महाकाली सिँचाइ तेस्रो चरणः मूल नहरमा परीक्षणका लागि छाडियो पानी

Advertisement

बेदकोट । निर्माणाधीन महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गतको मूल नहर परीक्षणका लागि पानी छाडिएको छ । आज टनकपुर ब्यारेजबाट महाकाली सिँचाइ तेस्रो चरणको मूल नहर परीक्षणका लागि पानी छाडिएको आयोजनाका निर्देशक रणबहादुर बमले जानकारी दिए ।     
     
भीमदत्त नगरपालिकाको ब्रह्मदेवबाट शुक्लाफाँटा नगरपालिकाको फुलेली घरकटुवा खोलासम्म पानी छाडेर मूल नहर परीक्षण गरिने उनले जानकारी दिए । बमले भने, “ब्रह्मदेवबाट २८ किलोमिटर फुलेलीसम्मको मूल नहरमा पानी छाडिएको छ, एक सातासम्म पानी छाडेर मूल नहर परीक्षण गरिनेछ ।”     
     
महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणअन्तर्गत ब्रह्मदेवबाट फुलेलीसम्म २८ किलोमिटर मूल नहर निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न भएको उक्त मूल नहरमा पानी छाडेर परीक्षण गर्ने कार्य चलिरहेकाले यस अवधिमा नहर छेउछाउमा आफ्ना बालबच्चा र चौपाया नछाड्न आयोजनाले आग्रह गरेको छ ।     
     
राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने महाकाली सिँचाइ आयोजना तेस्रो चरणको ब्रह्मदेवबाट बगुनखोलासम्म १९ किलोमिटर मूल नहरमा गत वर्ष परीक्षण गरिएको थियो ।     
     
नेपाल–भारतबीच भएको महाकाली सन्धिअनुसार टनकपुर ब्यारेजबाट नेपाली भूमिसम्म भारतले निर्माण गर्नुपर्ने एक हजार दुई सय मिटर नहर निर्माणको काम सम्पन्न भइसकेको छ । उनका अनुसार अहिले मूल नहर निर्माण भएको क्षेत्रमा शाखा नहर निर्माणको काम भइरहेको छ । बमले बाइस शाखा नहरमध्ये दुईको निर्माणको काम सकिएको बताउँदै अन्यको काम भइरहेको बताए ।      
     
आयोजनाअन्तर्गत मूल नहर २८ किलोमिटर शुक्लाफाँटाको फुलेलीबाट कैलालीको गोदावरीखोला ४८ किलोमिटरसम्म निर्माणका लागि बोलपत्र आह्वान भइसकेको छ । आगामी आव २०८०–८१ का लागि आयोजनामा रु एक अर्ब १७ करोड बजेट विनियोजन गरिएको छ । उनले भने, “चालु आवको तुलनामा आगामी आवका लागि बजेट कम छुट्याइएको छ चालु आवमा रु एक अर्ब २३ करोड बजेट थियो ।”     
     
महाकाली सन्धि भएको १० वर्षपछि आव २०६३÷६४ देखि निर्माण थालिएको नहरको कामले केही वर्षयता गति लिएको छ । विसं २०५२ माघ २९ मा नेपाल र भारतबीच भएको महाकाली सन्धिअनुसार नेपालले टनकपुर बाँधबाट नहरमार्फत वर्षायाममा २८ दशमलव ३५ घनमिटर प्रतिसेकेन्ड तथा सुक्खायाममा आठ दशमलव ५० घनमिटर प्रतिसेकेन्ड पानी पाउनुपर्छ ।     

यो पानी उपयोग गर्नका लागि नेपालले एक सय ५२ किलोमिटर लामो मूल नहर, एक सय ७२ किलोमिटर लामो शाखा नहर र एक हजार २३ किलोमिटरको प्रशाखा नहर निर्माण गर्नुपर्छ । राष्ट्रिय गौरवको आयोजनामा समेटिएपछि महाकाली सिँचाइ आयोजना तेस्रो चरणले गति लिएको हो । बाइस शाखा नहर निर्माण भए पाँच हजार तीन सय हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउन सकिने छ ।

Advertisement

Advertisement

Advertisement