लघुबीमाको व्यवसायको आकार सानो, पुँजीको आकार भने ठूलोः सीईओ भन्छन्– चुनौति छ

Advertisement

काठमाडौं । नयाँ लघुबीमा कम्पनीहरुको व्यवसायिक संभावना र पुँजीको आकारलाई लिएर प्रश्न उठ्न थालेको छ । लघुवित्त कम्पनीहरुलाई तोकिएको क्षेत्र र सीमाका बीच  अपेक्षाकृति ठूलो व्यवसाय गर्न कठिनाई हुने धेरैको अडकल छ । तर तिनै बीमा कम्पनीहरुका लागि ७५ करोड रुपियाँ चुक्ता पुँजी कायम गर्नुपर्ने बाध्यता छ । 

लघुबीमा कम्पनीहरुले गर्नसक्ने सानो आकारको व्यवसाय र त्यसबाट कम्पनीहरुले गर्नसक्ने सानो मुनाफाबीच ठूलो लगानीमा कति प्रतिफल दिन सकिएला ? भन्ने कुराले लघुबीमा कम्पनीका सीईओहरु नै दबाबमा देखिन्छन् । 

Advertisement

नेपाल बीमा प्राधिकरणले न्यून आयस्तरका जनताको साना खालका बीमा गर्न भन्दै लघुबीमा कम्पनीहरुलाई भर्खरै लाइसेन्स दिएको छ । यस्ता लघुबीमा कम्पनीहरुको व्यवसाय करिब छ करोड रुपियाँ हाराहारीमा रहेको अनुमान छ । उक्त व्यवसाय कूल बीमा बजारको आधारमा देखिएको हो । सो आकार लघुबीमा कम्पनीमा हुने लगानीभन्दा छ गुणा कम हो । 

अहिले बीमा व्यवसायको बजार ३६ अर्ब रुपियाँ बराबर रहेको बताइन्छ । तत्कालिन बीमा समितिले पटक पटक ठूला जीवन र निर्जीवन बीमा कम्पनीहरुलाई लघुबीमामा जोड दिन निर्देशन दिए पनि उनीहरुले आफ्नो क्षमता प्रस्तुत गर्न सकेका थिएनन् । 

शहरी भेगमा अर्बौंको बीमाशुल्क आर्जन गरेका उनीहरुले ग्रामीण तहमा भने बीमाको महत्व बुझाउन आनाकानी गरेको आरोप नेपाल बीमा प्राधिकरणले लगाउँदै आएको छ । प्राधिकरणको उक्त निर्देशनलाई अधिकांश बीमा कम्पनीहरुले बेवास्ता गरेसँगै अहिले लघुबीमा कम्पनीहरु आएका छन् । 

सुरुवाती चरणमा लघुबीमा कम्पनीले निर्जीवन बीमा मात्रै गर्ने योजना बनाइए पनि अहिले भने स–साना रकमका जीवन बीमा गर्न पनि लघुबीमालाई अधिकार दिइएको छ । यता लघुबीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुले लघुबीमामा चुनौति धेरै देखेको अनुभूति गर्न थालेका छन् । 

यसअघि कर्पोरेट नेपालसँगको कुराकानीमा गार्डियन माइक्रो लाइफका सीईओ चिरायु भण्डारीले आफूहरु ठूला बीमा कम्पनीहरुसँग प्रतिस्पर्धा गर्न नभई ग्रामीण तहमा बीमा बुझाउन र उनीहरुको रक्षावरण गर्न आएको बताएका थिए । 

त्यस्तै, चितवनमा केन्द्रीय कार्यालय रहेको नेपाल माइक्रो इन्स्योरेन्सका सीईओ मृगेन्द्र रिमालले बीमाको बजार ठूलो भए पनि लघुबीमाको हिस्सा भने सानो रहेको बताउँदै सानो हिस्सामा ठूलो प्रतिफल निकाल्नुपर्ने चुनौति रहेको बताएका छन् । 

उनले दुई साताभित्र आफ्ना प्रोडक्टहरु तयार हुने र ठूला बीमा कम्पनीबाट बीमा हुन नसकेका समुदायमा आफूहरु जाने तयारी गरिरहेको बताएका छन् । रिमालले भने, ‘अहिले बीमाको बजार ठूलो छ । बीमाको बजार ठूलो भए पनि त्यसमा लघुबीमाको हिस्सा भने न्यून नै छ । यति ठूलो बजारमा लघुबीमा त त्यही छ करोड रुपियाँको हाराहारीमा हुने गरेको रहेछ । यसमा नियामक निकायले पनि बढाउनुपर्छ भन्दै नीतिहरु अघि सारेको थियो । तर, अहिले साना बीमामा मात्रै केन्द्रीत भएर काम गर्न लघुबीमा कम्पनीहरुलाई  लाइसेन्स दिइएको अवस्था छ । यसमा भन्नै पर्ने कुरा के छ भने हामी त भर्खर आएका छौं । ठूला कम्पनी जान नसकेको ठाउँमा साना कम्पनी जान केही कठिन नै हुँदैन भन्ने होइन् ।’

रिमालले ग्रामीण जनतामा लघुबीमाको प्रचारप्रसार जरुरी रहेको बताएका छन् । सकेसम्म सानै रकमको बीमामा केन्द्रीत हुने लघुबीमा कम्पनीको प्रकृति भएकाले पनि प्रोडक्टहरुको ठूलो बीमांक हुँदैन भन्दै उनले थपे, ‘हामीले चार प्रकृतिका बीमा गर्छौ । सम्पत्ति बीमा, कृषि बीमा, मोटर बीमा र इन्जिनियरिङ बीमा । प्राधिकरणले अनुमति त्यहीअनुसार दिएको छ । 

चार पाङ्ग्रे सवारी साधनको बीमा गर्न नपाउने 
लघुबीमा भएकोले स–सानामा बीमामा केन्द्रीत हुनुपर्ने भएकाले चार पाङ्ग्रे सवारी साधनको बीमा लघुबीमा कम्पनीहरुले गर्न नपाउने व्यवस्था गरिएको छ । यस्ता कमपनीले अहिले दुई पाङ्ग्रेको मात्रै बीमा गर्न पाउने छन् । 

कृषि विकास बैंकमा २७ बर्ष काम गरेका रिमालले कुनै किसिमको बीमा गर्दा कहिलेकाही शीर्षक निर्धारणमा कठीनाई हुने तर बीमितलाई भने बीमा गराउन जरुरी हुने भएकाले पनि अन्य शीर्षकको बीमा गर्ने अधिकार बीमा कम्पनीहरुलाई दिने गरिन्छ भन्दै त्यस्ता अन्य शीर्षकको बीमा गराउन लघुबीमा कम्पनीहरु सक्षम रहेको बताए । 

Advertisement