व्यवस्थित र विकसित शहर बन्ने रफ्तारमा हेटौंडा उपमहानगर, यस्ता छन् ‘ड्रिम प्रोजेक्ट’

Advertisement

संघीय राजधानी रहेको प्रदेश बागमतीमै अवस्थित छ हेटौंडा उपमहानगरपालिका । बागमती प्रदेशको राजधानी हेटौंडा नेपालको मध्ये भागमा अवस्थित पुरानै शहर हो । हेटौंडालाई २०२६ सालमै नगर पञ्चायत घोषणा गरिएको थियो । 

२०४६ सालको जनआन्दोलनपछि २०४८ सालमा हेटौंडा नगरपालिका घोषित भयो । २०७१ बैशाख २१ तथा मंसिर १६ गतेको निर्णय अनुसार चुरियामाई, पदमपोखरी, हटिया, हर्नामाडी र बसामाडी हेटौंडामा नगरमा गाभिएको र २०७३ चैत २७ गतेबाट उपमहानगरपालिका घोषित भएको हो । 

Advertisement

विगतलाई फर्केर हेर्दा प्रथम प्रधानपञ्चका रुपमा बासुदेव रिजालले हेटौंडा नगर पञ्चायतलाई नेतृत्व प्रदान गरेका गर्नु भएको थियो । त्यसपछि कार्यवाहक प्रधानपञ्चका रुपमा ओमनाथ पराजुली र रामबहादुर खड्का, प्रधानपञ्च नीरशंकर श्रेष्ठ, अशोककुमार बानियाँ, नगरपालिका घोषणा भएपछि मेयर डोरमणि पौडेल, मधुकरप्रसाद अधिकारी, उपमहानगरपालिका भएपछि हरिबहादुर महत र वर्तमान मेयर मीनाकुमारी लामाले जनप्रतिनिधिका रुपमा नेतृत्व प्रदान गर्दै आउनु भएको छ ।

हेटौंडामा विकासको रफ्तार   
नगर घोषणा भएपछिको यो ५४ वर्षमा हेटौंडाले विकास निर्माणका क्षेत्रमा निकै फड्को मारेको छ । पछिल्लो समय बागमती प्रदेशको राजधानी स्थापना भएपछि हेटौंडाको विकास निर्माणको रफ्तार अझै बढेको छ ।  

राष्ट्रिय जनगणना २०७८ को अन्तिम प्रतिवेदन अनुसार यस उपमहानगरपालिकाको कूल जनसंख्या १ लाख ९३ हजार ५ सय ७६ रहेको छ । यहाँ ४६ हजार ५ सय ६६ घरधुरी बसोबास गर्छन् । २६१.५८ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको यो नगर विभिन्न १९ वडामा विभाजित छ । विगतमा ११ वडामा सीमित तत्कालीन हेटौंडा नगरपालिका उपमहानगर भएपछि जोडिएर रहेका तत्कालीन बसामाडी, पदमपोखरी, हर्नामाडी, चुरियामाई र  हटिया गाउँ विकास समितिलाई मिलाएर १९ वडामा बिस्तार भएको छ । यी १९ वटै वडामा समान ढंगले विकास निर्माण नभए पनि पछिल्लो समय पछाडी परेका वडाहरुमा तीब्रताका साथ विकास निर्माणका कामहरु भइरहेको उपमेयर राजेश बानियाँ बताउनु हुन्छ । 

२०७९ साल बैशाखमा भएको स्थानीय तहको निर्वाचनबाट मेयर पदमा मीना लामा र उपमेयर पदमा राजेश बानियाँ निर्वाचित हुनु भएको छ । निर्वाचित भए लगत्तै उपमहागरको नयाँ नेतृत्वले चालु आर्थिक वर्ष २०७९/८० र आगामी आर्थिक वर्ष २०८०/८१ को नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरिसकेको छ । आफूहरुले ल्याएको नीति कार्यक्रम तथा बजेटले हेटौंडालाई सुन्दर र समुन्नत नगरका रुपमा राष्ट्रमै पहिचान दिलाउने उपमेयर बानियाँ बताउनु हुन्छ । 

आफूहरु ‘स्वच्छ, सृजनशील, समृद्ध औद्योगिक नगर हेटौंडा’ भन्ने सोचका साथ अघि बढेको मेयर मिना लामा बताउनु हुन्छ । आफूहरुले ल्याएका नीति कार्यक्रमहरुले समेत यो सोचलाई साकार पार्ने उहाँको भनाई छ ।  

