सिचुवान एयरलाइन्सले जुन २१ मा पोखरा विमानस्थलमा चार्टर उडान गर्ने
फाइल तस्बिर

Advertisement

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको सिचुवान एयरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । जुन २१ तारिखका दिन चीनको सिचुवान एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने भएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार जुन २१ मा चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर उडान गर्ने शुक्रबार अनुमति पाएको छ । सिचुवान एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर उडानपछि उडानको रिपोटै के हुन्छ ?, त्यसपछि नियमित उडान सुरु गर्ने बताएको प्राधिकरणका सूचना अधिकारी भुलले जानकारी दिए ।

Advertisement

त्यस्तै, एयर चाइना र चाइना सदर्न एयरलाइन्सले पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न चासो देखाइरहेको भुलले बताए ।

चीनको छेन्दुबाट सिचुवान एयरलाइन्समा ७० देखि एक सय जनासम्म यात्रुहरु आउने छन् । नेपाल–चीन फ्रेन्डसिप ड्रागन वोट फेस्टिभलका सहभागीहरु, पर्यटन व्यवसयीहरु, विदेशी पर्यटकहरु आउन लागेको भुलले जानकारी दिए । 

सिचुवान एयरलाइन्स पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जुन २१ तारिख बिहान ९ बजेर २५ मिनेटमा अवतरण गर्नेछ, त्यसपछि करिब एक घण्टा औपचारिक कार्यक्रम हुने बताउँदै भुलले भने, ‘त्यसको एकदेखि डेढ घण्टापछि चीनबाट आएको जहाज काठमाडौं अवतरण गर्नेछ, काठमाडौं आएर आफ्नो नियमित तालिका अनुसार नै काठमाडौबाट यात्रुहरु लिएर चीनको छेन्दु जानेछ ।’ 

पोखरा विमानस्थल गएको पुस १७ बाट सञ्चालनमा आएको हो । त्यस दिनदेखि एक वर्षसम्म अवतरण, पार्किङमा सय प्रतिशत निःशूल्क र ग्राउन्ड ह्यान्डलिंग शूल्कमा ५० प्रतिशत छुटको व्यवस्था रहेको उनले बताए । 

Advertisement

Advertisement