नेपालगञ्ज सुख्खा बन्दरगाह र विराटनगरसम्मको रेलवे सेवाको दाहाल र मोदीद्धारा उद्घाटन

Advertisement

काठमाडौं । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालगञ्ज सुख्खा बन्दरगाह र भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेलवे सेवाको बिहीबार उद्घाटन गरेका छन् । 

दाहालको भारत भ्रमणका क्रममा आज आयोजित पत्रकार सम्मेलनमा संयुक्तरुपमा यो उद्घाटन गरिएको हो । बाँकेमा भारतको सहयोगमा निर्माण गरिएको व्यापार पूर्वाधारको उद्घाटन भएको छ । उद्घाटनसँगै भारततर्फबाट नेपाल आएका कन्टेनर नेपाली सुख्खा बन्दरगाह प्रवेश गरेका थिए ।

Advertisement

नेपाल भित्रिएका कन्टेनरलाई सुख्खा बन्दगाहको सञ्चालन तथा व्यवस्थापन गर्ने नेपाल इन्टरमोडल यातायात विकास समितिका पदाधिकारी र कर्मचारीले स्वागत गरेका थिए ।

करिब १५ वर्ष अघिदेखि भारत सरकारको सहयोगमा निर्माणाधीन सुख्खा बन्दरगाह आजबाट सञ्चालनमा आएको हो । यस्तै, बथाहादेखि विराटनगरसम्मको रेलवे र कार्गो रेलको उद्घाटन स्विच थिचेर गरियो । 

विराटनगरको एकीकृत भन्सार जाँच चौकी (आईसीपी)सम्म आइपुग्ने मालवाहक रेलले आरती स्ट्रिप्स, स्वस्तिक रोलिङ, हुलास वायर र प्रिमियर स्टिल उद्योगको कच्चा सामग्री ल्याउनेछ ।

भारतको बथनाहाबाट विराटनगरको आईसीपी रेलवे स्टेसनसम्म बिछ्याइएको आठ किलोमिटर रेलमार्गमा २०७५ कात्तिक ८ गते रेल सञ्चालनका लागि परीक्षण भएको थियो । यस परियोजनामा कार्गो सेवा तत्काल सञ्चालन भए पनि रेल सेवा भने पछि मात्रै सञ्चालन हुनेछ । 

कुल १८.१ किलोमिटर रेलवेको निर्माण सन् २०११ मा सुरु भए पनि हाल बथनाहबाट बुधनगरसम्म आठ किलोमिटर मात्रै निर्माण भएको छ र बाँकी आठ किलोमिटरमा संरचना तयार भइरहेको जनाइएको छ । 

Advertisement

Advertisement