बीमा ऐन आयो, तर नियमावली आएन्, दर्जनौ काम रोक्कियो

Advertisement

काठमाडौं । बीमा ऐन, २०७९ आएको लामो समयसम्म सरकारले सोअनुसारको नियमावली ल्याउन ढिलाई गर्दा बीमा क्षेत्रका दर्जनौं काम रोक्किएको छ । नियमावली नआएर आफूहरुलाई समस्या परेको बीमा कम्पनीहरुले पनि गुनासो गरेका छन् । 

यता नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले भने नियमावलीको मस्यौदा अर्थमन्त्रालय पुगिसकेको र अब छिट्टै मन्त्रिपरिषदबाट स्वीकृत भएर कार्यान्वयनमा आउने बताए । उनले भने, ‘पहिला ऐन नै आएन भन्ने थियो । आयो । अब जहाँसम्म रह्यो बीमा नियमावलीको कुरा, यसमा पनि काम भइरहेको छ । अर्थ मन्त्रालय पुगिसक्यो मस्यौदा । छिट्टै मन्त्रिपरिषदबाट पास हुन्छ ।’ 

Advertisement

नियमावली आउन ढिलाई भएर बीमा क्षेत्रको काम प्रभावित भएको कुरामा आफू जानकार रहेको सिलवालले बताए । उनले नियमावली आएसँगै धेरै समस्या एकसाथ समाधान हुने बताए । बीमा नियमावली नआउँदा धेरै मार बीमा अभिकर्ता र सर्भेयरहरुलाई परेको छ । 

अभिकर्ताहरुलाई दिइने लाइसेन्स र त्यसको परीक्षा विधिको निर्धारण पनि नियमावलीले नै गर्नेछ । नियमावलीले सर्भेयरको पनि विविधिकरण गर्नेछ । विविधिकरण हुननसक्दा अहिले घटनाको प्रकृतिअनुसारको सर्भे गर्न समस्या भएको छ । सर्भेयरहरुले आफूले अध्ययन गरेको विषयको आधारमा क्षेत्र छान्न पाउने व्यवस्था नियमावली आएपछि मात्रै निर्धारण हुनेछ । यद्यपि पूराना सर्भेयरहरु भने यस्तो व्यवस्थाको विपक्षमा छन् । 

बीमा नियमावलीले बीमक, मध्यस्तकर्ताको प्रमाणपत्र सम्बन्धी ढाँचा निर्धारणको मापदण्ड तोक्ने भएकाले नियमावली आउन ढिलाई हुँदा कम्पनीहरुलाई समस्या परेको छ । नियमावलीको अभावमा बीमा कोषको व्यवस्थापनमा पनि कम्पनीहरुलाई समस्या परेको छ । विभिन्न किसिमका बीमा पुलका लागि बीमा नियमावली नै आवश्यक हुने भएकाले अहिले त्यस्ता कामहरु चाहेर पनि गर्न नसकिएको कम्पनीहरुले बताएका छन् ।

नियमावली नआउँदा बीमा सूचना केन्द्रको गठन गर्न ढिलाई भएको छ । त्यसका लागि पनि बीमा नियमावली आउनुपर्ने सिलवालले बताए । अभिकर्ता र सर्भेयरको कमिशन दरमा पुनरावलोकन गर्न पनि नियमावलीको अभाव खड्किएको छ । अभिकर्ताहरुले आफ्नो कमिशन बढाउनुपर्ने माग राखिरहेका छन् भने कम्पनी र प्राधिकरणले पर्याप्त रहेको बताइरहेका छन् । अभिकर्ता र सर्भेयरको योग्यता निर्धारणका लागि पनि नियमावली कुनुपर्ने बाध्यता छ । 

Advertisement