सुन तस्करीको जरो खोतल्ने प्रयास, सेटिङमा सरोज श्रेष्ठ, ‘मास्टर माइन्ड’ चिनियाँ नागरिक !

Advertisement

काठमाडौं । राजश्व अनुसन्धान विभागले सुन तस्करी प्रकरणमा अनुसन्धान तीब्र पारेको छ । अनुसन्धान प्रभावकारी बनाउन विभागले नेपाल प्रहरीलाई पनि सामेल गरेको छ । पछिल्लो सुन तस्करीमा संलग्न १६ जनालाई पक्राउ गरेर बयान लिने काम भइरहेको छ । 

तर यो सुन तस्करीको जालो कति ठूलो छ ? राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा कहाँसम्म फैलिएको छ ? उच्च पदस्यहरु क–कस्को संलग्नता र संरक्षण छ ? भन्ने कुरा सार्वजनिक चासोको विषय बनेको छ । 

Advertisement

यस्ता खालका राजश्व छलीसम्वन्धी घटनामा विभागलाई अनुसन्धानका लागि नौ महिनासम्मको समय हुन्छ । पक्राउ परेकाहरुलाई ९० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्नसक्ने अधिकार राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन २०५२ ले दिएको छ।

त्रिभुवन विमानस्थलको अत्यन्तै कडा भनिएको सुरक्षा जाँच छिचोलेर बाहिर आएको अहिलेसम्मकै ठूलो सुन तस्करीलाई राजश्व अनुसन्धान विभागले नियन्त्रण गरेसँग अहिले नेपालको राजनीति, प्रशासन र सुरक्षा प्रणालीमाथि ठूलो प्रश्न उठेको छ । पक्राउ परेको अहिलेसम्मकै ठूलो यस घटनालाई प्रहरीले संगठित अपराधमा समेत अनुसन्धान थालेको छ । प्रहरीले प्रहरी उपरिक्षक (एसपी) कृष्ण पंगेनीलाई अनुसन्धानको लागि तोकेको छ । पक्राउ परेका व्यक्तिहरुको मोबाइल फरेन्सिक ल्याबमा पठाइएको छ । यता भन्सार विभागले पनि मानबहादुर पौडेलको नेतृत्वमा छुट्टै समिति बनाएर छानविन गरिरहेको छ । 

भन्सारको सेटिङमा को को संलग्न ? 
अहिलेसम्म पक्राउ परेकामध्ये तीन जना विशेष व्यक्तिहरु रहेको राजश्व अनुसन्धान विभाग स्रोतको भनाई छ । भन्सार जाँचपास भएर सहजै सुन बाहिरिनुमा सबैभन्दा बढी दोषी त्रिभुवन भन्सारका कर्मचारी देखिन्छन् । त्यसपछि प्रहरीको दोषी देखिन्छ । 

सुन तस्करीको घटनापछि भन्सार जाँचपासमा सामेल तीन जना कर्मचारीलाई राजश्व अनुसन्धान विभागले पक्राउ गरेको छ । दुई पाङ्ग्रे सवारी साधनको ब्रेक सु भनेर ल्याइएको सुन जाँचपास हुँदा भन्सार अधिकृत सन्तोष चन्दकुमार ढकाल थिए भने एक्सरे मेशिनबाट स्क्यान गर्नेमा सरोज श्रेष्ठ थिए । श्रेष्ठ सुन तस्करीको जानकार भएका व्यक्ति रहेको र उनले सेटिङमा नै सुन पास गरेको हुनसक्ने बलियो आधार देखिएको स्रोतको दावी छ । यद्यपि उनको कनेक्सन को को र कहाँसम्म हो ? खुल्न बाँकी छ । 

एक्सरे रिपोर्टमा सुन हुनसक्ने स्पष्ट आधार देखिए पनि उनले त्रिभुवन भन्सार कार्यालयका अरु कर्मचारीलाई जानकारी नदिएको जनाइएको छ । त्रिभुवन भन्सारका प्रमुखलाई दिएको हुनसक्ने भए पनि उनी दुई महिनाको विदा लिएर शंकास्पदरुपमा कार्यालय आएका थिएनन् । 

भन्सार विभागको पौडेल नेतृत्वको समितिले अनुसन्धानलाई अन्तिम चरणमा पुर्याएको छ । अनुसन्धानमा सहभागी एक कर्मचारीले भने, ‘एक्सरेमा सुन देखिए पनि जानाजान एक्सरेमा बस्नेले कम्युनिकसन नगरेको देखिन्छ । 

