कञ्चनजङ्घा चिया बगानको गौरवमय इतिहास, डेढ दर्जन मुलुकमा निर्यात हुँदै

Advertisement

काठमाडौं । नेपालमा चिया खेतीको इतिहास निकै लामो छ । वि.सं. १९२० मा तत्कालिन प्रधानमन्त्री जङ्गबहादुर राणाले चीन भ्रमणबाट फर्किंदा चिनिया जातको चियाको बीउ ल्याएका थिए । 

तत्कालिन चिनिया सम्राटबाट उपहारस्वरूप प्राप्त चियाँ जंगबहादुरले ल्याएदेखि चिया खेती नेपालभरी फैलिँदै गयो । विश्वभरीका मानिसहरुको धेरै रोजाईमा पर्ने पेय पदार्थहरुमध्येको एक चिया नेपालमा पनि संभवतः धेरैले सेवन गर्ने पेय पदार्थको रुपमा पर्दछ । 

Advertisement

नेपालका हरेक घर, कार्यालय, चिया पसल, होटल, रेष्टुरेन्टमा स्वागत सत्कार गर्ने, भेला भएर पिउँदै गफ र छलफल गर्ने माध्यम बनेको चिया । चिया मानिसका केवल पेय पदार्थ मात्र नभई संस्कार समेत बनेको छ । भावना समेत मिश्रित हुने गरेको छ । 

आजको समयमा चिया खेती निकै फराकिलो बनेको अवस्थामा यस क्षेत्रमा एक व्यक्ति उदाहरणीय पात्र बनेका छन् । पाँचथरका दीपकप्रकाश बास्कोटाको परिचय चियासँग मात्रै जोडिन्न, उनी पूर्वमन्त्री, राजनीतिज्ञ, सहकारी अभियन्ता, प्राङ्गारिक खेतीका प्रवर्क, आध्यात्मिक चिन्तक आदिको रुपमा पनि चिनिन्छन् । 

बास्कोटाले सन १९८४ देखि ‘कञ्चनजङ्घा चिया बगान तथा अनुसन्धान केन्द्र प्रा.लि.’ सञ्चालन गर्दै आएका छन् । चियाको व्यवसायिक खेती गर्ने पहिलो पुस्ताका व्यवसायीहरुमा उनी पनि पर्छन । 

कञ्चनजङ्घाले चार दशकमा आफ्नो ब्राण्ड मात्रै स्थापित गरेको छैन्, अर्गानिक (प्राङ्गारिक) चिया उपभोक्तालाई पिलाउँदै आएको छ । बास्कोटाले चिया खेती सुरु गर्दा किसान र सरकारी निकायका पदाधिकारीलाई चियाबारे जानकारी समेत नरहेको उनकी छोरी ताराले बताइन् ।  

दीपक बास्कोटाको चिया बगान तीन हजार क्षेत्रफलमा फैलिएको छ । कम्पनीले सन् २००२ देखि नै नेपाली अर्गानिक चिया अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्न थालेको हो । कञ्चनजङ्घा नेपालकै पहिलो मान्यता प्राप्त अर्गानिक चिया बगान पनि हो । चियाको बजारीकरण गर्ने आफू दोस्रो पुस्ता भएको ताराले बताइन् । 

उनी भन्छिन्, ‘कञ्चनजङ्घा चिया विश्वविद्यालय जस्तै मान्यता प्राप्त छ । यो पूरानो बगान हो । कञ्चनजङ्घाको विकास भएसँगै अरु थुप्रै चिया खेती गर्ने किसान जन्मिएका हुन् ।’ कञ्चनजङ्घाको चिया भाटभटेनी सुपरमार्केट, चिया तथा किराना पसल, साना ठूला मार्टहरुबाट बिक्री हुने गर्छ भने देश बाहिर १६ वटा मुलुकमा निर्यात हुने गरेको तारा बास्कोटाको भनाई छ । 

उनका अनुसार जापान र जर्मनीमा धेरैजसो ग्रिन टि  निर्यात हुने गर्छ । हङकङ, दुवई, कतार जस्ता देशमा पनि बिक्री गर्ने तयारी भइरहेको छ । किलोको पाँच सयदेखि १५ हजार रुपियाँसम्म चिया बिक्री गर्दै आएको कञ्चनजङ्घाले बाहिर निर्यात गर्दा पनि एउटै मूल्य लगाउने गरेको छ । कम्पनीले बार्षिक पाँच करोड रुपियाँको चियाको कारोबार गर्ने गरेको ताराको भनाई छ । 

बगानको सुरुवात कसरी भयो ?
जब दीपकप्रकाश बास्कोटा दार्जलिङ घुमेर गाउँ फर्किए,  उनले सबै गाउँलेलाई भेला पारे । दार्जलिङमा जस्तै चिया खेती गरौं भनेर सल्लाह गरे । तर बास्कोटाको प्रस्तावमा केही मानिस सहमत भएनन् । त्यति बेला दीपक बास्कोटा १७ वर्षका मात्रै थिए । 

त्यसपछि उनले आफ्नो दुई सय रोपनी खाली जग्गामा चियाका बिरुवा रोप्ने निधो गरे । बिरुवा रोपेको चार बर्षपछि चियाको मुना पलाउन सुरु भयो । त्यतिबेलासम्म चिया खेतीको महत्व गाउँका किसानहरुले पनि बुझ्न थालेका थिए । त्यसमाथि चिया नेपालको पूर्वी नेपालमा राम्रो हुँदो रहेछ भन्ने पनि सबैलाई महशुस भयो । त्यसपछि  गाँउलेहरुले  पनि चिया खेती गर्न सहमति जनाए । सबैको साझेदारीमा चिया खेती सुरु भयो । 

