पूराना र ठूला बीमा कम्पनीहरु बार्षिक साधारणसभा गर्न असफल, दोष एक्चुरीलाई

Advertisement

काठमाडौं । गएको आर्थिक बर्षको पुस मसान्तसम्म १० वटा बीमा कम्पनीहरुले आर्थिक बर्ष २०७८–७९ को बार्षिक साधारणसभा गर्न असफल भएका छन् । यीमध्ये मर्जरमा गएका कम्पनी पनि छन् । मर्जर प्रक्रियाका कारण साधारणसभा गर्न ढिलाई भएको उनीहरुको भनाई छ । 

गत आवमा तोकिएको समयभित्र साधारणसभा गर्न असफलहरुमा पुराना र ठूला जीवन बीमा कम्पनीहरु छन् । साधारणसभा समयमा सम्पन्न गर्न असफल कम्पनीहरुमा तत्कालिन सानिमा रिलायन्स लाइफ, हिमालयन लाइफ इन्स्योरेन्स, प्रभु महालक्ष्मी इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, भारतीय लगानी रहेको एलआईसी नेपाल, राष्ट्रिय बीमा संस्थान, राष्ट्रिय बीमा कम्पनी छन् । सरकारी स्वामित्वका राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीको भने बर्षौंदेखिको साधारणसभा सम्पन्न हुन बाँकी छ । 

Advertisement

समयमा साधारण सभा सम्पन्न हुन नसक्नुमा जीवन बीमा कम्पनीहरुले भने मुख्यतया बीमा क्षेत्रमा बीमांकी (एक्चुरी)को अभावलाई औंल्याएका छन् । उनीहरुले आफ्नोतर्फबाट वित्तीय विवरण तयार गरे पनि त्यसलाई जाँचपास गर्न बीमा प्राधिकरणले पनि लामो समय लगाइदिने गरेको गुनासो पनि गरेका छन् । 

तर, प्राधिकरणकै कर्मचारीहरु भने बीमा कम्पनीहरुले एक्चुरी नभएको मौका छोपेर चाहिने भन्दा बढी ढिला गर्न लाग्ने गरेको आरोप लगाएका छन् । यसअघि प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले समयमा साधारण सभा सम्पन्न गर्न नसक्दा बीमा कम्पनीहरुको वित्तीय पारदर्शीतामा प्रश्न उठ्नसक्ने र लगानीकर्ताहरु लाभांशको मौकाबाट टाढिने भएकाले समयमै साधारणसभा गर्न आवश्यक रहेको बताएका थिए ।

Advertisement