विदेशी मुद्रा सञ्चिति १५ खर्ब ३९ अर्ब नाघ्यो, साढे ११ महिनाको आयात धान्न पुग्ने

Advertisement

काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा विदेशी मुद्रा सञ्चि २६.६ प्रतिशतले बढेको छ । 

नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको वार्षिक तथ्याङ्कमा आधारिक देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० मा २०७९ असार मसान्तमा रु.१२१५ अर्ब ८० करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २६.६ प्रतिशतले वृद्घि भई २०८० असार मसान्तमा रु.१५३९ अर्ब ३६ करोड पुगेको उल्लेख छ । 

Advertisement

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०८० असार मसान्तमा २३.१ प्रतिशतले वृद्घि भई ११ अर्ब ७४ करोड कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा रु.१०५६ अर्ब ३९ करोड रहेकोमा २०८० असार मसान्तमा २७.४ प्रतिशतले वृद्घि भई रु.१३४५ अर्ब ७८ करोड कायम भएको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा रु.१५९ अर्ब ४१ करोड रहेकोमा २०८० असार मसान्तमा २१.४ प्रतिशतले वृद्धि भई रु.१९३ अर्ब ५९ करोड पुगेको छ । २०८० असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको छ ।

सञ्चिति पर्याप्तता सूचक
आर्थिक वर्ष २०७९/८० को आयातलाई आधार मान्दा बैंकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.७ महिनाको वस्तु आयात र १० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८० असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.१ प्रतिशत रहेका छन्। २०७९ असार मसान्तमा यी अनुपातहरु क्रमशः २४.६ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए ।

चालु खाता एवम् शोधनान्तर स्थिति
आर्थिक वर्ष २०७९/८० मा चालु खाता रु.७२ अर्ब १६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष चालु खाता रु.६२३ अर्ब ३८ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्ष ५ अर्ब १७ करोडले घाटामा रहेको चालु खाता समीक्षा वर्षमा ५५ करोड ७१ लाखले घाटामा रहेको छ ।

समीक्षा वर्षमा पुँजीगत ट्रान्सफर २४.५ प्रतिशतले कमी आई रु.७ अर्ब ५४ करोड रहेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.५ अर्ब ९६ करोड कायम भएको छ । अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर रु.९ अर्ब ९९ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१८ अर्ब ५६ करोड रहेको थियो ।

समीक्षा वर्षमा शोधनान्तर स्थिति रु.२९० अर्ब ५२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति रु.२५५ अर्ब २६ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब १५ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा वर्षमा २ अर्ब २१ करोडले बचतमा रहेको राष्ट्र बैंकद्वारा प्रकाशित प्रतिवेदनमा उल्लेख छ । 

Advertisement

Advertisement