एमडीएमएस मोवाइलका ग्राहकको सुविधा र सुरक्षाका लागि हो, तर गलत प्रचार गरियोः खनाल

Advertisement

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरण (एनटीए)का अध्यक्ष पुरुषोत्तम खनालले मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) ग्राहकहरुको सुरक्षा र सहजीकरणको लागि ल्याएको बताएका छन् । 

मोवाइल फोन आयातकर्ता संघ र मोवाइल बिक्रेता संघले आइतबार आयोजना गरेको कार्यक्रमाम उनले मोवाइलको चोरी पैठारीले गर्दा राज्यलाई नकारात्मक असर परेको बताए । सीमा नाकाबाट मोवाइलको कालोबजारी हुने र दर्ता नगरी चलाउने गरेको बताउँदै खनालले त्यसलाई रोक्न सरकारले बजेटमार्फत आगामी असारबाट दर्ता नगरको मोवाइल फोनहरु नचल्ने घोषणा गरिसकेको बताए । 

Advertisement

बजेटले घोषणा गरेको र एमडीएमएस पूर्णरुपमा लागू हुन लागेको बेलामा प्राधिकरणले पनि सरोकारवाला निकायहरुसँग छलफल चलाइरहेको बताए । उनले भने, ‘अहिले हाम्रो अधिकांश सूचनाहरु मोवाइल फोनमा हुन्छ । मोवाइल हराउँदा हामीलाई ठूलो आपत पर्छ । सिम कहाँ पुग्छ ? कुन मोवाइलमा राखेर चलाइन्छ ? भन्ने आधारमा नै हराएका मोवाइल भेटिन्छन् । कतिपयले सिमा पारी लगेर बेच्ने गरेका पनि छन् । चोरीका फोनहरु प्राधिकरणले नै रोक्न सक्छ । फोन दर्ता गराएको छ भने उपभोक्ताहरुलाई धेरै मर्का पर्दैन् ।

अध्यक्ष खनालले ‘ग्रे मार्केट’ (कालोबजारी)बाट नेपालमा अनुमति नदिएका मोवाइल सेट पनि आउने गरेको बताए । आफूहरुले त्यस्ता गैरकानुनी मोवाइलको आयात रोक्न एमडीएमएस लागू गरेको तर प्राधिकरणले कर उठाउन लागू गर्यो भनेर गलत प्रचार गरिएको बताए । 

खनालले भने, ‘एनटीए कर उठाउने भन्सार वा राजस्व जस्तो निकाय होइन । तर, एउटा नागरिक भएको नाताले हामीले राज्यलाई कर बुझाउनु हाम्रो दायित्व पनि हो । अहिले केही ठूला व्यापारिक घरानालाई फाइदा गराउन एमडीएमएस ल्याइएको पनि भनिन्छ । वास्तविकता त्यस्तो होइन । निश्चय पनि होइन । तपाईंहरुले पनि कुनै पनि व्यवसाय गर्दा कर तिर्नुपर्छ । यो कसैलाई निशेष गरेर छुट दिइएको विषय होइन । यही नियममा टेकेर जस्ले पनि व्यवसाय गर्न सक्छ ।’ 
 
उपभोक्ताले प्राधिकरणमा जानुनपर्ने गरेर प्राधिकरणले एमडीएमएसमा दर्ताको सुुविधा दिने काम गरिरहेको खनालले बताए । उनले थपे, ‘एमडीएमएस ल्याउनुको उद्देश्य नै ग्राहकलाई सहज होस् भने हो । ग्रे वा ब्याक मार्केट, कालोबजारी रोक्न सक्ने हामी भएका छौं । यसले पक्कै पनि समाजलाई सही योगदान पुर्याउँछ भन्ने मलाई लागेको छ ।’ 

Advertisement