पर्यटन पनि बन्न सक्छ आर्थिक समृद्धिको आधार 
चुरे क्षेत्र कटे पछि अहिलेको गर्मी सिजनमा उखरमाउलो गर्मी छ । तर त्यताको भन्दा यहाँको मौसम केही शितल छ । उखरमाउलो गर्मीबाट आक्रान्त भएकाहरुलाई केहीमात्रामा भएपनि हेटौंडाले शितलता प्रदान गर्न सक्ने हेटौंडा १० की वासिन्दा÷समाजसेवी कुमारी वाइबा बताउनु हुन्छ । 

त्यसैपनि हेटौंडा नगरपालिका पर्यटन गन्तव्यका रुपमा पनि परिचितनै छ । यस नगरमा ऐतिहासिक सुरुङसहितको चुरिया क्षेत्र, गुम्बाडाँडाको अन्तर्राष्ट्रिय मूर्ति पार्क, सहिद स्मारक, कुष्माण्ड सरोवर त्रिवेणी धाम, मनकामना मन्दिर, जुरेथुुम पर्यटकीय पार्क, वनस्खण्डी क्षेत्र, पाथिभरा र भूटनदेवी मन्दिर तथा मनमोहन भ्यूटावर जस्ता पर्यटकीय हिसाबले महत्वका स्थलहरु पनि छन् । यी स्थलहरुलाई अझै व्यवस्थित र पर्यटकीय महत्वका थप पूर्वाधार निर्माणमा उपमहानगरको टिमले क्रियाशिलता देखाएको छ । 
धेरै भन्दा धेरै पर्यटकहरु भित्र्याएर आर्थिक गतिबिधि चलायमान बनाउन सके यहाँका वासिन्दाहरुको जीवनस्तर आर्थिक हिसावले माथि उठ्दै जाने हेटौंडा–४ कमलडाँडा निवासी दीपक खड्का बताउनु हुन्छ ।  

एकै वर्षमा बन्यो ५६ किलोमिटर कंक्रिट सडक
हेटौंडा नगरको समृद्धिको कुरा गर्दा चालु आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्म पूर्वाधार विकास अन्तरगत ५६.२८ किलोमिटर  कंक्रिट सडक निर्माण भएको छ । २.२५ किमि सडक कालोपत्रे, २.८ किमि सडक ग्रेभल र २ किमि नाला निर्माण भएको गत असार २ गते १३औं नगर सभामा प्रस्तुत नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा उल्लेख छ । 

हेटौंडा उपमहानगरले स्थानीय विषयवस्तुमा आधारित स्थानीय पाठ्यक्रम ‘हाम्रो हेटौंडा’ कक्षा १ देख ३ सम्म लागू भइसकेको र आगामी दिनमा ८ कक्षासम्म लागू गर्ने लक्ष्यसहित पाठ्यक्रम निर्माण गरिरहेको जनाएको छ । सामुदायिक विद्यालय तहका छात्राहरुलाई सेनेटरी प्याडको व्यवस्थापन गरेर उदाहरणीय कार्य समेत गरेको छ । 

चालु आर्थिक वर्षमा आमाबुबाविहीन २० बालबालिकालाई मासिक २ हजार भत्ता वितरण गरेर उपमहानगरले मानवीय सेवाका क्षेत्रमा समेत आफूलाई अग्रसर गराएको छ ।  

नगरवासीहरुलाई स्वरोजगार बनाउन विभिन्न संघसंस्थाहरुको साझेदारीमा अचार बनाउने, ब्यूटीसियन र सेनेटरी ब्याड बनाउने तालिम प्रदान गरेको र पशुपालन तथा कृषि क्षेत्रलाई पनि उत्तिकै प्राथमिकतामा राखेर व्यवसायिक बनाउन पहल गरिरहेको उपमेयर बानियाँ बताउनु हुन्छ । 

जनप्रतिनिधिका सपनाः उपमहानगरलाई कस्तो बनाउने ? 
हेटौंडा वडा नम्बर ४ का वडाध्यक्ष नबीन सिग्देलले आफ्नो वडालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नका लागि योजनाबद्ध हिसाबले काम शुरु गरेको बताउनु भयो । कर्रा करिडरलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने कार्य थालिसकेको बताउँदै उक्त करिडरलाई रमणीय क्षेत्रको रुपमा विकास गरी चितवनको सौराह जस्तै बनाउने उहाँको योजना छ । 

हुप्रचौरमा बहुउद्देश्यीय भवन निर्माण, भूटनदेवी विद्यालयको जग्गामा घरेलु उत्पादन बिक्री तथा प्रदर्शनी केन्द्र निर्माण र धुलो तथा हिलोरहित वडाका रुपमा विकास गर्ने उहाँको सोच छ । यस वडाका ७० प्रतिशत वासिन्दाले ढल सुबिधा उपभोग गरिररहेको उहाँले बताउनु भयो ।  

