विश्व कीर्तिमान कायम गरेर आउँदा विमानस्थलमा पर्यटनमन्त्री आएनन्, दुःख लाग्योः शेर्पाद्धय

Advertisement

काठमाडौं । शेर्पा गाइड तेन्जेन (लामा) शेर्पाले नर्वेकी आरोही क्रिस्टिन हरिलासँगै हिमाल आरोहणमा नयाँ कीर्तिमान बनाएका छन् । विश्वको दोस्रो अग्लो केटु हिमालको आरोहणसँगै तेन्जेन र क्रिष्टिनले ९२ दिनमा विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गरी नयाँ कीर्तिमान बनाएका हुन् । पाकिस्तानको केटु हिमाल आरोहणमा अर्का शेर्पा गाइड मिङ तेम्बा शेर्पा पनि सहभागी थिए । तर यसरी देशको नाम चिनाउँदा पनि सरकारले त्यो कुराको पहिचान गर्न नसकेको तेन्जेनको गुनासो छ । मिङ तेम्बाको पनि त्यही गुनासो छ । उनीहरुसँग कर्पोरेट नेपालकी फुर्पा शेर्पाले गरेको कुराकानीको अंशः 

तेन्जेन (लामा) शेर्पा

Advertisement

केटु हिमालको आरोहणसँगै नयाँ कीर्तिमान कायम गर्दा कस्तो महशुस भएको छ ?  
केटु हिमाल केही अफ्ठ्यारो पनि छ । झन यस पटक केटु आरोहण गर्न गाह्रो भयो । यस पटक धेरै हिउँ थियो । केटुको क्याम्प–४ सम्म हाम्रो नेपाली दाजुभाइले रुट खोल्यो । क्याम्प–४ भन्दा माथि चुुचुरोसम्मको बाटो र रोप फिक्सिङ मेरो मिल्ने साथी मिङ टेम्ब शेर्पा, पासाङ नुबु शेर्पाले र मैले मिलेर गरेको हो । चुचुरोमा पनि यस सिजनमा हामीले नै पहिलो पाइला टेक्यो । त्यसैले सबैको सहायताले सफल भयो । केटुसहित सबै १४ वटा हिमाल तीन महिना २ दिनमा चढ्न हामी सफल भयो । 

विश्वका आठ हजार मिटर अग्ला १४ वटै छाटो समयमा चढ्ने क्रममा केटु मात्रै बाँकी हुँदा कस्तो महशुस भइरहेको थियो ?
मेरो साथीहरु राम्रो थियो । टिम बलियो थियो । त्यसैले मलाई मन भित्रैबाट सफल हुन्छ जस्तो लागेको थियो । सफल पनि भयो । खुशी लागेको छ । नयाँ रेकर्ड बनाउने भनेर लाग्दा चाँडै हिमाल चढ्न पाए रेकर्ड बनाउन सकिन्थ्यो भन्ने लागिहाल्छ । म यो ठाउँमा पुग्न सेभेन समिट ट्रेकको अध्यक्ष मिङमा शेर्पा दाईको ठूला हात छ । सेभेन समिट ट्रेकका बोर्ड निर्देशक र एक्स्पडिशन म्यानिजर छाङ दावा शेर्पाले हामीलाई यो समयमा समिटमा जानुपर्छ र समिटबाट तल्ला फर्किनु पर्छ है भनेर गाइड गर्नु भएर नै आज यो सफल भयो । दावा दाई र हाम्रो टिम पनि एक्दम बलियो भएर नै यो सफल भयो ।

मिल्ने साथी हुँदा र नहुँदा कत्तिको सहज हुन्छ हिमाल चढ्न ? 
मिल्ने साथीसँग जानु र अर्को साथीसँग जानु निकै फरक हुन्छ । रोप फिक्सिङ गर्दा मिल्ने साथी भयो भने मनबाट विश्वास लाग्छ । अर्को साथीले त राम्रो गर्ने हो कि होइन ? भनेर मनमा थोरै भए पनि शंका लाग्छ । पाकिस्तानको हिमालहरु आरोहण गर्न चाहिँ मिङ तेम्बा शेर्पा नै चाँहिन्छ भनेर मैले सँगै लगेको हो । आरोहण पनि सफल भयो । यसअघि हामी दुवै जना दुई पटक सगरमाथा र मनास्लु आरोहण पनि गरिसकेका थियौं । पाकिस्तानमा पाँच वटा हिमाल सँगै आरोहण गर्यौं । 

