सुप्रिम सहकारीले बचत फिर्ता नगरेको भन्दै दुई सय बचतकर्ताद्वारा कारबाहीको माग गर्दै उजुरी

Advertisement

लुम्बिनी । बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचत रकम फिर्ता नगरेको भन्दै कारबाहीको लागि लुम्बिनी प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालयमा आज उजुरी परेको छ । 

सहकारीले रु एक अर्ब बढी बचतकर्ताको निक्षेप जोखिममा पारेको भन्दै रकम फिर्ताको माग राख्दै आज सहकारी दर्ता अधिकारीको कार्यालय राप्ती उपत्यका देउखुरीमा उजुरी परेको हो । 

Advertisement

बुटवल उपमहानगरपालिका–९ मा मुख्य कार्यालय स्थापना गरेर सञ्चालन भएको सहकारी संस्थामा बचत गरेका दुई सय बढी बचतकर्ताले लिखित उजुरी दिएका हुन् । एक वर्षदेखि बचत रकम फिर्ताको माग राख्दा पनि सहकारी संस्थाले फिर्ता नगरेपछि बाध्य भएर कानुनी उपचारमा जानुपरेको बचतकर्ता देवीलाल भट्टराईले बताए । उनले एक वर्षदेखि बचत फिर्ता नपाएपछि उजुरी गर्नुपरेको बताए । 

मुद्दति, मासिक, दैनिक र खुला बचतमार्फत सहकारीले रकम असुल गरेको देखिन्छ । सहकारी संस्थाका सञ्चालक र पदाधिकारीलाई नियमानुसार कारबाहीको माग गरिएको छ । सहकारी दर्ता अधिकारी कार्यालयका रजिष्ट्रार भीमप्रसाद तिवारीले सहकारीको रकम हिनामिना गर्ने सहकारी संस्थालाई नियमानुसार कारबाही हुने बताए । उनले बचतकर्ताको उजुरी आएको र थप अध्ययन गरेर कारबाहीको प्रक्रिया अघि बढाउने बताए ।  

लुम्बिनी प्रदेशमा यस्ता २४–२५ वटा खराब  सहकारीलाई कारबाही गर्न उजुरी परेका छन् । एक जना बचतकर्ताको रु साढे तीन करोड यही सहकारी संस्थाले ठगी गरेकोसमेत उजुरी परेको छ ।

Advertisement