गाउँलेहरुले जमिन हुनेले, जमिन दिए । नहुनेले आफूसँग भएको रकम दिए । कम्पनीमा ६० प्रतिशत लगानी बास्कोटा र बाँकी ४० प्रतिशत किसानको लगानी रहन पुग्यो । त्यसपछि बास्कोटा माटो जाँचका लागि पुनः दार्जलिङ गए । फकिंदा अरु सात प्रजातीका चियाका बिरुवाहरु पनि ल्याए । फरक प्रजातीका चिया उत्पादन हुने भएकाले नै कञ्चनजङ्घाको ग्रिन टि अरुभन्दा फरक रहेको तारा बास्कोटाको जिकिर छ । 

कुन कुन चिया उत्पादन हुन्छ कञ्चनजङ्घामा ?
कम्पनीबाट कालो चिया, हरियो चिया, सेतो चिया, चाँदी टिप्स, ओलोङ चिया, गोल्डेन टिप्स, रुबी, मोती, कालो सुन, स्वादका विभिन्न प्रकारका चिया, उत्पादन तथा बिक्री हुँदै आएको छ । हरियो चिया (ग्रिन टि) दैनिक सेवन गर्दा स्वास्थमा सकारात्मक प्रभाव पर्न जान्छ । उच्च रक्तचाप भएका बिरामीहरुका लागि सन्तुलन गर्न मद्दत गर्छ । 

कञ्चनजङ्घा चिया उद्योगमा २० वटा मेसिनबाट २५ प्रकारका चिया उत्पादन हुँदै आएको छ । कम्पनीको डिलर राजधानी काठमाडौंमा एउटा र बाहिर तीन वटा रहेका छन् । आवश्यकताअनुसार नयाँ डिलरको प्रस्ताव आए दिन तयार रहेको तारा बास्कोटाले बताइन् । 

उनले कञ्चनजङ्घा नेपालको प्रमाणित चिया कम्पनी पनि हो भन्दै कम्पनीले बगानमा कार्यरत किसानहरूलाई आधारभूत सेवा सुविधासहित गास, बास, कपास उपलब्ध गराउँदै आएको बताइन् । उनीहरुलाई बचत र ऋणको सुविधाका लागि सहकारी संस्था सञ्चालन हुँदै आएको छ । 

ताराले भनिन्, ‘कञ्चनजङ्घा सामान्य चिया कारखाना मात्र होइन, सामाजिक उद्यम पनि हो । यसअन्तर्गत गाई फार्म, कारखाना र कालिका विद्यालय पनि सञ्चालन छ । ग्राहकबाट उठेको रकमले चिया खेतीमा कार्यरत किसानका बालबालिकालाई विद्यालयमा छात्रवृत्ति उपलब्ध गराइँदै आएको छ । हालसम्म दुई हजार पाँच सयभन्दा बढी विद्यार्थीले छात्रवृत्ति पाइसकेका छन् । यस्ता कार्य हरेक वर्ष थपिँदै जाने गरेको छ । 

कञ्चनजङ्घाले विगत १० वर्षदेखि युरोपका विद्यार्थीहरूलाई पनि अनुसन्धानमुलक अध्ययनका लागि अवसर प्रदान गर्दै आएको छ ।  फ्रान्सको विश्वविद्यालयबाट कृषि अनुसन्धानका लागि हरेक वर्ष चिया बगान आउने गर्छन् ।   

कस्ता छन् चुनौती ?
चिया बगान सुरु गर्दा उत्पादन र प्रशोधन भन्दा पनि बजारीकरण गर्न ठूलो चुनौती थियो । त्यतिबेला अहिलेको जस्तो इन्टरनेट, टेलिफोनको जमाना थिएन् । बाटो, बिजुलीको सुविधा पनि थिएन । पाँचथरबाट इलाम, इलामबाट काठमाडौं ल्याउँदा सरकारलाई केही कर तिरे पुग्थ्यो । तर चिया उद्योगको मूल्यमा नभई उपभोक्ताको मूल्यमा बिक्री गर्नुपथ्र्यो । उत्पादन लागतभन्दा कम मूल्यमा उपभोक्तालाई बिक्री गर्नुपर्दा उद्योग सञ्चालन गर्न निकै कठिन रहेको बाबुको अनुभव सुनाउँदै तारा बास्कोटाले बताइन् ।  

तत्कालिन समयमा अहिलेको जस्तो ड्रायर मेसिन पनि थिएन । दाउरामा चिया सुकाउनुपर्ने हुन्थ्यो । तर पनि त्यही किसान, त्यही जमीन, त्यही चियाको बोटबाट चिया उत्पादन हुँदै आएको छ । यो बीचमा चिया विकासका लागि सरकारले खासै केही नगरे पनि कर कसरी बढी अशुल्ने भनेर कर बढाउने काम भने गर्दै आएको छ । 

केही समयअघि निर्यातमा ५० प्रतिशत अनुदान दिने कुरा आएको थियो । यस्तो अनुदान कृषि उत्पादनमा सय प्रतिशत दिए पनि राज्यलाई नोक्सान नहुने तार बास्कोटा बताउँछिन् । कृषि उत्पादन वृद्धि गर्न सके देशको विकास पनि हुने र रेमिटान्स पनि भित्रिने उनले बताइन् । 

Advertisement

Advertisement