लम्पिस्किन पीडित किसानहरुको धर्ना, किसानहरुले लिएको ऋण मिनाहा गर्नुपर्ने माग

Advertisement

ललितपुर । सरकारसँग लम्पिस्किन रोगको महामारीमा क्षति भएका पशुचौपायहरुको उचित क्षतिपूर्तिसहितको छ बूँदे माग राख्दै आएका  पीडित किसानहरुले धर्ना समेत दिन थालेका छन् । 

बुधबार हरिहरभवनस्थित पशु सेवा विभाग परिसरमा पुगेर उनीहरुले आफूहरुको माग सम्बोधन गर्न दबाबस्वरुप एक घण्टा धर्ना दिए । यो रोग तत्काल नियन्त्रण गर्न र पीडित किसानलाई तत्काल राहतको व्यवस्था गर्न आफूहरुले सरकारलाई बाध्य बनाउने गरी आन्दोलनको कार्यक्रम सुरु गर्नु परेको अखिल नेपाल किसान महासंघकी उपमहासचिव सरिता भुसालले बताइन् । 

Advertisement

उनले पशुपालक किसानहरुले लिएको कर्जा पनि सरकारले मिनाहा गर्नुपर्ने बताइन् । भुसालले ‘तुरुन्त यो रोगको नियन्त्रण गर्नुपर्यो । र, पशुपालक किसानहरुलाई राहत दिनु पर्यो । विस्थापित हुन लागेका किसानहरुलाई पुनस्र्थापना गर्नु पर्यो । जुन कर्जा लिएर गरिराख्नु भएको छ, उहाँहरुलाई कर्जा मिनाहा गर्नु पर्यो । पर्याप्त मात्रामा भ्याक्सिनको व्यवस्था गर्नु पर्यो । र, प्राविधिक चाँही किसानका घरघरमा पुग्नु प¥यो । पशु व्यवसाय गरिरहेका किसानलाई सुलभ कर्जाको व्यवस्था सरकारले उपलक्ध गराउनु पर्छ भन्ने लगायत मागहरु राखेर हामी आन्दोलनमा उत्रिरहेका छौं । ’

पीडित किसानहरुले बीमाको दावी भुक्तानी गर्न पनि सरकारले ढिलाई गर्न नहुने बताए । लम्पी स्किन महामारीका कारण विस्थापित किसानहरुको पुर्नस्थापना र उनीहरुका लागि बीमाको भुक्तानी गर्न पनि सरकारसँग माग गरिएको महासंघको काठमाडौं इन्चार्ज पुस्कर प्याकुरेलले बताए । 

उनले सो रोग नियन्त्रणका लागि पर्याप्त भ्याक्सिनको व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराए । प्याकुरेलले भने, ‘ग्रामीण क्षेत्रका किसानहरु यतिबेला पूरै आहात भएका छन् । ७० प्रतिशत भन्दा बढि पशु चौपायाहरु लम्पीस्किनको कारण मरिसकेको छ । त्यसका निम्ति पशुको बीमा पनि क्लेम गर्न नसक्ने अवस्था देखिएको छ । पशु चौपायाको बीमाको पनि हामीले क्लेम गरिराखेका छौं । छिट्टै यो महामारी रोग नियन्त्रणका निम्ति भ्याक्सिनको माग हामीले गरिराखेका छौं । पशुको औषधि उपचारका कुरा, बीमाका कुरा र पशुपालक किसानहरुको विस्थापित हुने अवस्था छ ।’

राष्ट्रिय किसान सञ्जालको नेतृत्वमा आह्वान गरिएको धर्नामा लम्पी स्किन रोगको महामारी नियन्त्रण गरी पीडित किसानलाई राहतको घोषणा गर, लम्पी स्किन रोगको महामारीबाट मरेका पशुहरुको वास्तविक लागत संकलन गरियोस्, पशुहरुमा लागेको लम्पी स्किन रोगको महामारी नियन्त्रणका लागि पर्याप्त भ्याक्सिनको व्यवस्था गरियोस्, महामारीबाट क्षति भएका पशुहरुको किसानलाई राहत र क्षतिपूर्ति दिईयोस्, लम्पी स्किन रोगको महामारीबाट मरेका पशुहरुको वास्तविक लागत संकलन गरियोस् भन्ने लेखिएको प्ले कार्डहरु पनि प्रर्दशन गरिएको थियो ।

Advertisement

Advertisement