ठूलो योगदान रहेको गभर्नर अधिकारीको भनाई छ ।

Advertisement

Advertisement