लामो विदेश यात्राबाट फर्किए प्रम दाहाल, ‘नेपालको विकासबारे चीनसँग खुलेर कुरा भयो’

Advertisement

काठमाडौं । एक साता लामो चीन भ्रमण सकेर फर्किएका प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सोझै हवाई उडान गर्ने र दुई देशको हवाई उडानबीच सहकार्य गर्न प्रोत्साहन गर्नेबारेमा सकारात्मक छलफल भएको बताएका छन् । 

शनिवार अमेरिका र चीन भ्रमणपछि स्वदेश फर्किएसँगै विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले चीनसँगको व्यापार, लगानी, अन्तरदेशीय यातायात सञ्जाल र आर्थिक सामाजिक साझेदारी वृद्धि गर्दै लैजाने बारेमा छलफल भएको बताए । दाहालले दुई देशबीच भएको समझदारीहरु र अन्तर्राष्ट्रिय मूल्य मान्यता र सिद्धान्तमा आधारित भइ अघि बढाउने सहमति भएको पनि बताए । 

Advertisement

नेपालको आवश्यकताअनुसार चिनियाँ पक्षले अरनिको राजमार्ग मर्मत परियोजनाको चौथो चरण शुरु गर्ने सहमति भएको दाहालले बताए । उनले स्याँप्रुबेसी रसुवागढी सडक मर्मतका लागि चिनियाँ पक्ष तयार भएको र हिल्सा सिमिकोट सडकको सम्भाव्यता अध्ययन गरी अघि बढाउन सहमत भएको बताए । 

प्रधानमन्त्री दाहालले चीनसँग टोखा—छहरे सुरुङ मार्गको सम्भाव्यता अध्ययनलाई तीब्र गतिका साथ अघि बढाउने, काठमाडौं चक्रपथ सडकको दोस्रो चरणको कार्यान्वयनलाई तीब्रता दिने सहमति भएको, नेपाल—चीन रेल्वे सहयोगका लागि कार्यदलको आठौँ बैठक छिटै गर्नेमा सहमति भएको लगायत १२ वटा समझदारी पत्रमा हस्ताक्षर भएको बताए । 

उनले नेपाल र चीनबीच परम्परागत नाकाका अतिरिक्त अन्तर्राष्ट्रिय व्यापार नाका सञ्चान हुने दावी पनि गरे । दाहालले मुस्ताङको कोरला नाका खोल्नुका साथै किमाथांका र ओलङचुङगोला चाँडै सञ्चालनमा ल्याउने सहमति भएको बताए । उनले मुस्ताङको कोरला नाकामा चीनले पूर्वाधारमा सहयोग गर्ने सहमति भएको बताए । 

दाहालले तिब्बत र नेपालको रेल, सडक, हवाईसेवा विद्युत प्रशारण लाइन सबै क्षेत्रबाट जोडेर ट्रान्स हिमालयन मन्टी डाइमेन्सनल कनेक्टिभिटिको विषयलाई व्यवहारमा उतार्नेबारेमा छलफल भएको र लासाबाट काठमाडौं हवाई सेवा पुनः सुचारु गर्नसमेत अनुरोध गरेको बताए । 

उनले भने, ‘विगतमा भएका समझदारीको कार्यान्वयन गर्दै लैजाने प्रतिवद्धता पनि व्यक्त गरिएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङसँग वार्ता भयो । द्विपक्षीय वार्तामा दुवै देशका विद्यमान अवसर र सम्भावनाहरुको भरपुर सदुपयोग गर्दै आपसी सम्बन्धलाई थप दरिलो बनाउने सन्दर्भमा सघन छलफल गरियो । नेपालको विकास प्रयासमा चीनको साथ र सहयोगमा खुलेर कुरा भयो ।’ 

दाहालले भने, ‘नेपाल सधैँ एक चीन नीतिमा रहेको छ । त्यसमा पुनःपुष्टि गर्दै नेपाल चीनको सम्बन्ध, पञ्चशीलको सम्बन्ध र आपसी सम्बन्धलाई भविष्यमा उचाईमा लैजाने बारेमा छलफल भयो । चीनसँगको व्यापार, लगानी, अन्तरदेशीय यातायात सञ्जाल र आर्थिक सामाजिक साझेदारी वृद्धि गर्दे लैजाने मैले राखेको धारणाप्रति चीनको पूर्ण समर्थन रहने जनाउनु भयो । नेपाल र चीनको जनस्तरको सम्बन्धलाई प्रगाढ बनाउन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सोझै हवाई उडान गर्ने र दुई देशको हवाई उडानबीच सहकार्य गर्न प्रोत्साहन गर्नेबारेमा सकारात्मक छलफल हुनुको साथै दुई देशबीच भएको समझदारीहरु र अन्तर्राष्ट्रिय मूल्य मान्यता र सिद्धान्तमा आधारित भइ अघि बढाउने कुरा भएको छ ।’ 

उनले नेपाललगायत अतिकम विकसित देशहरुले दिगो विकासका लक्ष्यहरुको प्राप्तिमा भोगेका समस्या र त्यसको समस्याका लागि दोहा कार्ययोजनालाई मूर्त रुप दिन र विकास साझेदारबाट श्रोत साधन र प्राविधिक सहयोग हुनुपर्नेमा अमेरिका भ्रमणमा विशेष जोड दिएको बताए । 

Advertisement

Advertisement