काठमाडौं महानगरपालिका अगाडि विद्यार्थीहरुको ठूलो जमघट, तर महानगर नै बेखबर

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाको शिक्षा विभाग अगाडी सोमबार एक्कासी ठूलो संख्यामा विद्यार्थीहरु जम्मा भए । आफूले कक्षा ११ को अध्ययनका लागि पाएको छात्रवृत्तिको प्रमाण (सिफारिस) लिन उनीहरु त्यहाँ पुगेका थिए । 

तर, महानगरपालिकाले भने आफूहरुले विद्यार्थीलाई कार्यालयमा नबोलाएको बतायो । महानगरको शिक्षा विभागका कर्मचारीहरुले आफूहरुले विद्यार्थीहरुलाई बोलाएको विषयमा अनविज्ञता प्रकट गरे । अनलाइनमै पाइने पत्र लिन विद्यार्थीहरुलाई महानगरको किन बोलाउँछ ? भन्दै विभागका एक कर्मचारीले भीड देखेर आफूहरुलाई पनि आश्चर्य लागेको बताए ।  

Advertisement

विद्यार्थीहरुले पनि आफूहरुलाई महानगरले बोलाएर नभई जानकारी लिनको स्वीकार गरे । महानगरपालिकाले आज नै छात्रवृत्ति पाउनेहरुको लागि पत्र अनलाइनमार्फत पठाउने बताए पनि थप जानकारी लिन कार्यालयमै आउनुपरेको बताए । 

बाहिर विद्यार्थीहरु भेला हुँदा भित्र शिक्षा विभागका कर्मचारीहरु पहिला बेखबर थिए । ठूलो संख्यामा भेला भएको देखेपछि उनीहरु आश्चर्यमा परेका थिए । एक विद्यार्थीले भने, ‘कलेजले छात्रवृत्तिको सिफारिस लिन पठाएको हो ।’ 

रौतहटको बिनागडा घर बताउने विशाल साहले भने, ‘हामीले अनलाइनमा पाउनुपर्ने पत्र नपाएपछि महानगरमा नै आएका हौं । महानगरले पत्र अनलाइनमा नै राखिदियो भने जान्छौं । यहीं दियो भने पनि लिएर जान्छौं ।’ श्री सेकेण्डरी स्कूलका विद्यार्थी रहेका उनले ट्रिनिटि कलेजका पढ्नका लागि महानगरपालिकाले छात्रवृत्तिका लागि छनोट गरेको सुनाए । 

महानगरपालिकाले विभिन्न संकायका लागि गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि छात्रवृत्ति प्रदान गर्दै आएको छ । महानगरले यस वर्ष कक्षा ११ का लागि चार हजार ५५० जना विद्यार्थीलाई छात्रावृत्ति प्रदान गर्ने भएको छ । 

Advertisement