‘बढी चोरी हुने’ भन्दै बजाजको पल्सर बाइकको बीमा गर्न आनाकानी गर्छन् बीमा कम्पनी

Advertisement

काठमाडौं । बढी चोरी हुने गरेको भन्दै बीमा कम्पनीहरुले बजाजको पल्सर बाइक (मोटरसाइकल)को बीमा गर्न बीमा कम्पनीहरुले आनाकानी गर्ने गरेको देखिएको छ । 

जहाँ जोखिम छ, त्यसको नै बीमा गरिन्छ । मोटरसाइकल चोरी हुनसक्ने, आगलागी हुनसक्ने, दुर्घटना हुनसक्ने जोखिमको आधारमा नै बीमा गर्ने गरिए पनि बीमा कम्पनीहरुले भने पल्सर बाइक बढी नै चोरी हुने भएकाले आफूहरुले बीमा कठिनाई हुने गरेको बताउँछन् । 

Advertisement

ट्राफिक प्रहरीले पनि पल्सर बाइक बढी चोरी हुने भएकाले यस्तो बाइक चढ्नेहरुमाथि बढी निगरानी गर्ने गरेको देखिन्छ । पल्सर बाइक अरु मोटरसाइकलको तुलनामा सहजरुपमा चोर्न सकिने, चोरेको पार्टपुर्जा अन्य काममा पनि प्रयोग गर्न सकिने भएकाले सजिलै आकर्षक मूल्यमा बिक्री गर्न सकिने, अपराधिक घटना गरेर पनि सहजैरुपमा भाग्न सकिने भएकाले बढी चोरी हुने गरेको प्रहरीको भनाई छ । 

ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र भट्टले कर्पोरेट नेपालसँग भने, ‘अरु बाइकको तुलनामा पल्सर बाइक बढी नै चोरी हुन्छ । तराईमा मात्रै होइन्, काठमाडौं उपत्यकामै बढी चोरी हुनेमा पल्सर बाइक एक नम्बरमा छ ।’ दुर्घटनाको हिसाबमा भने आफूहरुले मोटरसाइकल तथा स्कुटरहरुलाई छुट्याएर नहेरेको उनले बताए । 


यता, बीमा कम्पनीहरुले आफूहरुले सबै मोटरसाइकल तथा स्कुटरहरुको बीमा सहजरुपमा गर्दै आएको भए पनि पछिल्लो समय पल्सर बाइकको चोरीको समस्याका कारण बीमा गर्न कठिनाई हुने गरेको बताउँछन् । नेपाल इन्स्योरेन्स कम्पनीका डीसीईओ ईश्वर पोखरेलले भने, ‘हामीले कुनै पनि बाइकको बीमा गर्दा यो गर्ने, त्यो नगर्ने भन्ने हुन्न । तर, कतिपय कुराहरुको अध्ययन र अनुभवका आधारमा निर्णय गर्नुपर्ने हुन्छ । पल्सर बाइक अरुको तुलनामा सबैभन्दा धेरै चोरी भएका घटनाहरु आउने गरेकाले हामीले सावधानीपूर्वक बीमा गर्ने गरेको हो । गर्दैनगर्ने भन्ने त होइन् ।’ 

चोरी हुने घटना बारम्बार आइरहँदा त्यसले बीमा कम्पनीहरुले व्यहोर्नु पर्ने घाटा पनि बढ्ने उनको भनाई छ । पल्सर बाइक चोरीका घटना बढी तराईमा सुनिने गरेको छ । 
पोखरेलले दश हजारभन्दा कम मूल्यमा बाइकको बीमा हुने तर अहिले पल्सर बाइकको मूल्य नै चार लाख रुपियाँको हाराहारी पुगिसकेकाले बीमा गरेको भोलिपल्टै नै बाइक चोरी भयो भने कम्पनीले नचाहिंदो जोखिम उठाउनुपर्ने बताए । 

त्यस्तै, यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीका मान संशाधन विभाग प्रमुख आदर भण्डारीले पल्सर बाइकमा उच्च जोखिम रहेकोले बीमा गर्दा विचार गर्नुपर्ने अवस्था रहेको बताए । उनले भने, ‘हामीले अन्य बाइकको तुलनामा पल्सर बाइकको चोरीका घटना बढी नै सुन्ने गरेका छौं । व्यवसायी हिसाबले हेर्दा बीमा कम्पनीहरुले यो बाइकको बीमा गर्न गाह्रो मानेको होला । रोकेको अवस्था त छैन् ।’ 

धेरै मात्रामा कुनै बाइक हराउँदा बीमा कम्पनीलाई पनि आर्थिक भार पर्न जाने र उनीहरुले त्यस्तो बाइकको बीमा गर्न कम गर्ने बताउँदै भण्डारीले यस्तो चोरीको घट्नालाई सरकारले नियन्त्रण गर्नुपर्ने बताए । 

नेपाली युवाहरुमाझ लोकप्रिय रहेको बाइक स्थापित ब्राण्ड हो । विभिन्न रेन्ज र मूल्यमा उपलब्ध यो मोटरसाइकल नेपाली बजारमा १२५, १५०, १६०, दुई सय, २२०, २५० तथा चार सय सिसिसम्ममा उपलब्ध छ । नेपालको भूबनोटअनुसार पनि उपयोगी यो मोटरसाकल बढी चोरी हुँदा यसको ब्राण्डमा नै ठूलो धक्का पुगेको छ । 

Advertisement