त्रिभुवन विमानस्थल जोखिमपूर्ण ठाउँमा छ, ऋण लिएर थप ३५ अर्ब खर्च नगरौंः क्याप्टेन क्षेत्री

Advertisement

काठमाडौं । वरिष्ठ क्याप्टेन कृष्णविक्रम क्षेत्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यूरोप, अमेरिका, अष्ट्रेलिया सिधा उडान हुन नसक्ने तर्क गरेका छन् ।  

प्राविधिक कारण देखाउँदै उनले त्रिभुवन विमानस्थलबाट लामो दूरीको उडान हुननसक्ने बताएका हुन् । क्षेत्रीले त्रिभुवन विमानस्थलमा ऋण लिएर जति धेरै खर्च गरे पनि त्यसको औचित्य नरहेको बताए । 

Advertisement

त्रिभुवन विमानस्थलमा जति खर्च गरेर थप निर्माण गरे पनि ठूला विमानहरू पूर्ण क्षमतामा चल्न नसक्ने बताउँदै उनले फुल लोड (पूर्ण क्षमता)मामा चल्न तापक्रम, विमानस्थलको उचाई, लम्बाई, डाँडाकाँडाको कारण ‘लोड पेनाल्टी भई चाहिने मात्रामा ईन्धन लिन नसक्ने बताए । 

ट्विन अटर, एभरो र बोइङ उडानमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ३८ वर्षमा १८ हजार घण्टा उडान अनुभव हासिल गरेका क्षेत्रीले त्रिभुवन विमानस्थलमा थप ३५ अर्ब ऋण लिएर नयाँ टर्मिनल भवन बनाउने कुराको विरोध गरे । उनले भने, ‘अन्य विमानहरूलाई पनि अति खराब मौसममा आवश्यक यान्त्रिक अवतरणको सुविधा राख्न सकिन्न । एउटा मात्र रन–वेमा एकतर्फी अवतरण मात्र हुने, हावाको गति बढ़े अवतरण नहुने समस्या हुन्छ । त्रिभुवन विमानस्थल चारैतिर डाँडाकाँडा छ ।  उच्च स्थानमा र शहरको बिचमा छ । अरु मुलुकमा भर्सक ठूला शहरको बिचमा एयरपोर्ट बनाउँदैनन् ।’ । 

त्रिभुवन विमानस्थल भौगोलिक, मौसम, उचाई, रन–वे जस्ता कारणले गर्दा कठिन विमानस्थमा गनिने उनको भनाई छ । क्षेत्रीले थपे, ‘यो विमानस्थलमा विशेष तालिम लिएका पाइलटले मात्र उडान गर्न सक्छन । हामीलाई यादै छ थार्इ एयर, पीआईए (पाकिस्तान इन्टरनेशनल एयरलाइन्स), लुफ्थान्साको कार्गो विमान, नेकोन एयरका विमानहरू काठमाडौंमै दुर्घटना भएका थिए । त्यसमाथि यदि टर्किश एयरलाइन्सको विमान दुर्घटना हुँदा देब्रेतिर बढी मोडिएर नेपाल आयल निगमको ईन्धन भन्डारमा हिर्काएको भए वा यूएस बंगला विमान देब्रेतर्फ पेप्सीकोलातिर नझरी सिनामंगलतिर इन्धन भण्डारणमा झरेको भए काठमाडौं शहरको धेरै भाग जल्न सक्थ्यो । कति भयावह स्थिति हुने थियो ।’

त्रिभुवन विमानस्थल ‘स्याचुरेशन प्वाइन्ट’ मा पुगिसकेको र भविष्यमा थप हुने वायु सेवाहरूलाई सेवा दिन नसक्ने देखिएको उनले बताए । क्षेत्रीले आफ्नो विचारमा ऋण लिई त्रिभुवन विमानस्थलमा थप लगानी गर्नुभन्दा यथास्थितिमा राख्नु उपयुक्त हुने बताए । 

त्रिभुवन विमानस्थलमा ३५ अर्ब ऋण लिएर अझै खर्च गर्नु न्दा पूर्ण क्षमताको, कम्तीमा दुई वटा रनवे बन्न सक्ने काठमाडौं नजिकको ठाउँमा विमानस्थल बनाउँदा राम्रो हुने उनले बताए । क्षेत्रीले कम रुख कटान हुने ठाउँमा पूर्ण क्षमताको नयाँ विमानस्थल सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा निर्माणतर्फ लाग्दा राम्रो हुन्छ भने । 

नयाँ विमानस्थल निर्माणको विषयमा बहस चलिरहेकोले यस विषयमा सम्वन्धित् निकाय र सरोकारवालाहरुको ध्यान जाओस भन्दै उनले भने, ‘नेपालीको टाउकोमा ऋणको भार थप्दै जानुहुँदैन् । सबैलाई थाहा भएकै विषय हो विभिन्न प्राविधिक कारणले गर्दा पोखरा र गौतम बुद्ध विमानस्थल पनि पूर्ण क्षमताका विमानस्थल हुन सक्दैनन् । यसको ठूलो ऋण भार त छँदैछ । त्यसमाथि त्रिभुवन विमानस्थलका लागि अर्को ३५ अर्ब थप्ने कुरा राम्रो होइन् । हेक्का रहोस नेपालमा अहिलेसम्म एयरबस ३८० जस्ता ठूला विमानहरू जिरो भिजिविलिटिमा अवतरण गर्न चाहिने यान्त्रिक सुविधा र फुल लोडमा टेक अफ गरी सिधा युरोप, अष्ट्रेलिया, अमेरिका उडान गर्न मिल्ने क्षमताको विमानस्थल छैन् ।’

Advertisement

Advertisement