टिकाथलीमा ८० लाख लगानीमा ‘भाजु तरकारी तथा फलफूल बजार’ खुल्दै, के के छन् सुविधा ?

Advertisement

ललितपुर । टिकाथलीमा ८० लाख रुपियाँ लगानीमा ‘भाजु तरकारी तथा फलफूल बजार’ सञ्चालनमा आउने भएको छ । बजारको सञ्चालक आदिल महर्जन हुन् । 

उनले आफ्ना हजुरबुबाको नाम ‘भाजु’बाट तरकारी तथा फलफूल बजारको नामाकरण गरेका हुन् । उमेरले जम्मा २९ वर्ष भएका महर्जनका बुबा र भाई वैदेशिक रोजगारीमा छन् । बुबा र भाई विदेशिए पनि आफू भने नेपालमै केही गर्छु भनेर लागेका आदिल महर्जन लागेका छन् । उनी युवाहरुका लागि आफू एक उदाहरण बन्न चाहान्छन् । 

Advertisement

निर्माण कार्यमा कुनै समस्या नआए असार २० गतेदेखि बजार सञ्चालनमा ल्याउने महर्जनको योजना छ । जग्गा भाडामा नलिई आफै ३० आना जग्गामा फलफूल तथा तरकारी बजार सञ्चालन गर्न लागेका उनले आफ्ना व्यापारी तथा ग्राहकको १५ वटा गाडी र ६० वटा मोटरसाईकल अट्ने पार्किङको व्यवस्था समेत गरेका छन् । 

बजारभित्र ७० वटा स्टल तयार पारिएको छ । त्यसअन्तर्गत तरकारी तथा फलफूलका लागि मात्र नभई होटल, प्यास्टिकका भाँडा, मसलाका सामग्री र बजारको कार्यलय राखिने छ ।

बजारमा स्टल राख्ने व्यापारीहरुले एक लाख रुपियाँ धरौटी राख्नुपर्ने हुन्छ । निर्माण अवधिभित्रै बुकिङ गर्ने व्यापारीका लागि ५० प्रतिशत छुटको व्यवस्था गरेका महर्जनले १६ वटा स्टल बुकिङ  भइसकेको जानकारी दिए । 

प्रतिस्टल भाडादर मासिक पाँच हजारदेखि १५ हजार रुपियाँसम्म कायम गरिएको छ । तरकारी र फलफूलका लागि छुटाछुटै स्टल रहनेछन् । आलु प्याजका लागि तीन वटा, लसुन र अदुवाका लागि एउटा, होटलका लागि एउटा, कागती र च्याउका लागि दुई वटा, मसलाका लागि दुई वटा, गेडागुडीका लागि दुई वटा, फलफूलका लागि छ वटा स्टल रहने छन् । बाँकी स्टल के के राख्ने ? अध्ययन भइरहेको महर्जनले जानकारी दिए । 

बजारभित्रका व्यापारीहरुका लागि पानी, बिजुली, शौचालय, सुरक्षाकर्मी, सरसफाइ र सीसीटीभीबाट अनुगमनको सुविधा उपलब्ध हुने बताउँदै उनले बजार बिहान ३ बजेदेखि बेलुका ८ बजेसम्म खुल्ने बताए । 

महर्जनले बजार विशेषगरी लुभु, सानागाँउ, लामाटार, टिकाथलीका किसान र व्यापारीलाई लक्षित गरी सञ्चालन गर्न लागिएको जानकारी दिए । उनले भने, ‘यसले किसानले उत्पादन गरेका तरकारी बिक्री गर्न टाढा जानुपर्दैन् ।’ काठमाडौं र ललितपुरका बासिन्दाले पनि ताजा र अर्गानिक तरकारी खान पाउँछन् । आफ्नो लागि मात्रै नभएर स्थानीय किसान र व्यापारीका लागि पनि केही आम्दानीको बाटो होस् भनेर तरकारी तथा फलफूल बजार सञ्चालन गर्न आफ्नै जग्गामा लगानी गरेको हुँ ।’

Advertisement