एक्सरेमा बसेका सरोज विगत चार वर्षभन्दा बढी समयदेखि सो ठाउँमा कार्यरत थिए । छानविन टोलीले नियन्त्रण गरिएको ब्रेक सु पुनः स्क्यान गरेर हेर्दा स्पष्ट सुन देखिँदा पनि उनी मौन बस्नुले तस्करीको सेटिङमा उनी पनि सामेल थिए भन्ने अनुमान गरिएको छ । 

स्रोत भन्छन् । शंका लागेपछि पुनः स्क्यान गरेर हेर्ने, जाँचपासमा बसेका भन्सार अधिकृत बोलाएर जानकारी दिनुपर्ने थियो । जाँचपास अधिकृतले बेवास्था गरे कार्यालय प्रमुखलाई जानकारी दिनुपर्थ्यो । तर उनले कसैलाई पनि जानकारी दिनको देखिन्न ।’

सुनकाण्ड सार्वजनिक भएपछि भन्सार विभाग र त्रिभुवन भन्सार कार्यालयकै माथिल्लो तहका कर्मचारीले श्रेष्ठलाई केरकार गरेका थिए। उनले भने आफूले आरसी पुनः परीक्षण गर्नुपर्ने लेखेर पठाएको बताएका थिए । तर भन्सार अधिकृत सन्तोष चन्दले भने कुनै भौतिक परीक्षण गर्न नचाहेको खुलेको छ । 

सामान जाँचपासमा खटिएकामध्ये सबैभन्दा बढी शंकास्पद गतिविधि श्रेष्ठको र त्यसपछि चन्दको देखिएको छ । विभागले पनि श्रेष्ठलाई विशेष निगरानीमा राख्दै चन्दसँग पनि बयान लिइरहेको छ । 

‘मास्टर माइन्ड’ चिनियाँ हुनसक्छन् 
अवैध सुन पक्रिएसँगै चीन भाग्न लागेका चिनियाँ नागरिक लिन चुवान एयपोर्टबाटै पक्राउ परे । अहिलेसम्म गरिएको अनुसन्धानमा सुन तस्करीको मुख्य ‘मास्टर माइण्ड’ उनी नै हुनसक्ने विभागले अनुमान गरेको छ । चुनावको फोन फरेन्सिक ल्याब पठाइएको छ। भाषाका कारण पनि उनीबाट सुचना निकाल्न भने कठिन देखिएको छ ।

ब्रेक सु भनेर अवैध सुन भित्राउने रेडी ट्रेड नामक कम्पनीले विगत तीन महिनामा भित्राएको ठूलो परिमाणको सामान हेर्दा यसअघि पनि निकै धेरै सुन नेपाल भित्रिएको अनुमान गरिएको छ । यो सुन नेपाल हुँदै भारत पुग्ने गरेको छ । विमानस्थलबाटै सहजरुपमा सुन हेराफेरी गर्नसक्ने ताकत शक्तिशाली गिरोह नै हुनसक्ने र त्यसलाई नेपालको राजनीति र प्रशासनको संरक्षण बिना संभव नहुने विश्लेषकहरुको भनाई रहँदै आएको छ । 

प्रारम्भिक अध्ययनमा चुवानले चीनमा सुन व्यवस्थापन गर्नेदेखि नेपालमा सुन ल्याएर व्यवस्थापन गर्ने काम गर्दै आएको देखिन्छ । उनीबाट सुचना निकाल्न सके सुनको गिरोह पत्ता लाग्ने अनुमान गरिएको छ । चिनियाँसँग बयान लिनका लागि दोभासे राखेर सुचना निकाल्ने प्रयास भइरहेको स्रोतले जानकारी दियो । पक्राउ परेका तिब्बतमा जन्मिएका भारतीय नागरिक थाप्तेन छिरिङ पनि छन् । उनीबाट सुचना निकाल्न तुलनात्मकरुपमा केही सहज हुने विभागको भनाई छ । 

कारबाहीमा परे प्रमुख पोख्रेल
त्रिभुवन विमानस्थलका प्रमुख अरुण पोख्रेललाई अर्थ मन्त्रालयले कारबाही गरेको छ । दुई महिना लामो बिदामा बसेका पोख्रेललाई मंगलबार मन्त्रालय तानिएको छ । उनको स्थानमा सहसचिव टोकराज पाण्डेलाई लगिएको छ । पोख्रेललाई पूर्वअर्थमन्त्री जनार्दन शर्माले त्रिवि भन्सार कार्यालय प्रमुखको जिम्मा दिएका थिए । सुन तस्करीको ठूलो नेटवर्कभित्र पोख्रेल पनि हुनसक्ने उनका गतिविधिबाट धेरैले अनुमान गरेका छन् । 

Advertisement

Advertisement