‘फेसलेस’ कर परीक्षण यसै वर्षबाट, कर अधिकृतले व्यवसायीलाई दुःख दिन नसक्ने

Advertisement

काठमाडौं । आन्तरिक राजश्व विभागले ‘फेसलेस’ कर परीक्षण सुरु गरेको छ । बजेटमा गरिएको व्यवस्थाअनुसार कर प्रशासन सुधार गर्न भन्दै विभागले यो प्रणाली अघि बढाउन लागेको हो । 

चालु बजेटको बुँदा नम्बर ४७० मा ‘स्वैच्छिक कर सहभागिता अभिवृद्धि तथा कर चुहावट नियन्त्रणका लागि कर परीक्षणलाई अन्तर्राष्ट्रिय अभ्यासअनुरुप विद्युतीय प्रणालीमा आधारित ‘ई–एसेसमेन्ट पद्धतीको शुरुवात गरिनेछ’ भनी उल्लेख छ ।’ सो बुँदालाई कार्यान्वयनमा लैजानका लागि प्रक्रिया सुरु गरिएको विभागको भनाई छ । 

Advertisement

हाल कर परीक्षणको नाममा ठूलो विकृति पनि छ । सोही विकृतिका कारण कर प्रशासनको आलोचना पनि हुने गरेको 
छ । कर अधिकृतले कर परीक्षणको नाममा व्यवसायीलाई दुःख दिने गरेको आरोपपछि विभागले ‘ई–एसेसमेन्ट’ प्रणाली सुरु गर्न लागेको हो ।

‘फेसलेस’ कर परीक्षण चालु आर्थिक वर्षबाटै सुरु गरिने विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए । उनले कर्पोरेट नेपालसँग भने ‘मन्त्रीज्यूले पनि ‘फेसलेस’ कर परीक्षण प्रणालीबारे चासो राख्नु भएको छ । मंसिरसम्ममा आवश्यक तयारी सकेर नमुना परीक्षणमा लैजानेछौं ।’

उनका अनुसार ‘फेसलेस’ कर परीक्षणमा करदाता र कर अधिकृतबीच भेटघाट हुन पाउँदैनन् । मैनालीले थपे, ‘फेसलेस कर परीक्षण लोकसेवाको कापी परीक्षण गरे जस्तै हो । कर अधिकृतले कुन व्यवसायीको कर परीक्षण गरिरहेको छु भन्ने कुनै भेउ पाउँदैन् ।’

यस प्रकारको कर परीक्षणबाट कर अधिकृत र व्यवसायीबीच कुनै पनि मोलमोलाई हुन नपाउने विश्वास गरिने छ । यसका लागि विभागले विभिन्न देशमा रहेका उत्कृष्ट कर परीक्षण विधिलाई आत्मसाथ गरिने जनाइएको छ । यस्तो परीक्षणबाट तिर्नुपर्ने कर देखिए विभागले सुचित गर्नेछ भने बढी कर तिरेको देखिए कर मिलान गर्न पाइने छ । 

कसरी हुन्छ अहिले कर परिक्षण ?
अहिले आयकर ऐन २०५८ अनुसार करदातालाई नै पहिलो कर अधिकृत तोकिएको छ । जसअनुसार करदाताले आफ्नो कारोबारको विवरण आफैं स्वघोषणा वा विवरण दाखिला गर्नुपर्छ । यसरी व्यवसायीले दिएको कर विवरणमा आन्तरिक राजश्व विभाग तथा विभाग अन्तर्गतको कार्यालयहरुलाई शंका लागेमा थप कर निर्धारण गर्न सक्छ।

विशेषगरी ठूला करदाता कार्यालयमा रहेका व्यवसायिक फर्महरुको पूर्ण कर परीक्षण गरिनेछ। यसका लागि विभागले अधिकांश फाइलहरुको जोखिम क्षेत्र पहिचान गरी कर परीक्षणको लागि जिम्मा दिनेछ । यस्तै केही प्रतिशत फाइलहरु कार्यालय आफैले छानेर कर परीक्षण गर्न सक्नेछ। यो पद्दतिको कर परीक्षण नेपालमा सधैं विवादित बन्दै आएको छ।

के हो ‘फेसलेस’ कर परीक्षण ?
यो प्रणालीमा कर अधिकृत र व्यवसायीबीच भेट हुँदैन् । करदाताले आफ्नो फाइल कर परीक्षण भइरहेको विषय त्यतिबेला मात्रै थाहा पाउँछ,  जतिबेला आन्तरिक राजश्व विभागले अपुग कागजात माग गर्छ ।

यसका लागि कुनै कम्पनीको कारोबारको एक कोड सिर्जना गरिनेछ । सो कोर्डमा कुनै पनि कम्पनीको संकेत गरिएको हुँदैन् । यसरी कर परीक्षण गर्ने अधिकारी छुट्टै तोकिएको हुन्छ । उसले आवश्यक पर्ने कागजाज तथा प्रमाणहरु प्रणालीबाटै माग गर्नु पर्ने हुन्छ ।

कर अधिकृत र व्यवसायीबीचको मिलेमतोलाई हटाउनका लागि सुरु गर्न लागिएको जनाइएको ‘फेसलेस’ कर परीक्षण सक्किएपछि कति कर थप गर्नुपर्ने भयो ? एकै पटक करदाताले पत्र प्राप्त गर्नेछ । 

Advertisement