अजोड–युनाइटेड मर्जरः चौधरी समूहले सम्झौताविपरित सीईओ र अध्यक्ष दुवै माग्यो, एसके भित्रिए

Advertisement

काठमाडौं । अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योेरेन्स मर्जरमा जाने अन्तिम तयारीमा रहेका बेला चौधरी समूहले मर्जरपछि बन्ने कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) र अध्यक्ष दुवै आफ्नो हुनुपर्ने शर्त अघि सारेको छ । 

चौधरी समूहको मुख्य लगानी रहेको यूनाईटेड इन्स्योरेन्स र भाटभटेनी समूहको मुख्य लगानी रहेको अजोड दुई सातापछि एकीकृत कारोबार सुरु गर्ने तयारीमा छन् । अजोडका हालका सीईओ कुमारबहादुर खत्रीलाई नयाँ कम्पनीको सीईओ बनाउने सम्झौता भए पनि पछि चौधरी समूहले सीईओसम्ेत आफ्नो हुनुपर्ने शर्त अघि सारेपछि मर्जर प्रक्रिया ढिलो भएको थियो । 

Advertisement

मर्जरका लागि नेपाल बीमा प्राधिकरणले दिएको समय घर्किन लागेपछि भाटभटेनी समूह सीईओ पनि चौधरी समूहलाई दिन राजी भएको छ । मर्जरपछि बन्ने युनाइटेड अजोड इन्स्योरेन्सको सीईओ बन्ने खत्री हुने भनिए पनि पछिल्लो सम्झौताअनुसार खत्रीलाई वरिष्ठ डेपुटी सीईओ बनाउने र सीईओ भने चौधरी समूहले अघि सारेका एसके रावललाई बनाउने सहमति भएको छ । 

रावललाई नयाँ कम्पनीको सीईओ बनाउन हालको युनाइटेडको सीईओ नियुक्त गरिएको छ । यसअघि उक्त कम्पनीमा निमित्त नवीन सुवेदीले कम्पनी सञ्चालन गर्दै आएका थिए । सुवेदीलाई पनि यसअघि वरिष्ठ डेपुटी सीईओ दिने आश्वासन दिइएको छ । मर्जरपछिको कम्पनीमा सीईओ पाउने आशामा रहेका अजोडका सीईओ खत्रीलाई पछिल्लो घट्नाक्रम र निर्णयले नैतिक संकटमा पारेको छ । 

चौधरी समूहले पूर्वसहमतिविपरित नयाँ नयाँ शर्त राख्दै जाने र यता प्राधिकरणले पनि चाँडै मर्जर सक्न दबाब दिने कुराले आफूहरु चेपुवामा परेको अजोडका सञ्चालक र संस्थापक शेयरधनीहरुको भनाई छ । यसअघि नै हुन लागेको मर्जर चौधरी समूहका एकपछि अर्को शर्तले गर्दा ढिलो हुन पुगेको उनीहरुको गुनासो छ । 

प्राधिकरणले पनि एउटा कम्पनीलाई सीईओ र अर्को कम्पनीलाई सञ्चालक समिति अध्यक्ष दिनेगरी सहमत गर्न सुझाव दिँदै आएको थियो । तर चौधरी समूहको शर्तका अगाडि प्राधिकरण र अजोड समूह दुवै झुक्न तयार भएका छन् । बीमा कम्पनीमा ९० दिनभन्दा लामो समय सीईओ पनि रिक्त राख्न नमिल्ने कानुनी व्यवस्था हुँदाहुँदै पनि युनाइटेडमा उक्त समयभन्दा निकै लामो समयदेखि सीईओ पद रिक्त रहँदै आएको छ । मर्जर प्रक्रियामा जाने लागेकाले भन्दै प्राधिकरणले युनाइटेडलाई अहिलेसम्म सो कुरामा कुनै कारवाही गरेको छैन् । 

प्राधिकरणले अब बन्ने युनाइटेड अजोडको सीईओको जिम्मेवारी एसके.रावललाई दिने तयारी भइसकेको बताएको छ । रावल तत्कालिन प्रुडेन्सियल इन्स्योरेन्सका सीईओ हुन् । उक्त कम्पनी मर्जरमा गएपछि रावल बेरोजगार थिए । यही बीचमा उनले कुमारबहादुर खत्रीलाई विस्थापित गरी सो ठाउँ आफ्नो लागि सुरक्षित गर्न सफल भएका छन् । 

चौधरी समूहले गर्दा रावललाई नयाँ कम्पनी खोज्न धेरै दौडधुप गर्नुनपरेको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । आईएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल मर्जरमा जाँदा रावल वरिष्ठ डेपुटी सीईओ हुने भनिए पनि एकीकृत कारोबारको दिन उनी राजीनामा दिएर बाहिरिनुको अर्थ युनाइेड अजोडमा सीईओ पक्का भएकैले हुनसक्ने पौडेलले बताए । 

युनाइटेडमा चौधरी समूहको बीमा दावीसम्वन्धी ठूलो रकमको विवाद कायमै रहेको छ । सो विवाद सुरक्षित ढंगले व्यवस्थापन गर्न पनि सो समूहले आफूले सतप्रतिशत विश्वास गरेको मानिस खोजेको हुनसक्ने देखिन्छ । कुमारबहादुर खत्री मिनबहादुर गुरुङलगायतसँग नजिक रहेर काम गर्दै आएकाले उनलाई चौधरी समूहले पूर्ण विश्वास गर्ननसकेको हुनसक्छ । 

सञ्चालक र सीईओमा स्वार्थ बाझिने किसिमले युनाइटेड र अजोडबीच मर्जर प्रक्रिया अघि बढाइएको भन्दै आलोचना भइरहेको बेला प्राधिकरणले भने मर्जर आफैमा मिलेमतो कै एउटा रुप भएकाले सम्बन्धित कम्पनीले गम्भीर असन्तुष्टि नजनाएसम्म आफूहरुले कुनै हस्तक्षेप गर्न नसक्ने तर्क गरेको छ । कार्यकारी निर्देशक पौडेलले मर्जर प्रक्रियामा प्राधिकरणले हस्तक्षेप गर्नुपर्ने ढंगको स्थिति नरहेको बताए । 

Advertisement

Advertisement