आयकर र भ्याट यथावतः भन्सार महसुल र अन्तशुल्कमा व्यापक हेरफेर हुँदै

Advertisement

काठमाडौं । सोमबार प्रतिनिधि सभा र राष्ट्रिय सभाको दुबै सदनमा प्रस्तुत हुने आगामी आवको बजेट निर्माण अन्तिम चरणमा पुगेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले राजस्वका दर टुङग्याएसँगै बजेटको काम सबै सकिनेछ।

आगामी वर्ष राजस्वका दर सम्बन्धि मोटामोटी विषय टुङगिसकेको छ । जसअनुसार व्यक्तिग आयकर र संस्थागत आयकरको विषय यथावत रहने भएको छ । चालु आर्थिक वर्षमा आयकरको दरमा हेरफेर भएको थियो । यस्तै मूल्य अभिवृद्धि कर (भ्याट) को दर पनि यथावत रहनेछ । हाल १३ प्रतिशतका दरले भ्याटको दर कायाम हुँदै आएको छ ।

Advertisement

भ्याट र आयकर दर आर्थिक ऐन २०८० मा यथावत रहँदा भन्सार महसुल र अन्तशुल्कमा व्यापक हेरफेर गरिने भएको छ । भन्सार महसुल र अन्तशुल्क आफ्नो पक्षमा पार्न व्यवसायीहरु चर्को लविङमा लागेका छन् ।

अन्तशुल्क र भन्सार दर परिवर्तन हुँदै
आगामी वर्ष भन्सार महसुल र अन्तशुल्कको दर परिवर्तन हुने भएको छ । कर दर आफ्नो पक्षमा पार्नका लागि व्यावसायीहरुले चर्को लबिङ गरिरहेका छन् । करको दर प्रत्येक वर्ष विवादको विषय बन्ने गरेको छ । पूर्वअर्थमन्त्री जनार्दन शर्माले चालु वर्षको बजेटमा जथाभावी कर दर चलाउँदा विवादित बनेका थिए ।

शर्माले बिगारेको प्रणालीलाई ठीक स्थानमा ल्याउन मन्त्री महतमाथी चुनौति छ । स्वदेशी उद्योग संरक्षणका नाममा मन्त्री शर्माले करका दरहरु व्यापक हेरफेर गरिदिएका थिए ।

शर्माले ल्याएको बजेटको चर्को विरोध गर्ने सहसचिव भूपाल बराल अहिले बजेट निर्माण टिमको संयोजक छन् । यस्तै गत बिहिबार मात्रै मन्त्री महतले आन्तरिक राजस्व विभागका पूर्वमहानिर्देशक शोभाकान्त पौडेललाई अर्थ मन्त्रालय लगेका छन् । सहसचिव पौडेल पनि शर्माले ल्याएका बजेटको चर्को विरोधी हुन् । सहसचिव पौडेल विभाग महानिर्देशक रहँदा पुर्वमन्त्री शर्माले आयकरको दफा बिक्री गरी अनुचित लाभ लिएको आरोप लगाउँदै आएका छन् ।

मन्त्री महतले मन्त्रालयका राजस्व सचिव तथा सहसचिवहरुलाई अविस्वास गर्दा राजस्व बुझेका सहसचिव पौडेलाई मन्त्रालय लगेका छन् । सहसचिव पौडेल पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठ निकटका सहसचिव हुन् । उनले विगतमा जनार्दन शर्माले गरेको गल्तिलाई सच्याउने अनुमान गरिएको छ ।

गतवर्ष शर्माले जथाभावी करको दर चलाएर रुष्ट बनेका सहसचिव बराल र पौडेलले आज बेलुकी हुने राजस्वको दर हेरफेरलाई फाइनल गर्नेछन् ।

आगामी वर्षको बजेट आयातमुखी अर्थतन्त्रलाई सहयोग पुग्नेगरी बनाइएको छ । यसकारण पनि धेरै राजस्व प्राप्त हुने वस्तुहरुलाई धेरै आयात गर्न सहजिकरण गरिनेछ। भन्सारमा धेरै राजस्व असुल हुने मध्येको पाम, सोयाबिन र सुर्यमुखी तेलमा भन्सार महसुल शर्माका पालामा १० प्रतिशतबाट १ प्रतिशतमा झारिएको छ । यो शीर्षकमा मन्त्रालयले भन्सार महसुल बढाउने तयारी गरेको छ । तर व्यवसायीहरु भने महसुल बढाउन नहुने पक्षमा छन्।

भन्सार महसुल घटाए पनि व्यावसायीहरुले चर्को नाफा खाएर खानेतेल उपभोक्तालाई बिक्री गर्दै आएका छन् । नेपालमै उत्पादन हुने विविध सामाग्रीहरु जुन विदेशबाट आयात हुँदै आएका छन्। यस्ता वस्तुहरुमा उच्च भन्सार महसुल लगाउने तयारी गरिएको छ । धेरै आयात हुने मध्येमा पर्ने मोटरसाइकलमा पनि कर दर हेरफेरको तयारी मन्त्रालयले गरेको छ ।

यसैगरी महालेखा परीक्षकको कार्यालयले पनि दुई पाङग्रे सवारीको एसेम्बलमा उपलब्धि नभएको देखाएको छ । चालु वर्षमा अन्तशुल्क छुट बढाएर २५ देखी ५० पुर्याइएको थियो । यो अन्तशुल्क छुटलाई पुनः २५ प्रतिशतमै ल्याउने तयारी मन्त्रालयको छ ।

यद्यपी अटोमोबाइल एशोसिएन अफ नेपाल (नाडा) ले भने विज्ञप्ती नै निकालेर कर छुट कटौति गर्न नहुने धारणा सार्वजनिक गरेको छ । 

विषेशगरी राजस्वको दर आफ्नो पक्षमा पार्न सवारी बिक्रेता र स्टील बिक्रेता व्यावसायीबीच आन्तरिक द्धन्द छ। पेट्रोलियम गाडीमा कर बढ्दै जादाँ विद्युतीय गाडीमा भने घट्दै गएको छ । यसले गाडी बिक्रेता बिचमै चर्को प्रतिस्पर्धा देखिएको छ । यसैगरी स्टिल बिक्रेता उद्योगीबीच पनि भट्टी हुने र भट्टी नहुनेबीच चर्को प्रतिस्पर्धा देखिएको छ ।   

आर्थिक गतिविधिलाई बढावा दिन आयात वृद्धि गर्ने गरी बजेट निर्माण भएको अर्थमन्त्रीका आर्थिक सल्लाहकार विश्व पौडेलले बताए । उनले कर्पोरेट नेपालसँग भने ‘राजस्व कम संकलन हुनुमा भन्सारमा केहि समस्या देखिन्छ, बजेटले भन्सार महसुल बढ्ने गरी नीति लिनेछ।’

सल्लाहकार पौडेलका अनुसार आगामी वर्ष रेमिट्यान्सले साथ दिने अनुमान गरिएको छ । यसबाट उपभोग बढार्इ अर्थतन्त्रलाई चलायमान बनाउने अनुमान गरिएको छ ।  

Advertisement

Advertisement