वडा नम्बर ४ लाई बागमती प्रदेशकै उत्कृष्ठ नमूना वडा बनाउन योजनाबद्ध रुपमा अघि बढेको उहाँको भनाई छ । भूगोलको हिसाबले सानो तर जनसंख्याको हिसाबले सबैभन्दा ठूला वडा नम्बर ४ लाई सडकमा गाडी, पेटीमा मानिस र भूमिगत ढलको व्यवस्थापन गरेर नमूना बनाउने उहाँको सोच छ । 

यही वडामा ठूला ठूला शैक्षिक केन्द्र छन् । विद्यालय र कलेज स्तरमा १६ हजार विधार्थी अध्ययन गर्छन् । शिक्षालाई गुणस्तरीय बनाउने अभियान शुरु गरिएको, गत माघ महिनामा शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम गरिएको उहाँले बताउनु भयो । 

खेलकुद क्षेत्रलाई समेत उत्तिकै प्राथमिकता दिएर २ वटा कर्भड हल, भलिवल कोर्ट, खुला जीम स्थल र पार्क निर्माण तथा सञ्चालनमा पनि वडा कार्यालय सहयोगी र समन्वयकारी भूमिकामा रहेको उहाँ बताउनु हुन्छ । 

यता हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ मेयर मीना लामालाई सफल बनाउन सक्रिय रहेको बताउनु हुन्छ । आफूहरु फरक फरक पार्टीबाट जितेर आएको भएपनि सबैको साझा जनप्रतिनिधिका रुपमा निःस्वार्थ ढंगले अघि बढेकाले कुनै पनि किसिमको मनमुटाव नगरको जिकीर गर्नु भयो । नगर भित्रका सामुदायिक विद्यालयमा प्रधानाध्यापक खुला प्रतिष्पर्धाबाट नियुक्त गरी शैक्षिक गुणस्तर उकास्ने दिशामा अघि बढेको उहाँ बताउनु हुन्छ । 

दश जोड अध्ययनपछि प्राविधिक शिक्षा अध्ययनका लागि विधार्थीहरु काठमाडौं लगायत अन्य क्षेत्रमा जाने गरेका छन्, विद्यमान यो अवस्थालाई मध्यनगर गर्दै संघीय सरकारको शिक्षा मन्त्रालयबाट सम्बन्धन लिएर सिभिल इन्जिनियरिङ, आईटी र एग्रिकल्चरसहित ४ वटा प्राविधिक विषयमा स्नातक तहको पढाई हेटौंडामै सञ्चालन गर्न पहल गरिरहेको जानकारी दिनुभयो । 

काठमाडौंमा महावीर पुनले सञ्चालन गरिरहनु भएको आविष्कार केन्द्रको शाखा हेटौंडामा पनि बिस्तार गर्न पहल भइरहेको र त्यसले यहाँका प्रविधि क्षेत्रमा रुची भएका विधार्थीहरुलाई सहयोग पुग्ने उहाँको धारणा छ । 

क्याम्पाडाँडा रंगशालामा थप लगानी गर्ने र विभिन्न ४ वटा वडामा मिनि रंगशाला निर्माणको काम शुरु भइसकेको उपमेयर बानियाँले बताउनु भयो । छात्रबृत्ति वितरणमा हुने असमानतालाई हटाउन सामुदायिक कलेजमा स्नातक तेस्रो र चौथो वर्षमा अध्ययनरत सबै विधार्थीलाई पूर्ण छात्रबृत्ति दिने उपमहानगरको नीति रहेको जानकारी दिनुभयो । यसले आर्थिक अवस्था कमजोर भएका कारण पढाई पूरा नगरी बैदेशिक रोजगारीमा जानु परिरहेको बाध्यता हट्ने उहाँको विश्वास छ ।   

त्यसैगरी अघिल्लो कार्यकालमा उपमेयर रहनुभएकी मीना लामा हाल मेयर पदमा हुनुहुन्छ । आफ्नो कार्यकाललाई अविश्मरणीय बनाउन दिनरात नभनी खटिएको उहाँको दाबी छ । हेटौंडा अस्पताल परिसरमा छुट्टै महिला तथा बालबालिका अस्पताल निर्माणको काम अघि बढाएको उहाँले जानकारी दिनुभयो । नगरको १३ र १६ नम्बर वडामा आधारभूत अस्पताल पनि निर्माण गर्ने उहाँको अठोट छ । 

वनजंगल र नदी क्षेत्र पनि पर्ने भएकाले पर्यटक भित्र्याउन विशेष कार्य गर्ने नीति बनाएको मेयर लामाले बताउनुभयो । यहाँ ३ सय प्रजातिका चरा अवलोकन गर्न सकिन्छ भने लोपोन्मुख शालकलाई संरक्षणका लागि शालक पार्क निर्माणबाट पर्यटकहरुलाई आकर्षित गर्न सकिन्छ । ‘यसका लागि योजनाबद्ध ढंगले अघि बढेका छौं’, उहाँले भन्नुभयो । 

