अर्थले बीमा प्राधिकरणलाई सोध्यो स्पष्टीकरण– कति वटा लघुबीमा चाहिएको हो ?

Advertisement

काठमाडौं । नेपाल बीमा प्राधिकरणलाई अर्थमन्त्रालयले नयाँ लघुबीमा कम्पनीको संख्या सम्बन्धमा स्पष्टीकरण सोधेको छ । मन्त्रालयले बिहीबार गोप्य पत्र पठाउँदै कति वटा लघुबीमा चाहिएको हो ? स्पष्ट पार्न निर्देशन दिएको हो । 

यता प्राधिकरणले मन्त्रालयको प्रश्नको जवाफ दिने तयारी भइरहेको जनाएको छ । गएको चैतभित्रै सञ्चालनमा आउने भनिएका लघुबीमा कम्पनीहरु नयाँ आर्थिक वर्ष सुरु हुँदा समेत सञ्चालनमा आउन नसकेपछि मन्त्रालयले शंका गरेको हो । 

Advertisement

स्पष्ट कारण नभई सात वटालाई लघुबीमाको लाइसेन्स दिने निर्णय भएको र अहिलेसम्म चार वटालाई मात्रै लाइसेन्स दिइएको भन्दै मन्त्रालयले लघुबीमा सम्वन्धमा बीमा प्राधिकरण आफै अलमलमा रहेको औंल्याएको छ ।  

अर्थमन्त्रालयको पत्रको ढाँचा हेर्दा लघुबीमा कम्पनी बीमा क्षेत्रमा जरुरी भएर ल्याएको जस्तो नदेखिएको प्राधिकरण स्रोतको भनाई छ । स्रोतको भनाई छ, ‘मन्त्रालयले कहिलेसम्म लाइसेन्स दिने हो ? भन्दा पनि लघुबीमा किन आवश्यक हो ? भन्ने आशय देखिन्छ । गएको आर्थिक बर्षमा कतिवटा कम्पनीलाई लाइसेन्स दिएको हो ? अब कति दिने हो ?’ सो कुरा सोधेको छ ।’ 

लाइसेन्स दिन बाँकी तीन कम्पनीमध्ये दुई वटाको चुक्ता पुँजी पुग्न बाँकी रहेको र एउटाको पुगिसकेकोले चाँडै नै लाइसेन्स दिने यसअघि प्राधिकरणले बताएको थियो । बाँकी रहेका तीन वटा कम्पनीलाई लाइसेन्स दिने तयारी गरिएको बेला मन्त्रालयले स्पष्टीकरण सोधेको हो । न्यून आयस्तरका मानिसहरुको बीमा गर्न भन्दै देशका विभिन्न सात क्षेत्रमा काम गर्नेगरी सात वटा लघुबीमा कम्पनीलाई लाइसेन्स दिन लागिएको हो । चार वटा कम्पनीले कार्यालय खोलेर कारोबार सुरु गरिसकेका छन् । बाँकी तीन वटाले भने मापदण्ड पूरा नगरेका कारण लाइसेन्स पाउन सकेका छैनन् । 

मन्त्रालयले नयाँ लाइसेन्स वितरणमा प्रश्न उठाउनुमा अर्थमन्त्री प्रकाशशरण महतले प्राधिकरणका अध्यक्ष सूर्य सिलवाललाई दबाब दिने उद्देश्य पनि हुनसक्ने वा लाइसेन्स पाउने सुचीमा नपरेका पूराना आवेदक वा ठूला बीमा कम्पनीहरुको स्वार्थको कारण पनि हुनसक्ने अनुमान गरिएको छ । 

Advertisement