ब्रेकिङः धेरै कर तिर्ने १० उत्कृष्ट ‘कर्पोरेट हाउस’हरुको खुलासा, पहिलोमा फेरि सूर्य नेपाल

Advertisement

काठमाडौं । गएको आर्थिक बर्षमा आन्तरिक राजश्वतर्फ सबैभन्दा धेरै कर तिर्ने कम्पनीमा फेरि सूर्य नेपाल प्रा.लि. परेको छ । यो कम्पनी विगत तीन वर्षदेखि लगातार धेरै कर तिर्ने सूचिमा पहिलो नम्बरमा रहँदै आएको छ । 

कर्पोरेट नेपाललाई अर्थ मन्त्रालयबाट प्राप्त विवरणअनुसार आर्थिक वर्ष २०७९–८० मा सूर्य नेपालले सबैभन्दा धेरै अर्थात ११ अर्ब ६१ करोड रुपियाँ कर दाखिला गरेको छ । यो रकममा मूल्य अभिवृद्धि कर (भ्याट), आयकर, अन्तःशुल्कलगायतका कर शीर्षक समावेश छ । 

Advertisement

यो रकम एउटा व्यवसायिक प्रतिष्ठानले आन्तरिक राजश्वतर्फ तिरेको सबैभन्दा ठूलो रकम हो । सूर्य नेपालले आर्थिक वर्ष २०७८–७९ मा १० अर्ब ७२ करोड रुपियाँ कर दाखिला गरेको थियो । यस्तै आर्थिक वर्ष २०७७–७८ मा नौ अर्ब ३४ करोड रुपियाँ कर दाखिला गरेको थियो । सूर्य नेपाल कम कर विवादमा पर्ने कम्पनीको रुपमा पनि पुरस्कृत हुँदै आएको कम्पनी हो । 

नेपालमा चुरोट उत्पादन तथा बिक्री गर्दै आइरहेको यस कम्पनीमा ३९ प्रतिशत शेयर स्वामित्व नेपालीको छ भने दुई प्रतिशत बेलायती कम्पनीको र ५९ प्रतिशत आईटीसी लिमिटेड इन्डियाको रहेको छ ।

धेरै कर दाखिला गर्ने दोस्रो व्यवसायिक प्रतिष्ठानमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) रहेको छ । कम्पनीले गत आवको व्यापारबाट नौ अर्ब ३२ करोड रुपियाँ राजश्व बुझाएको हो । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीले गत आवमा ५० करोड रुपियाँ कम कर दाखिला गरेको हो ।

नेपाल टेलिकमले टेलिफोन, इन्टरनेट सेवा प्रदान गर्दै आएको छ। अघिल्लो आव २०७८–७९ मा पनि धेरै कर तिर्नेको सूचिमा नेपाल टेलिकम दोस्रो स्थानमा थियो । सो आवमा कम्पनीले नौ अर्ब ८२ करोड रुपियाँ कर तिरेको थियो ।

यस्तै, धेरै कर दाखिला गर्ने तेस्रो नम्बरमा निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल एजियटा लिमिटेड रहेको छ । यो कम्पनीले गत आवमा सात अर्ब २१ करोड रुपियाँ कर दाखिला गरेको देखिन्छ । एनसेलले अघिल्लो आव २०७८–७९ मा सात अर्ब ७९ करोड रुपियाँ कर दाखिला गर्दै तेस्रो स्थानमा नै रहेको थियो । त्यस्तै, आव २०७७–७८ मा उसले आठ अर्ब कर दाखिला गरेको थियो ।

धेरै राजश्व दाखिला गर्ने चौथो नम्बरमा गोर्खा ब्रुअरी प्रा.लि. परेको छ । बियरको बजारमा एकछत्र जस्तै राज गरिरहेको यो कम्पनीले गत आवमा छ अर्ब १९ करोड रुपियाँ कर दाखिला गरेको छ । गोर्खा ब्रुअरीले गोर्खा, काल्सवर्ग, स्यानमिगल, सोमर्स्बी र टुबोर्ग जस्ता बियर उत्पादन गर्दै आएको छ । 

यो कम्पनीले अघिल्लो आव २०७८–७९ मा पाँच अर्ब ५९ करोड रुपियाँ राजश्व दाखिला गरेको थियो । सरकारले प्रत्येक वर्ष बियरमा कर वृद्धि गर्दै आएको छ । गत आर्थिक वर्षमा सरकारले बियरमा प्रतिलिटर २२८ रुपियाँ कर लगाएकोमा यो बर्ष प्रतिलिटर ३० रुपियाँ वृद्धि गरेको छ ।