हेटौंडा उपमहानगर क्षेत्रभित्रै पर्ने हेटौंडा औद्योगिक क्षेत्रमा लगानी भित्र्याउन र बन्द रहेको उद्योग सञ्चालन गरी रोजगारी सिर्जना गर्ने काममा समन्वयकारी भूमिका निर्वाह गरिरहेको उहाँले बताउनु भयो ।उपमहानगरको तर्फबाट मयूरधापको प्रस्तावित औद्योगिक क्षेत्रको जग्गा व्यवस्थापन भइसकेको छ, यसलाई छिटोभन्दा छिटो सञ्चालन गरी रोजगारी सिर्जनाको वाताबरण निर्माण गर्न उहाँले सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो । 

हेटौंडा उपमहानगरपालिकालाई ‘महानगरपालिका’ बनाउने दिशातर्फ पनि आफूहरुले ध्यान दिएको मेयर लामाले बताउनु भयो । महागरपालिकाको लागि पूर्वाधारहरु विकास गरिरहेको बताउँदै उहाँले भन्नुभयो, ‘महानगरपालिका घोषणाका लागि जनसंख्या नपुग्ने भएकाले जोडिएका अरु पालिकालाई मर्ज गर्नु पर्नेछ, त्यसका लागि हेटौंडा आउने सडक सञ्जाल निर्माण गरी केही वर्षभित्रै उपमहानगरबाट हेटौंडालाई ‘महानगर’ बनाउने योजना छ ।’  
(हेटौंडा उपमहानगरपालिकाको सहयोगमा नेपाल पत्रकार महासंघ मकवानपुर शाखाद्वारा खुल्ला फिचर समाचार लेखन प्रतियोगितामा उत्कृष्ट घोषित सामग्री ।)   

हेटौँडा बजार क्षेत्रको २५-२५ मिटर सडक विस्तार गर्ने निर्णय पारित

यसैबीच हेटौँडा उपमहानगरपालिकाले १३औँ नगरसभाको दोस्रो बैठकबाट रु दुई अर्ब ६८ करोड ६० लाख १ हजार आठ सयको बजेट पास गरेको छ । यसअघि हेटौँडा उपमहानरगपालिकाले आव २०८०र८१ का लागि नीति तथा कार्यक्रम कार्यान्वयन गर्न रु दुई अर्ब ६० करोड ६५ लाख ४० हजार आठ सयको अनुमानित बजेट विनियोजन गरेको थियो । 

प्रदेश सरकारको विभिन्न शीर्षकका थप हुने रकमसहित आज बसेको नगरसभाको बैठकबाट सर्वसम्मतरूपमा बजेट पास गरेसँगै हेटौँडा बजार क्षेत्रको २५–२५ मिटर सडक विस्तार गर्ने निर्णय सर्वसम्मतरूपमा पारित गरेको छ । बैठकमा सहभागी सम्पूर्ण जनप्रतिनिधिले ताली बजाएर सर्वसम्मतरूपमा बजार क्षेत्रलाई फराकिलो बनाउने  निर्णय गरेको उपमहानगरका प्रवक्ता सविन न्यौपानेले बताए ।

“सडक विस्तारका विषयमा जिल्लाका दलबीच मतभिन्नता भइरहेको अवस्थामा उपमहानगरले यस्तो निर्णय गरेको हो । डिभिजन सडक कार्यालयले हेटौँडा बजार क्षेत्रमा २५ मिटर सडक विस्तार गर्न गएको असार १० गते राष्ट्रिय दैनिक पत्रिकामा सूचना जारी गरेको थियो । क्षतिपूर्ति र व्यवसायीको समस्याको विषयमा स्थानीय सरकारले आवश्यक पहल र समन्वय गर्छ तर अब बजार क्षेत्रको बाटो फराकिलो हुन्छ”, प्रवक्ता न्यौपानेले बताए । 

बैठकले आर्थिक विधेयक २०८०, विनियोजन विधेयक २०८०, न्यायिक समितिबाट २०७९र८० मा भएका कार्यसम्पादनलाई पास गरेको प्रवक्ता न्यौपानेले बताए । नगर सुन्दर बनाउने योजनाका साथ बजार क्षेत्रका सडकलाई अब विस्तार गर्ने निर्णय भएकोे हो । यस्तै बैठकले उपमहानगर क्षेत्रभित्र सुर्तीजन्य पर्दाथ बिक्रीवितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । यसका लागि ऐन बनाएर कार्यविधि ल्याई लागू गर्ने निर्णय भएको प्रवक्ता न्यौपानेले बताए । 

Advertisement