केटुको चुचुरोमा पुग्दा कत्तिको सहज असहज भयो ? 
मलाई निकै गाह्रो भएको थियो । किनभने मेरो अक्सिजन सक्किएको थियो । फर्किंदा क्रिस्टिन हेरिला दिदीले उसको अक्सिजन प्रयोग गर्न भनेको थियो तर मैले प्रयोग गरिन् । किनभने मलाई भन्दा पनि दिदीलाई गाह्रो हुन्छ भनेर । तर पनि चुचुरोमा पुग्दा निकै खुसी लागेको थियो । तर फकिँदा बिना अक्सिजन नै फकिएँ । जाँदा जुन हामीले अक्सिजनको व्यवस्थापन गरेर गएको थियो, त्योभन्दा बढी चाहिने भयो । एउटा अक्सिजनले यति घण्टा पुग्छ भन्ने आधारमा त्यहीअनुसार व्यवस्थापन गरेर गएका थियौं । तर सोचेको भन्दा उल्टो भइदियो । केटुको क्याम्प–४ भन्दा माथि कसैले डोरी टाँगेको थिएन् । सोही कारणले मेरो अक्सिजन सक्कियो । पहिला हामी क्याम्प–४ बाट समिटमा ७–८ घण्टामा पुग्थ्यौं । तर, यस पटक ११–१२ घण्टा लाग्यो ।’ 

विश्व कीर्तिमान कायम गरी नेपाल फर्किने क्रममा त्रिभुवन विमानस्थलमा आइपुग्दाको अनुभव सुनाउनु न । स्वागत भयो कि भएन् ? 
एयरपोटमा आउने बितिकै सम्पूर्ण दाजुभाई दिदीबहिनीले हामीलाई स्वागत गर्दा निकै खुसी नै लाग्यो । तर हामीले जसरी नेपालको नाम राखेर फर्कियौं, तर पर्यटनमन्त्री नै आउनु भएन् । त्यो कुराले चाहिँ एक्दम दुःख लाग्यो । हामीले त प्रधानमन्त्री नै एयरपोटमा स्वागत गर्न आउँछ होला भन्ने सोचेको थियो । त्यो पनि भएन् । 

मिङ तेम्बा शेर्पा
तपाइँको कस्तो रह्यो नि कटु आरोहण ? 

मैले पहिला नै केटु दुई पटक चढिसकेको हो । हामी जब गासरब्रम–१, गासरब्रम–२ को आरोहण गर्दैगर्दा केटुको फिक्सिङ टिमले क्याम्प–३ पुगेछ भन्ने थाहा पाइसकेका थियौं । क्याम्प–३ भन्दा हामी आफैले नै रोप फिक्सिङ गरेर चुुचुरोसम्म पुग्नसक्छ भने लागेको थियो । तर अन्त्यमा त्यही भयो । कसैले क्याम्प–४ भन्दामाथि अगाडी नबढेपछि क्याम्प–४ भन्दा अगाडी सुरुमा रोप फिक्सिङ हामीले गर्यौं । केटुमा के फरक छ भने ‘बोटल–नेक’को जोखिम हो । मैले केटु हिमाल आरोहण कै दिन बेलुका ६ बजेदेखि क्याम्प–४ भन्दा माथि रोप फिक्सिङ गर्न थालें । मैले पहिला पनि दुई पटक आरोहण गरिसकेकोले यो मेरो तेस्रो पटक केटु हिमाल समिट थियो केटु हामी जसरी पनि समिट गछौं भन्ने थियो । त्यसमाथि पनि शेर्पा गाइड तेन्जेन मेरो मिल्ने साथी मिलेर ज्यानको बाजी राखेर भए पनि बेलुकाको ६ बजेदेखि चार घण्टाभित्र १२ सय मिटर डोरी टाँग्यौं । हामी सबै टिमले गर्दा केटुको समिटमा पुग्न सफल भयौं ।

तपाइँलाई पनि विश्वका १४ वटा हिमाल आरोहण गर्ने इच्छा छैन् ?

