मर्जरपछि समस्या देखिन थालेपछि सीईओ र सञ्चालकहरुलाई छलफल गर्न बोलाउने तयारी

Advertisement

काठमाडौं । नेपाल बीमा प्राधिकरणले मर्जरमा गएका कम्पनीहरुको समस्या पहिचान गर्न भन्दै बीमा कम्पनीका सीईओ र सञ्चालकहरुलाई एकै पटक छलफलका लागि बोलाएको छ । छलफलको मिति भने चाँडै नै टुंगो लाग्ने प्राधिकरणको भनाई छ । 

विशेषगरी कर्मचारी समायोजनमा धेरै समस्या देखिन थालेपछि प्राधिकरणले उनीहरुलाई छलफलका लागि बोलाएको हो । अर्कोतर्फ पुँजीको आकार ठूलो तर प्रतिफल सोअनुपातमा बढ्न नसक्दा बीमा कम्पनीहरुको प्रतिफल थप खुम्चिन थालेसँगै बीमा कम्पनीका लगानीकर्तामा निराशा बढेर गएको छ । साथै, मर्जरमा गएपछि कम्पनीहरुको व्यवसाय पनि ह्वात्तै वृद्धि हुने आशा गरिएकोमा सोचअनुसार हुन नसकी लामो प्रतिक्षा गर्नुपर्ने देखिएको छ ।  

Advertisement

यिनै सन्दर्भमा प्राधिकरणले छलफलका लागि सीईओ र सञ्चालकलाई बोलाएको छ । प्राधिकरणले पुँजी वृद्धि गरी उनीहरुको दावी भुक्तानी क्षमता बलियो बनाउन भन्दै मर्जरलाई प्रोत्साहित गरेको थियो । प्राधिकरणको सोही नीतिअनुसार अधिकांश कम्पनीले मर्जरमार्फत चुक्ता पुँजी वृद्धि गरेका थिए भने केहीले हकप्रद शेयर निष्कासनको बाटो रोजेका छन् । तर मर्जरमा गएका कम्पनीहरुमा समस्या देखिन थालेपछि समस्या पहिचान र समाधानका लागि भन्दै प्राधिकरणले छलफल गरेका हुन् । 
 
मर्जरमा गएका कम्पनीहरु अहिले त्यति सन्तुष्ट देखिएका छैन् । असन्तुष्टि बढ्दै जाँदा प्राधिकरणले छलफल गरेर समस्याको निकास निकाल्न खोजेको हो । बीमा कम्पनीहरुलाई एकै पटक डेढ गुनाले पुँजी वृद्धि गर्नुपर्ने नियम ल्याउँदै प्राधिकरणले मर्जरमा जान दबाब दिएको थियो । दबाबपछि मर्जरमा गएका कम्पनीहरुले कर्मचारी समायोजन गर्न, बढी भएका कर्मचारी निकाल्न, अवकाश चाहेका कर्मचारीलाई सेवा सुविधा दिन समस्या भएको छ । अर्कोतर्फ लगानीकर्ताहरु न्यून प्रतिफल भएको भन्दै नाफा बढाउन दबाब बढ्दा सीईओ र व्यवस्थापनमा बसेकाहरु बढी मानसिक दबाबमा परेका छन् । 

मर्जरमा जान जसरी प्राधिकरणले सहजीकरण गरेको थियो, त्यसरी नै मर्जरमा गएका तथा पुँजी वृद्धि गरेका कम्पनीहरुको व्यवसायको आकार बढाउन पनि प्राधिकरणले सहयोग नगरे बीमा कम्पनीहरु थप समस्यामा पर्ने र त्यसले बीमा क्षेत्रमा नै अविश्वास र आशंका पैदा गर्नसक्ने सीईओहरुको चिन्ता छ । त्यसमाथि नयाँ बीमा ऐन आाएपछि अभिकर्ता र सर्भेयरहरुको गुनासो र समस्या पनि थपिएपछि काम गर्न आफूहरुलाई थप कठिनाई भइरहेको उनीहरुको भनाई छ । 

प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले मर्जर सम्पन्न भएपछि बीमा कम्पनीहरुका समस्या आफूहरुले पहिचान गर्न नपाएको स्वीकार गरे । उनले भने, ‘हामीले सबै बीमा कम्पनीहरुलाई अब छिट्टै एकै ठाउँमा राखेर उनीहरुको गुनासो सुन्ने योजना बनाएका छौं । मर्जर अघि बीमा कम्पनीहरुको समस्यामा हामीले सहजीकरण गरे पनि मर्जर करिव सक्किएकाले पोस्ट मर्जरको पाटोमा छलफल हुन पाएको थिएन् । छलफल गरेर समस्या के के छन् ? कसरी समाधान गर्ने ? सुझाव पनि माग्छौं । सहजीकरण गर्नसक्ने कुराहरु प्राधिकरणले गर्छ ।’ 

पौडेलले अरुभन्दा पनि कर्मचारीहरुको समस्या प्राधिकरणमा धेरै आएको बताउँदै यसमा पनि समस्या समाधान गर्न आफूहरु तयार रहेको बताए । 

यता, हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका बजारीकरण प्रमुख (मार्केटिङ हेड) माधव शर्माले मर्जरले जीवन तथा निर्जीवन बीमा कम्पनी दुवैलाई बलियो बनाउन र कम्पनीका सूचकांकहरुमा सुधार ल्याउन केही समय लाग्ने देखिएको बताए । 

युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीका मानव संशाधन विभाग प्रमुख आदर भण्डारीले कुन कर्मचारीको हाकिम को हो ? को हाकिम मातहत कुन कुन र कति कर्मचारी छन् ? भन्ने कुरामा धेरै अल्मलिन नहुने बताए । 

प्राधिकरणले विशेषगरी हिमालयन लाइफ, यूनाइटेड अजोड, सिद्धार्थ प्रिमियर, हिमालयन एभरेष्ट, सूर्यज्योती इन्स्योरेन्समा कर्मचारी समायोजनको समस्या बढी आएको जानकारी दिएको छ । कर्मचारी मेलमिलापसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको प्रभु महाक्ष्मी इन्स्योरेन्समा भने अहिलेसम्म गुनासो नआएको जनाइएको छ ।  

Advertisement