वडाध्यक्षसम्मले दबाब दिएपछि थेग्न नसकेर स–साना बजेट पनि विनियोजन गर्नुपर्योः महत

Advertisement

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले दबाब थेग्न नसकेर स–साना आयोजनाहरुमा पनि बजेट विनियोजन गरेको जिकिर गरेका छन् । 

मंगलवार संसदमा बोल्दै उनले केन्द्र सरकारबाट स–साना आयोजनाका लागि थोरै रकम विनियोजन गर्ने पक्षमा नभए पनि दबाब थेग्न नसकेर विनियोजन गरेको बताएका हुन् । महतले सम्बन्धित मन्त्रालय र वडाअध्यक्षबाट समेत थोरै भए पनि बजेट पार्न दबाब आएको बताए । 

Advertisement

उनले आगामी दिनमा भने प्राथमिकताका क्षेत्र तोकेर बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाए । मन्त्री महतले भने, ‘सानो सानो बजेट संघबाट भयो भन्नुभएको छ । हो । यसलाई मैले साना–साना नगरौँ नै भनेको । तर छोटो समय । सम्बन्धित मन्त्रालयबाट आएको दबाब । वडाअध्यक्ष समेत हाम्रो वडामा त अलिकति बजेट छ, राख्नुपर्यो भनेर आए । मैले पनि त्यसलाई थेग्नसक्ने अवस्था थिएन् । कहाँ कहाँ प्राथमिकताको क्षेत्र छन् ? हेरेर गर्ने कुरा आगामी दिनमा मिलाउँदै जान्छौँ ।’

मन्त्री महतले परिणाममुखी बजेट ल्याएको ल्याइएको दावी गरे । उनले बजेटले राजश्वको दायरा बढाउने बताए । महतले बाह्य निर्भरतालाई कम गर्ने गरी बजेट आएको पनि बताए । उनले भने, ‘यसबाट मलाई विश्वास छ, राजश्वको दायरा बढ्छ । यसले हाम्रो बाह्य निर्भरता बढ्दै जाने परिस्थिति अन्त्य गर्छ । तर पनि विदेशी सहयोग हाम्रो लागि केही समय अझै आवश्यकता छ । तर विदेशी सहयोग ल्याउने कुरा गर्दा पनि हाम्रो खर्च गर्ने क्षमतालाई वृद्धि गर्नुपर्यो ।’

मन्त्री महतले चालु खर्च घटाउन सक्ने अवस्था नभए पनि धेरै बढ्न नदिने कुरामा आफूहरु सरकार सचेत रहेको बताए । 

Advertisement