बाँसका सामग्रीको व्यवसायः कम लागतमा पनि  आयआर्जनको राम्रो माध्यम

Advertisement

काठमाडौं । वनस्पतीहरूमध्ये सबैभन्दा तीब्र गतिले बढ्नसक्ने एक काष्ठीय बिरुवा बाँस हो । बाँस नयाँ स्थानमा छिटो समयमा नै उम्रन्छ । बाँसबाट थोरै लगानीमा पनि धेरै आम्दानी लिन सकिन्छ ।  

बाँसजन्य सामग्रीलाई आयआर्जनको स्रोत बनाउँदै आएका व्यवसायी हुन् लेकबहादुर श्रेष्ठ । उनले उदयपुरमा बिगत १३ वर्षदेखि ‘उदयपुर हस्तकला उद्योग’ सञ्चालन गर्दै आएका छन् । 

Advertisement

यही कम्पनीमार्फत श्रेष्ठले बाँसका सयभन्दा बढी सामग्री उत्पादन तथा बिक्री गर्दै आएका छन् । कच्चा पदार्थको लागि धेरै खर्च गर्नुनपर्ने भएकाले बाँसजन्य उद्योग सञ्चालनमा ठूलो लगानी आवश्यक नपर्ने श्रेष्ठको अनुभव छ । 

उनको उद्योगमा बाँसका सामग्रीहरु हातबाटै निर्माण हुन्छ । ‘बाँसको सामग्री उत्पादन गर्न मेसिनहरु विकसित देशहरुमा देखिन्छ । नेपालमा अहिलेसम्म प्रयोगमा आएको छैन्’ श्रेष्ठ भन्छन् । यस्तो मेशिन आयात गर्न कुनै पनि सरकारले पहल नगरेको उनले गुनासो गरे । 

सात हजार रुपियाँ लगानीमा व्यवसाय सुरु गरेको श्रेष्ठले बाँसको व्यवसायबाट अहिले मासिक ३० हजार रुपियाँ आम्दानी गर्दै आएका छन् । उनले उद्योगबाट बाँसका टेवल, सजावटका र उपहारका सामग्री उत्पादन गर्दै आएका छन् । 

यस्ता समाग्री घर, कार्यालय, विद्यालयहरुमा सजावटका लागि पनि प्रयोग हुने गरेको उनले बताए । स्थानीय बजारमा बिक्री हुने बाँसका यी सामानमध्ये टेबल एक हजारदेखि एक हजार पाँचसय रुपियाँमा बिक्री गर्ने गरेको बताए ।

व्यवसायी श्रेष्ठकका उत्पादन तीन सयदेखि दुई हजार पाँच सय रुपियाँसम्मका छन् । उनले बेलबखतमा ग्राहकको आवश्यकताअनुसार पनि सामान उत्पादन गरेर दिने गरेका छन् । बाँसका सामानहरु बर्खामा कम बिक्री हुने श्रेष्ठले बताए । 

उनले बाँसका सामग्री निर्माण तालिम पनि दिँदै पनि आएका छन् । सोही व्यवसायिक ज्ञानका आधारमा श्रेष्ठले विभिन्न ठाउँमा पुगेर अरुलाई पनि बाँसका सामान बनाउन तालिम दिँदै आएका छन् । यस्तो तालिम दिने र सीप सिकाउने कुरामा विद्यार्थीहरुलाई उनले विशेष प्राथमिकता दिने गरेको बताए । 

श्रेष्ठले बाँसका कटेजहरु पनि बनाउँदै आएका छन् । काठमाडौंका थुप्रै स्थानमा पनि बाँसका कटेज निर्माण गरिसकेका उनले सुनाए । श्रेष्ठ यसअघि कृषक थिए । खेतीभन्दा पनि उत्पादनमा चोसो हुन थालेपछि श्रेष्ठ बाँसको व्यवसायमा लागेको बताए । 

Advertisement

Advertisement