मेरो पनि १४ पिक सम्पन्न हुन अब तीन वटा मात्र हिमाल चढ्न बाँकी छ । चो ओयु, शिशापाङ्मा र धौलागिरि चढेपछि यो पूरा हुन्छ । 

विश्व कीर्तिमान कायम गरेर तेन्जेनसँगै काठमाडौं फर्किंदा विमानस्थलको स्वागत कस्तो लाग्यो ? 
मेरो साथीले नेपाल र नेपालीको नाम राखेर फकिँदा प्रधानमन्त्रीले नै स्वागत गर्न आउनु हुन्छ होला भन्ने लागेको थियो मैले । तर पर्यटनमन्त्री समेत आएन् । पर्यटनमन्त्री समेत नआउँदा दुःख लाग्यो । मन्त्रीले त्यो दिन समय निकालेर स्वागत गर्दा के हुन्थ्यो र ? हामीले जति दुःख गरेर देशको नाम राखे पनि सरकारले चिन्दैन भने दुःख लागिहाल्छ । 

किन यस्तो उपेक्षा गरेको होला सरकारले ? 
यो त सरकारले बुझ्ने कुरा हो । यस्तै कुराले गर्दा हामीलाई दुःख लाग्छ । पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पालाई सरकारले नेपालमा टिकाउन नसकेर अहिले उनको संग्रहालय हेर्न भारतमा २०–३० हजार भारतीय मुद्रा तिर्नुपर्छ । आफनै नेपालमा जन्मिएको मान्छेको संग्रहालय हेर्नको लागि पनि हामी २०–३० हजार भारतीय मुद्रा तिरेर हेर्नुपर्छ । त्यो आय कसलाई भयो त ? भारतलाई भयो । यहाँको सरकारले जुन खालको सेवा सुविधा दिनुपर्ने हो, केही पनि दिएको छैन् ।  हाम्रो देशका थुप्रै विश्व कीर्तिमानीहरु छ । उनीहरुले पाउने सेवा सुविधाहरु सरकारले दिनसक्यो भने हिमालमा काम गर्ने गाइडलगायतलाई जोगाइराख्न सकिन्छ । पर्वतारोहण क्षेत्रमा हामीले ३०–३५ वर्षभन्दा धेरै काम गर्न सक्दैनौं । त्यो भन्दा पछाडी के गर्ने ? नेपालका विश्व कीर्तिमानी पर्वतारोहीहरु विदेशिने मुख्य कारण नै ४० वर्षपछि भविष्य नेपालमा नभएर हो । अब आउने युवा पुस्ताले हिमाली क्षेत्रमा काम गर्छ जस्तो लाग्दैन् । अहिले हामीले बाध्यताले गरिरहेका छौं । 

के गर्नुपर्छ सरकारले ? 
सरकारले सगरमाथा आरोहण गर्दा एक जना विदेशीबाट ११ हजार डलर रोयल्टी लिन्छ । त्यो रोयल्टी कहाँ खर्च गर्छ ? हिमालमा काम गर्ने शेर्पाहरुलाई सरकारले एउटा खेलाडी सम्झिनुपर्छ । पर्वतारोहणको एउटा खेलाडी हो शेर्पाहरु । विश्व कीर्तिमानी पर्वतारोही तथा शेर्पा गाइड तेन्जेन (लामा) शेर्पा भोलिको दिनमा अमेरिका पलायन भयो भने नेपाललाई नोक्सान हुने हो । पर्वतारोही र शेर्पा गाइड सहित हिमालमा काम गर्नेको भविश्यको सुरक्षा केही छैन । सामाजिक सुरक्षा छैन् । जीवनयापन गर्ने आधार छैन् । त्यस कारण उनीहरुको लागि भत्ता, निःशुल्क उपचार लगायतको सेवा सुविधा सरकारले मिलाउनुपर्छ । सरकारले संकलन गरेको रोयल्टीको केही हिस्सा खर्च गर्दा सरकारलाई केही नोक्सान हुँदेन् । 

अब के योजना ?
तेन्जेन र मिङ तेम्बाले यही सेप्टेम्बर महिनाको १४–१५ तारिखमा चीनतर्फ जाने योजना रहेको सुनाए । शिशपाङ्मा र चो ओयु हिमालको आरोहण गर्न जान लागेको उनीहरुको भनाई छ । क्रिष्टिन हरिलाले दोस्रो पटक विश्वका १४ वटा आठ हजार मिटर अग्ला हिमाल आरोहण गर्न लागेको जानकारी दिँदै शेर्पाद्धयले शिशपाङ्मा र चो ओयुको सफल आरोहण गरेपछि हरिलाको १४ वटै पिक दोहोर्याएर आरोहण पूरा हुने जानकारी दिए । 

undefined

Advertisement

Advertisement