एमडीएमएस लागू भएर मोवाइल फोनको मूल्य बढ्ने होइन्ः मल्होत्रा, अवैधका धेरै जोखिम

Advertisement

काठमाडौं । अग्रणी मोवाइल व्यवसायी दीपक मल्होत्राले मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)को बारेमा भ्रम फैलाउने काम भएको बताएका छन् । 

मोवाइल फोन आयातकर्ता संघ र मोवाइल बिक्रेता संघले एमडीएमएसबारे आइतबार गरेको छलफल कार्यक्रममा उनले एमडीएमएसबारे सही सुचना प्रवाह हुन नसक्दा जनतामा भ्रम सिर्जना भएको बताए । मल्होत्रा आयातकर्ता संघका अध्यक्ष पनि हुन् ।  

Advertisement

उनले नेपालमा मोबाइल सेटको गैरकानूनी बिक्री वितरणलाई व्यवस्थित गर्न एवं चोरी भएका तथा हराएका मोबाइलको पत्ता लगाउन एमडीएमएस सहयोगी हुने बताए । मानव जीवनमा गाँस, बास र कपास पछिको अति महत्वपूर्ण वस्तुको रुपमा मोबाइल फोनको व्यापक प्रयोग हुन थालेको मल्होत्राको भनाई छ । 

नेपालमा मात्र वार्षिक ५० अर्ब रुपियाँ बराबरको फोन वैधानिक रूपमा कर तिरेर आयात हुने गरेको र झन्डै सोही हाराहारीमा भन्सार नतिरेका फोनहरु भित्रिने गरेको तथ्य प्रस्तुत गर्दै उनले मोबाइल फोनको कारोवारबाट मात्र सरकारले विभिन्न शीर्षकमा आठ अर्ब रुपियाँभन्दा बढी राजस्व संकलन गर्दै आएको बताए । 

मोवाइल फोनको व्यवसायमा नेपालमा हाल प्रत्यक्ष र अप्रत्यक्षरुपमा ५० हजार बढीले रोजगारी पाइरहेको, मोबाइल फोन प्रयोग गरी अनलाइन तथा मोबाइल नम्बरबाट आफ्नो व्यापार प्रवर्द्धन गर्दै लाखौं नेपालीले आफ्नो पेशा चलाउँदै आएको बताउँदै मल्होत्राले अवैधरुपमा भित्रिएका चोरीपैठारीको मोवाइलको कारण सरकारले वार्षिक तीनदेखि चार अर्ब रुपियाँ बराबर राजश्व गुमाउँदै आएको बताए । 

यसरी भित्रिने फोनहरुमध्ये केही चोरीका, केही रिफर्विस पर्ने बताउँदै व्यवसायी मल्होत्राले तर उपभोक्ताले वैधानिक र अवैधानिक छुटाउन नसक्दा त्यस्ता फोनहरुको पनि वैधानिकसरह मूल्य तिर्दै आएको बताए । यसरी अवैधरुपमा भित्रिने मोवाइलको बिक्रीपछि पार्टपुर्जा नपाएर उपभोक्ता ठगिने अवस्था रहेको उनले बताए । 

चोरीपैठारी गरी ल्याइएका र एमडीएमएसमा दर्ता नभएका मोवाइलहरु आपराधिक कार्यमा पनि प्रयोग हुने गरेको र यस्ता मोवाइल प्रहरीलाई अपराध अनुसन्धानमा समेत समस्या हुने गरेको मल्होत्राको भनाई छ । उनले सरकारलाई कर तिरेर आफ्नो घर, खेत बैंकमा राखी व्यवसाय गर्दै धेरथोर रोजगारी दिँदै आएका व्यापारीको व्यापार कम हुँदै जाने र ज्यादै कम मार्जिनमा काम गर्नुपर्दा पलायन हुने अवस्था सिर्जना भएको बताउँदै उनले भन्सार नतिरी भित्रिने चोरी पैठारीका मोवाइल र यसका पार्टपुर्जामा कठाई गर्नुपर्ने बताए । 

गत जेठ १ गतेबाट एमडीएमएस लागू भएसँगै दर्ता नभएका फोनहरु नचल्ने भएकोले वैधानिकरुपमा आयात भएका मोवाइलहरुको बिक्रीको ग्राफ केही बढेको मल्होत्राले बताए । अनाधिकृत रुपमा भित्रिने फोनहरुमा नेपाली सिम नचल्दैन् । सरकारले रोजगारीका लागि विदेश गएकाहरु फर्किँदा दुई वटा फोन निःशुल्क एमडीएमएसमा दर्ता गर्नसक्ने सुविधा दिएको छ । एमडीएमएस प्रभावकारीरुपमा लागू भएसँगै सरकारको राजश्वमा पनि सुधार आउने मल्होत्राको आशा छ । 

उनले एमडीएमएस लागू भएपछि फोनको मूल्य वृद्धि हुन्छ कि ? भन्ने ग्राहकहरुको जिज्ञासा रहेको बताउँदै त्यस्तो नहुने बताए । उनले हरेक आयातकर्ता र बिक्रेताले पाउने मार्जिन सम्वन्धित कम्पनीले नै तोकिदिएको हुने बताउँदै त्योभन्दा बढी आफूहरुले नलिने मल्होत्राले बताए । 

Advertisement