धेरै कर दाखिला गर्ने पाँचौं स्थानमा ग्लोबल आईएमई बैंक लिमिटेड परेको छ । बैंकले गत आवमा पाँच अर्ब ४३ करोड रुपियाँ कर दाखिला गर्दै वाणिज्य बैंकतर्फ सबैभन्दा धेरै र समग्रमा पाँचौं ठूलो करदाता कम्पनी बन्न सफल भएको हो । साथै, ग्लोबल आईएमई धेरै पटक कर बढी दाखिला गर्ने बैंकको सूचिमा पनि गर्न सफल भएको छ । अघिल्लो आव २०७८–७९ मा बैंकले तीन अर्ब १७ करोड रुपियाँ कर दाखिला गरेको थियो । पछिल्लो पटक बैंक अफ काठमाडू, जनता बैंकलाई गाभ्न सफल ग्लोबल आईएमईको सीईओमा अहिले रत्नराज बज्रचार्य छन् ।

यसैगरी, धेरै कर दाखिला गर्ने छैटौं नम्बरमा नविल बैंक लिमिटेड परेको छ । बैंकले गत आवमा चार अर्ब ९८ करोड रुपियाँ कर दाखिला गरेको छ । अघिल्लो आव २०७८–७९ मा तीन अर्ब ३२ करोड रुपियाँ कर दाखिला गरेको नविलले पछिल्लो समयमा नेपाल बंगलादेश (एनबी) बैंकलाई गाभ्न सफल भएको थियो । हाल नविलको सीईओमा ज्ञानेन्द्र ढुङ्गाना छन् ।

यसैगरी, धेरै कर दाखिला गर्ने सातौं नम्बरमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड रहेको छ । यो बैंकले गत आवमा चार अर्ब १९ करोड रुपियाँ कर दाखिला गरेको छ । गएको असारमा मेगा बैंकलाई गाभेर बलियो बनेको नेपाल इन्भेष्टमेन्ट मेगाको सीईओमा ज्योतिप्रकाश पाण्डे छन्।

गत आवमा धेरै कर तिर्ने व्यवसायिक प्रतिष्ठानहरुको सुचिको आठौं नम्बरमा पूर्ण सरकारी स्वामित्वको बैंक रहेको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आवमा तीन अर्ब ७७ करोड रुपियाँ कर दाखिला गरेको छ । अघिल्लो आव २०७८–७९ मा दुई अर्ब ६५ करोड रुपियाँ कर तिर्दै दशौं स्थानमा रहेको यो बैंकको सीईओमा अहिले किरणकुमार श्रेष्ठ रहेका छन् ।

धेरै कर दाखिला गर्ने व्यवसायिक प्रतिष्ठानहरुको सुचिको नवौं नम्बरमा बैंक नै रहेको छ । एनआइसी एशिया बैंक लिमिटेडले गत आवमा तीन अर्ब ७३ करोड रुपियाँ कर दाखिला गरेर दश उत्कृष्ट करदातामा पर्न सफल भएको हो । अघिल्लो आव २०७८–७९ मा तीन अर्ब ४१ करोड रुपियाँ कर दाखिला गर्दै वाणिज्य बैंकतर्फ सबैभन्दा धेरै कर तिर्ने बैंक बनेको एनआईसी एशियाको सीईओमा अहिले रोशन न्यौपाने छन् । 

धेरै कर दाखिला गर्ने दश उत्कृष्ट व्यवसायिक प्रतिष्ठानहरुको सुचिको दशौं नम्बरमा सरकारी स्वामित्वकै संस्था नेपाल विद्युत प्राधिकरण परेको छ । प्राधिकरणले गत आवमा तीन अर्ब ६६ करोड रुपियाँ कर दाखिला गरेको छ । अघिल्लो आव २०७८–७९ मा तीन अर्ब ९५ अर्ब कर दाखिला गर्दै पाचौं स्थानमा प्राधिकरण परेको थियो । यो पटक पाँच स्थान तल झर्दै ऊ दशौं स्थानमा परेको छ । दश उत्कृष्ट करदाताले मात्रै सरकारलाई गएको आर्थिक बर्षमा ६० अर्ब नौ करोड रुपियाँ कर योगदान दिएका छन् । 

उत्कृष्ट करदाताहरुको विवरण आन्तरिक रावश्व विभागले कर दिवसमा उनीहरुलाई सम्मान गर्ने समयमा सार्वजनिक गर्ने गरे पनि यस पटक भने कर्पोरेट नेपालले पहिलो नै सार्वजनिक गर्न सफल भएको हो । 

Advertisement

Advertisement